मलघट्टेमा नेपाल प्रहरी र मालमा सशस्त्रले पुलको सुरक्षा गर्ने

0
256

दार्चुला, माघ २७ गते ।
महाकाली नदीमा नेपाल र भारत जोड्ने दुइटा पुल निर्माण सम्पन्न भई केही दिनभित्रै उद्घाटनको तयारी सुरु गरिएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुलहरु दुइ देशका अधिकारीहरुको समन्वयमा औपचारिक रुपमा सञ्चालन गरिन लागेका हुन् । पुलहरुको सुरक्षा व्यवस्थापनको गृहकार्य पनि थालिएको छ ।
व्यास गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नम्बर ४ सुन्सेरालाई जोड्ने मलघट्टे पुलमा तत्काल नेपाल प्रहरीलाई पुल सुरक्षाको जिम्मेवारी दिइने भएको छ । केही दिनभित्रै पुल उद्घाटन गरिने भएकोले पुलहरुको नियमित सुरक्षा र सञ्चालनका लागि सुरक्षा व्यवस्थापनको गृहकार्य गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तत्कालका लागि मलघट्टे पुलमा नेपाल प्रहरी र मालको पुलमा सशस्त्र प्रहरीको टोली परिचालन गर्ने निर्णय गरेको प्रजिअ उपाध्यायले बताउनुभयो । ‘केही समयपछि दुबै पुलको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले सम्हाल्नेछ, तत्काललाई मलघट्टे पुलमा नेपाल प्रहरी खटाउन लागिएको हो’ प्रजिअ उपाध्यायले भन्नुभयो ।
व्यास गाउँपालिका वडा नम्बर २ माल गाउँ जोड्ने पुलमा अहिलेसम्म दुम्लिङस्थित सशस्त्र प्रहरीको विओपीबाट सुरक्षाकर्मी परिचालन हुँदैआएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । ‘अब पुलछेउमा निर्माण गरिएको भवनमा सशस्त्र प्रहरीको टोली २४सैं घण्टा बस्छ’ उहाँले भन्नुभयो ।
सुन्सेरा जोड्ने मलघट्टे पुलमा हालसम्म सुन्सेरा प्रहरी चौकीबाट प्रहरी टोली दैनिक रुपमा खटिदैआएको दार्चुला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले बताउनुभयाे । विहानदेखि बेलुकीसम्म पुलको डिउटीमा खटिदैआएको प्रहरी टोली बेलुकी भने चौकीमा फर्किने गरेको छ । पुलको औपचारिक सञ्चालन भएपछि भने मलघट्टेको पुलमा २४सै घण्टा सुरक्षाकर्मी परिचालन गरिने स्थानीय प्रशासनले जनाएको छ ।
सुन्सेरामा सशस्त्र प्रहरीको विओपी राख्ने गृहकार्य भइरहेको छ । विओपी स्थापना हुन केही समय लाग्ने भएकोले तत्काल नेपाल प्रहरीको टोलीलाई मलघट्टेको पुलमा खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो ।
केही हप्ताभित्रै सुन्सेरामा सशस्त्र प्रहरीको विओपी स्थापना हुने र महाकालीमा रहेका सबै पुलहरुको सुरक्षामा सशस्त्र प्रहरी खटाइने ४४ नम्बर गणका गणपति एसपी डम्बरवहादुर विष्टले बताउनुभयो । ‘दुई देश जोड्ने सबै पुलहरुमा फरवार्ड सुरक्षा पोष्ट राखिन्छन्, सबै नाकाहरुमा सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिन्छ’ गणपति विष्टले भन्नुभयो ।