गृह प्रवक्ताले निर्देशन दिएको दुइ घण्टामै अनुमतिपत्र वितरण

0
66

दार्चुला ।
चीनको ताक्लाकोट जोड्ने तिंकर नाका विगत ४ वर्षदेखि बन्द रहदैआएको छ । कोभिड महामारीका कारण बन्द नाका गतवर्ष नै खुल्ने चर्चा र प्रचारबाजी भए पनि खुलेन । यो वर्ष पनि चीनसंग जोडिएका १४ वटा परम्परागत नाकाहरु तत्कालै खुल्ने जानकारी सार्वजनिक भइसकेको छ । तर तत्कालै खुल्ने भनिएका नाकामध्येको तिंकर नाका खुल्ने छाटकाट नदेखिएपछि व्यासक्षेत्रका वासिन्दामा चिन्ता र चासो बढ्यो ।
चीनसंग जोडिएका परम्परागत नाकाहरु तत्काल खोल्नेबारे दुइ देशीबीच सहमति भइसकेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको केही हप्ताअघिको चीन भ्रमणमा यसबारे भएको सहमति सार्वजनिक समेत गरिएको छ । तर नाका सञ्चालनको व्यवहारिक कार्यान्वयनमा ढिलाइ भइरहेकोमा दार्चुलाको व्यास क्षेत्रका वासिन्दाले चिन्ता र चासो देखाएका छन् ।
नेपाल र चीनबीचका नाकाहरु तत्काल खुल्ने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गृहकार्य नपुगेको भन्दै ढिलाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने नेपाल–चीन प्रवेश अनुमतिपत्रका आधारमा आवतजावत गर्ने गरिएको छ । अनुमतिपत्र वितरणमा ढिलाइ भएपछि व्यासक्षेत्रका स्थानीय वासिन्दाले गृह मन्त्रालयसम्म गुहार्नुपरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराइको मौखिक आदेशपछि वैशाख १३ गतेदेखि मात्रै अनुमतिपत्र वितरण थालिएको छ । यसअघि चीनिया पक्षसंग सम्पर्क र समन्वय हुन नसकेको भन्दै जिल्ला प्रशासनले अनुमतिपत्र वितरण सुरु गरेको थिएन । गृह प्रवक्ताको मौखिक निर्देशन प्राप्त भएको दुइघण्टामै अनुमतिपत्र वितरण सुरु गरिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुका स्थानीय वासिन्दा समेत रहेका पूर्व प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले गृहका प्रवक्तासंग भेटगरी सिमाक्षेत्रको पीडा राखेपछि तत्काल अनुमतिपत्र जारी गर्न निर्देशन दिइएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमै पुगेर पूर्व प्रदेशसभा सदस्य बोहराले सिमाक्षेत्रका वासिन्दाको माग र आवश्यकताबारे यथार्थता राखेपछि तत्कालै गृह प्रवक्ता भट्टराईले अनुमतिपत्र वितरण गर्न जिल्लास्तरमा निर्देशन दिएका हुन् ।
दुई देशबीच नाका खोल्नेबारे सहमति भइसकेकोले चीन प्रवेशको अनुमतिपत्र वितरण ढिलाइ गर्न नहुने भन्दै गृह मन्त्रालयका प्रवक्ताले यसबारे प्रमुख जिल्ला अधिकारीलाई फोन सम्पर्क गरी चाँसो राखेका छन् ।
कोभिड महामारीका कारण चार वर्षदेखि बन्द रहेको दार्चुलाको तिंकर नाकाबाट चीनको ताक्लाकोट बजारसम्म आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । ‘मन्त्रालयको अनुमतिले चीन प्रवेशपत्र वितरण सुरु गरिएको छ, सिमाक्षेत्रका वासिन्दाको सुविधाका लागि हाललाई हस्तलिखित अनुमतिपत्र दिइदैछ’ प्रजिअ जोशीले भन्नुभयो ।
गृह मन्त्रालयले क्युआर कोडसहितको नयाँ अनुमतिपत्र प्रयोगमा ल्याउने गृहकार्य थालेकोले केही समय ढिलाइ भएको छ । क्युआर कोडसहितको अनुमतिपत्र प्रयोगमा ल्याउन केही समय लाग्ने भएकोले तत्काल पुरानै ढाँचाको अनुमतिपत्र जारी गर्न गृह प्रवक्ताले जिल्लास्तरमा निर्देशन दिएका हुन् ।
हुम्लाको हिल्सा नाकाबाट पुरानै ढाँचाको परिचयपत्रका आधारमा चीन प्रवेश भइरहेको भन्दै दार्चुलाको तिंकर नाकाबाट पनि यसै आधारमा चीन प्रवेश गर्न दिनुपर्ने माग गरिएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्रसिंह महताले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले वैशाख १३, १४ र १५ गतेगरी ३ दिनमा ८५ जनालाई अनुमतिपत्र वितरण गरिसकेको छ । वैशाख १८ गतेसम्म अनुमतिपत्र लिनेको संख्या १ सय ५० पुगेको छ । दार्चुला सदरमुकामदेखि व्यासको छाङरु र तिंकरमा कुञ्चा (बसाइसराइ) सर्ने शौका समुदायका स्थानीयवासीले अहिले धमाधम नेपाल–चीन प्रवेश अनुमतिपत्र बनाइरहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । ‘चीनको ताक्लाकोट बजारका लागि स्थानीयवासी हिडिसकेका त छैनन् तर दुबै गाउँका सबैजसोले अनुमतिपत्र बनाइरहेका छन्’ वडाअध्यक्ष बोहराले भन्नुभयो ।
एक हप्ताभित्रै व्यासक्षेत्रका वासिन्दा सदरमुकाम खलंगाबाट व्यासक्षेत्रमा बसाइ सर्दैछन् । त्यसलगत्तै तिंकर नाका भएर चीनको ताक्लाकोट बजार जाने तयारीमा स्थानीय छन् । स्थानीयवासीको सहजताका लागि तिंकरमा रहेको सशस्त्र प्रहरीको विओपी पनि तत्कालै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
तिंकरसहितका परम्परागत नाकाहरु गतवर्ष नै सञ्चालनमा आउने चर्चा थियो तर हिल्सा, रसुवागढी र तातोपानी नाका मात्रै गतवर्ष खुलेको थियो । मुस्ताङको कोरला नाका गतवर्षको असोजमा मात्रै खोलिएको थियो ।
व्यासक्षेत्रका स्थानीयले गतवर्ष नै जिल्ला प्रशासन कार्यालयसंग चीन प्रवेशको अनुमतिपत्र माग गरेका थिए । तर जिल्ला प्रशासनले गृह मन्त्रालयको आदेश नआएसम्म अनुमतिपत्र जारी गर्न नसकिने भन्दै स्थानीयको मागलाई थाति राखेको थियो । यसवर्ष पनि अनुमतिपत्र जारी नभए नाका सञ्चालन नहुने भन्दै स्थानीयले चाँसो र चिन्ता राखेको वडाअध्यक्ष बोहराको भनाई छ । ‘स्थानीयको मागअनुसार अनुमतिपत्र जारी भएको छ, अब क्युआर कोडसहितको नयाँ अनुमतिपत्र कार्यान्वयनमा ल्याइए त्यसैअनुसार अर्को अनुमतिपत्र पनि बनाइन्छ’ उहाँले भन्नुभयो । वडाअध्यक्ष बोहराका अनुसार अबको ८–१० दिनभित्रै व्यासका स्थानीयवासिन्दा चीनको ताक्लाकोट बजारका लागि प्रस्थान गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here