स्मरणमा लिम्पीयाधुरा ( फोटो फिचर )

0
6760

बिरा दत्त भट्ट । २०७४ असार तिरको कुरा हो । प्लस टु का परिक्षा दिइसकेपछि फुसर्दको समयमा संयोगले नेपाली अतिक्रमीत भूमी गुञ्जी, नावि, कुटी गाउँ हुदै लिम्पीया धुरा सम्म पुग्ने अवसर पाइयो । उक्त क्षेत्रमा नेपाली वा भारतीय नागरिकलाई प्रवेश गर्न त्यति सहज छैन । तर म नेपाली आफ्नै अतिक्रमीत भुमीमा भारतीय आर्मीको पट्रोलीङमा कामदार भएर त्यस क्षेत्रमा प्रबेश गर्न पाएको थिए ।
मलाई लिम्पीयाधुरा सम्म नेपालको भूमी हो र गुञ्जी, नावि र कुटी गाउँ नेपालका हुन् भन्ने कुरा थाहा सम्म थिएन ।

भारत द्धारा अतिक्रमित नेपालको कुटी गाउँ फोटोः विमल भण्डारी

जब भारतले नोभेम्बर २०१९ मा कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्याे त्यसबाट विकसित घटनाक्रमले सिमा विद्हरुले लिपुलेक, लिम्पीया धुरा र कालापानी सहितको नक्सा सार्वजनिक तब मलाई नेपालको भूमी भारतले अतिक्रमण गरेको थाहा भयो ।
कुनै समय नेपालको भुमि रहेको लिम्पीयाधुरा, नावि, गुञ्जी र कुटि जस्तो सामरिक क्षेत्रमा भारतले विभिन्न पुर्वाधार निर्माण गरि त्यस क्षेत्रमा प्रभाव बढाउदै गएको छ ।
म गएको पट्रोलीङ भारतीय सेनाको कुमाउ स्काउट रेजिमेन्टको रहेको थियो । भारतीय आर्मीले हिउदका महिना ४ महिना बाहेक हरेक महिनामा उत्तरतर्फ रहेका सिमाहरुमा धारचुलाबाट प्रत्येक महिना पट्रोलीङ् गर्ने रहेछ ।

जौलिङकाङ र लिम्पीयाधुरा जाने कुटी क्षेत्रको बाटो र विचमा वास्तविक महाकाली नदी । बाटो भएको क्षेत्र अतिक्रमीत नेपाली भूमी ।

लिम्पीयाधुरा, कालापानी क्षेत्र र नाविढाङ क्षेत्र उत्तरमा रहेका भारतका पासहरु हुन् । त्यो समयमा भारतले सडक विस्तार गरि नसकेकोले उक्त क्षेत्रमा सबै नेपाली कामदारहरुले भारतीय सेनाका सामानहरु बोक्ने लगायतका कामहरु गरिरहेका देखिन्थे ।
विशेषगरि सिमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाको ब्यास र दुहु गाउँपालिका क्षेत्रका नागरिकहरु र जाजरकोट, कालिकोट बाट नेपालीहरु त्यस क्षेत्रमा काम गर्नका पुग्ने गरेका थिए ।
भारतले धारचुला तहसिल अन्र्तगत पर्ने उत्तरी क्षेत्र घट्टेबगड देखि नेपाली अतिक्रमीत भुमी कालापानी सम्म ७ ठाउँमा १८ वटा भारतीय सुरक्षाकर्मीका युनिटहरु तैनाथ गरेको थियो ।
धारचुला बाट करिब ४० किलोमिटर उत्तरमा पर्ने घट्टेबगडमा भारत सरकारले भारत–तिब्बत सिमा पुलीस ( आइटिविपी) र भारतीय आर्मीको कुमाउ स्काउटको बटालियन राखेको छ ।
घट्टेबगड बाट १२ किलोमिटर उत्तर क्षेत्रमा पर्ने लामारीमा पनि भारत–तिब्बत सिमा पुलीस( आइटिविपी) र भारतीय आर्मीको कुमाउ स्काउटको बटालियन राखेको छ । लमारी बाट ५ किलोमिटर अगाडि बुदिमा एसएसवी राखेको छ । बुदी बाट अघि ३ किलोमिटर अघि छियालेकमा भारतीय आर्मीको कुमाउ स्काउटको बटालियन, भारत–तिब्बत सिमा पुलीस( आइटिविपी) र एसएसबी छन् ।
छियालेक बाट माथिको सिमा क्षेत्रमा भारको नोटिफाइड क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्रमा प्रबेश गर्ने विदेशी नागरीकले बहुदेशिय यात्रा अनुमति पत्र बनाउनुपर्ने हुन्छ भने स्थानियहरुलाई भारतीय नागरिक भएको परिचय खुल्ने परिचयपत्र भए पुग्छ ।
छियालेक बाट ४ किलोमिटर अगाडि गरब्याङमा रहेको सितापुलमा पनि सशस्त्र सिमा बल ( एसएसवी) र भारत–तिब्बत सिमा पुलीस राखेको छ ।
नेपाल सरकारले हालै विओपी स्थापना गरेको छाङरु गाउँ जान सितापुल बाट जानु पर्छ । सितापुल बाट छाङरु गागाको विओपी २ किलोमिटर जति दुरीमा होला ।
भारतमा भने सितापुल बाट १० किलोमिटर अगाडि गुन्जी क्षेत्रमा भारतीय आर्मी, भारत– तिब्बत सिमा पुलिस र सशस्त्र सिमा बल ( एसएसवी) राखेको छ । गुञ्जीमा भारत सरकाले पक्की हेलिप्याड समेत निर्माण गरेको छ । गुन्जीबाट भारतले अतिक्रमण गरेको सिमाना सुरु हुन्छ ।

गुञ्जीबाट उत्तर पुर्व तिर गएमा लिपुलेक र कालापानी पुगिन्छ भने पश्चिमोत्तरमा गएमा लिम्पियाधुरा  क्षेत्रमा पुगिन्छ ।
हाम्रो टोली भने गुञ्जीबाट पश्चिमोत्तरमा लिम्पीया धुरा क्षेत्र गएको थियो । गुञ्जी बाट १८ किलोमिटर उत्तरी क्षेत्रमा रहेको कुटिमा आर्मि र भारत तिब्बत पुलीस बसेका छन् त्यसैगरी कुटि बाट १३ किलोमिटर अगाडि जोलीङकाङमा भारत–तिब्बत प्रहरी बसेका छन् भने जोलीङकाङ ( जहाँ आदि कैलाशका नामले परिचित पार्वती कुण्ड र गौरी कुण्ड रहेका छन्) बाट ९ किलोमिटर टाढा रहेको ओल्सामा भारतीय आर्मी बसेको छ ।

जोलिङकाङमा रहेका भारतीय आर्मी र कुमाउ विकास मण्डल निगमका क्याम्प तथा जोलिङकाङ पहाड शृङखला

ओल्सा बेस बाट पनि भारतका २ वटा पास रहेछन् लिम्पीया धुरा र मङस्या धुरा । बर्षादको समयमा ओल्सामा आर्मी बस्ने भएपनि हिउदका समयमा भने भारि हिमपात हुने क्षेत्र भएकाले गुञ्जीबाट गस्ती मात्रै गर्ने गरेको त्यहाँ रहेका सुरक्षाकर्मीहरु बाट थाहा पाए ।
हाम्रो देशमा बढुवा हुनका लागी ठुला बडाको चाकडी गनुपर्ने हुन्छ भन्ने सुनेको छु, तर भारतीय आर्मीमा भने बढुवा हुनका लागी पट्रोल गर्नुपर्ने रहेछ । म गएको उक्त पट्रोल एक जना क्यापटेनको नेतृत्वमा गएको थियो । उनि बढुवामा परेपछि पट्रोलमा पासमा निस्कीएमा रहेछन् ।
भारतीय आर्मी संग पट्रोलमा गइरहने मेरा साथिहरुले मलाई पहिले नै भनेका थिए, यी क्यापटेनको यसपाली मेजरमा बढुवा भएछ, अब सिमामा नै रेङ्कचिन्ह परिवर्तन गर्छ । म पत्याएको थिइन् । तर लिम्पीया धुरा पास गर्दा मैले मेरै आखाँले देखे उनले क्यापटेनको रेङ्क चिन्ह हटाएर मेजरको रेङ्क लिम्पीया धुराको पासमा लगाएका थिए ।

डरले राती नै चीन संगको सिमामा जाने रहेछन्

भारतीय आर्मीको अचम्म लाग्दो कुरा के देखियो भने लिम्पीया धुरा लगायतका जुन ठाउँमा भारत र चीनका पिल्लरहरु छन् त्यस क्षेत्रमा भारतीय आर्मी राती नै पुगेर अवलोकन गरि बढिमा विहान ८–९ बजे सम्म फिर्ता हुने रहेछ । लिम्पीया धुराका लागी आर्मी सहीत ६ जना नेपाली कामदारको टोली ओल्सा बेसमा पुगेको थियो त्यहाँ एक दिन आराम गरेर अर्काे दिन सिमा हेर्न आर्मीहरु र २ जना हामी कामदारहरु गएका थियौ ।
म आर्मीको भान्सामा बढि काम गर्थे त्यसैले आर्मीका हबल्दार मेजरले मलाई राती १ बजे नै उठाएर चिया बनाउन भने पहिलो दिन मङस्या धुरा पास जानका लागी आर्मीहरु र मेरा अन्य २ जना साथिहरु गए । त्यसको तेस्रो दिन लिम्पीया धुराको पासमा जाने पालो मेरो थियो ।
त्यो दिन पनि त्यस्तै भयो । आर्मीका हवल्दार मेजरले मलाई १ बजे चिया बनाउन निन्द्रा बाट उठाए । स्टोप बाल्नुपर्ने भएकाले १० मिनेटमा चिया तयार भयो । २ बजे सम्म आर्मीका जवान लगायत सबै पासमा जानेहरु तयार भए । लिम्पीया धुरामा हामी करिब अध्यारो उज्यालो अवस्थामा पुग्यौ । करिब विहानको साढे ८ बजे तिर सबै फिर्ता भए । मैले यति राती किन सिमा हेर्नुपर्ने भनेर एक जना आर्मीका जवानलाई सोधेको त पछि चीनिया निया सेना पनि सिमा हेर्न आउन सक्ने भएकाले विहान जाने गरेको बताए ।
सिमा क्षेत्रमा बसीरहेका भारतीय सेनाहरुमा चीनको त्रास धेरै रहेछ । आफ्नो घर बागेश्वर बताउने आर्मीका नायक( २ फिता लागेको) ले हामी संग गुनासो नै पोखे “गाउँ मे विवि हे, वाल वच्चा हे चाइना कब एक बम फयाक के यही दफनादेता हे ” उनको यो भनाइले पनि भारतीय सेनामा चीनको डर त्रास रहेको कुरा बुझ्न सकिन्छ । आफनो घर दक्षिण भारत बताउने आइटिविपीका एक जवानले पनि चीनको डर पोखे “चाइनिज सेना आगया तो में सितापुलले नेपालको चलाजाउंगा नेपालमें चीनि सेना कुछ नहि करेगां” यी दुइ जना त प्रतिनिधि पात्र हुन । उक्त क्षेत्रमा खटिएका भारतीय सेनामा चीनको डर राती सिमा निरिक्षण गर्नुले पनि स्पस्ट हुन्छ ।

पार्वती कुण्ड र जोलीङकाङ 

पार्वती कुण्ड र जोलिङकाङ पर्वत शृङखला त्यस क्षेत्रका मुख्य आकर्षक हुन । पार्वति कुण्ड नजिकै पुर्वमा लिम्पीया धुरा बाट आएको नदी छ । आदि कैलाशको यात्राका लागी धरै भारतीय पर्यटक त्यस क्षेत्रमा पुग्ने गरेका छन् । जोलिङकाङमा कुमाउ विकास मण्डल निगमका भवनहरु यात्रीहरुका लागी बनाइएका छन् ।
भारतीय आर्मी संग जौलीङकाङ पुगको दिन म र मेरो एक जना सार्थी १ किलोमिटर टाढा रहेको पार्वकी कुण्ड हेर्न पुगिहाल्यौ ।

पावर्ती कुण्ड र पार्वती मन्दिर । यसैलाई आदी कैलाश भनिन्छ । यहाँ सम्म प्रत्येक बर्ष हिन्दुधर्मालम्बीहरुले यात्रा गर्ने गरेका छन् ।

पार्वती कुण्ड नजिक एउटा अचम्मको दृष्य देखे । अधिकाशं हिउ जम्ने उक्त क्षेत्रमा रोपाई लगाए जस्तै खेत छ । खेतमा धान रोपीएको छ भने खेत हिलो पारीएको छ । खेतमा तत्काल रोपाई लगाएपछिको जस्तै देखिन्छ । स्थानियहरुका अनुसार त्यो द्धापर युगमा पाण्डबहरुले लगाएको धान खेती हो रे ।
पावर्ती कुण्डमा ठुलो मन्दिर बनाइएको छ । निकै ठूलो तालको वरिपरि परीक्रमा गर्न करिब एक घण्टा भन्दा बढि लाग्ने गरि तालको वरिपरी बाटो बनाइएको छ । गौरी कुण्ड भने जोलीङकाङको दक्षिण क्षेत्रमा पर्ने रहेछ ।
लिम्पीया धुरा क्षेत्रको अन्तीम गाउँ कुटि हो, कुटीमा शौका समुदायको बसोबास छ । त्यस क्षेत्रमा मैले केहि महाभारत कथा संग जोडीका अनौठा कुरा पनि देखे । कुटी गाउँ भन्दा तल खेतको विचमा पुराना र जिर्ण भएका घर संरक्षण गरिएका छन् त्यहाँका स्थानियहरुका अनुसार त्यी घरहरु पाचँ भाई पाण्डब हरुको दरबार हो ।

पाण्डब जिर्ण दरबार भएको क्षेत्र र कुटी गाउँको खेत ।

त्यस क्षेत्रमा फाटहरु भएकाले बाख्रापालन गर्नेहरुका बाख्राहरु पनि बनमा चराउन लगिएका देखिन्थे ।

वास्तीक काली नदिको मुहान कस्तो छ ?

लिम्पया धुरा बाट बग्ने वास्तबीक महाकाली नदिको मुहान हिमाल बाट पग्लने हिउ बाट बग्ने रहेछ । हिमालबाट झरेपछि ठुलो फाटको विच बाट सानो चिसो नाला बगेको छ । हिमाल बाट आएको खोल्साको पानी ओल्सा बेसमा पुग्दा पुल लगाउनुपर्ने सम्मको पानी हुन्छ ।

काली नदी अर्थात स्थानिय स्तरमा कुटियाङ्दी नदीका नामले चिनिएको नदीको मुहान । ओल्सा बेस क्षेत्र र लिम्पीया धुरा ।

पानी धेरै नभएपनि अत्याधिक चिसो पानी भएकाले वारवार गर्न पुलहरु लगाइएका थिए । कुटि बाट लिपुलेक सम्म २ ठाउँमा मात्रै वारपार गर्न काठेपुल लगाइएका छन् । कुटि बाट पारी तरेपछि ओल्सा बेस बाट लिम्पीया धुरा पुग्नमात्रै नदी वारी अर्थात अतिक्रमीत नेपाली क्षेत्रमा आउनुपर्ने रहेछ । यसरी नदि र भौगोलीक बनावट हेर्दा पार्वती कुण्ड, जौलिङकाङ भारतको भूमी हो भने लिम्पीयाधुराबाट बग्ने कुटीयाङ्दी नदी पारी रहेका फाटहरु नेपालका रहेछन् ।

न्युन ज्यालामा काम गर्ने नेपाली कामदार

आफ्नै अतिक्रमीत भुमीमा भारतीय सेनालाई सघाउनुपर्ने नेपालीको बाध्यता छ । बेरोजगारीका कारण सबैजसो नेपालीहरु रोजगारीका लागी पुग्नुपर्ने बाध्यता छ । त्यस चिसो क्षेत्रमा पनि साढे ४सय भारुमा नेपालीहरुले काम गरिरहेका हुन्छन् । ठेकेदारहरु मार्फत आर्मीको पट्रोलमा नेपालीहरुले जाने गरेका हुन् । पट्रोल मात्र नभई भारतले नेपाली भूमीमा निर्माण गरेको सडकको काम गर्ने पनि नेपाली नै हुन् । २०७४ सालमा भारतले छियालेक बाट नावि गाउँ सम्म गाडि गुड्ने सडक बनाएको थियो भने भारतीय आर्मी र आइटिविपीका गाडिहरु निरन्तर रुपमा चलिरहेका थिए । कुटि गाउँ सम्मका लागी सडक विस्तार भइरहेको थियो ।
राज्यको पहुच नपुगेको दार्चुलाका नागरिकहरु एक गास र एक सरो लुगाका लागी आफ्नै अतिक्रमण भएका कालापानी, लिपुलेक क्षेत्रमा रोजगारी गर्न बाध्य छन् । यो अवस्थाको अन्त्य कहिले होला । ढिलै भएपनि म जस्ता युवाहरुले नेपालको लिम्पीया धुरा सम्मको नक्सा देखेका छन् । आफ्नो देशको वास्तविक क्षेत्रफल भएको नक्सा पाउदा एक किसिमको हर्ष आम देशभक्त नेपालीमा छ । २०७४ मा आफ्नै अतिक्रमीत भुमीमा देशको अतिक्रमण गर्ने भारतीय आर्मीको सहयोगी भएर पुगे । अब मलाई नेपालले भारतीय सेना फिर्ता गरेको नेपालीे भूमी लिम्पीयाधुरा, लिपुलेक र कालापानीमा पुग्ने रहर छ । सरकार मेरो रहर पुरा होला कि नहोला ?
जय देश, जय मातृभूमी

  • फोटो सहयोग विमल भण्डारी