एमालेको आशलाग्दो प्रशिक्षण कार्यक्रम

0
209

शंकर सिंह धामी
नेकपा एमालेले दार्चुलामा अगुवा नेता–कार्यकर्तालाई सहभागी गराएर प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वैशाख १७ देखि सुरु भएको प्रशिक्षण तीन दिनसम्म चल्नेछ । पार्टीका आधा दर्जनभन्दा बढी केन्द्रीय नेताहरु सहभागी प्रशिक्षण कार्यक्रम सहभागिता र विषयवस्तुका हिसाबले महत्वपूर्ण देखिन्छ ।
एमालेका उपमहासचिव एवं पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरु राजेन्द्र सिंह रावल, गणेश सिंह ठगुन्ना, निरु पाल र केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज सहदेव बोगटी प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् । विभिन्न शीर्षक र विषयमा नेताहरु जिल्लास्तरका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् ।
तीन महिनाअघि मात्रै दार्चुलामा एमालेको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ जिल्ला नेतृत्वको व्यवस्थापनमा कार्यकर्ताहरुलाई यसरी उच्चस्तरको प्रशिक्षण जिल्लास्तरमा पहिलोपटक आयोजना गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा पार्टी सञ्चालन, संगठन निर्माण, जनपरिचालन, विकास निर्माण, पार्टीका सैद्धान्तिक पक्षहरु, वर्तमान राजनीतिक अवस्था, स्थानीय सरकार सञ्चालन लगायत सबैजसो विषयवस्तुबारे चर्चा भएको बुझिन्छ । सार्वजनिक एवं राजनीतिक जीवनका यी सबै विषयमा छलफल हुनु, विचारविमर्श हुनु धेरै राम्रो हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी हितका साथै जनहित र राष्ट्रहितका विषय पनि अवश्य समावेश भएको हुनुपर्छ । सैद्धान्तिक रुपमा पार्टीहित, जनहित र राष्ट्रहितका तिनवटै विषयमा कसैको विमति नहोला । तर, व्यवहारिक रुपमा अवस्थामा सुधार गर्न र राम्रो नतिजा हासिल गर्नका लागि यस्ता प्रशिक्षण कार्यक्रम उपयोगी हुन सक्छन् ।
केही नगर्नुभन्दा यस्ता अभ्यासहरु, कार्यक्रमहरु आयोजना हुनु धेरै राम्रो हो । सार्वजनिक चाँसो र सरोकारका विषयमा चर्चा गर्नु, विचारविमर्श गर्नुले राजनीतिक क्षेत्रको ओज र फैलावट अवश्य बढाउछ ।
एमालेको जिल्ला कमिटीमा बहुमत सदस्यहरु पहिलोपटक प्रवेश गरेका छन् । अधिकांश सदस्यहरु युवा र नयाँ भएकोले उनीहरुलाई विचार तिखार्ने र व्यवहारले चलायमान बनाउने प्रयासको रुपमा यो प्रशिक्षणलाई लिन सकिन्छ ।
दार्चुलामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरुको टोली काठमाण्डौंबाट हवाइयात्रामार्फत धनगढी पुग्यो । धनगढीबाट महेन्द्रनगर हुदै बसबासा–टनकपुर–पिथौरागढ–धारचुलाको भारतीय मोटरमार्गको यात्रा केन्द्रीय नेतृत्वले गरेको देखिन्छ । यो क्रममा पिथौरागढस्थित गोर्खाली किल्लाको अवलोकन गरेर गोर्खालीको विरासत स्मरण गर्ने कार्य पनि भएको छ ।
महाकाली नदी तरेर धारचुला बजारमा आफ्ना केन्द्रीय नेताहरुको स्वागत गर्न एमालेका नेता–कार्यकर्ताहरु पुगे । केन्द्रीय नेतृत्वको सम्मान र स्वागत गर्नु अन्यथा होइन तर महाकालीको पुल तरेर भारतीय भूमिमै फुलमाला चढाउन हतारिनु थिएन कि भन्ने प्रश्न पनि छ ।
केही दिनअघि राप्रपाका सांसद दीपकवहादुर सिंहले दार्चुला पुगेर मातृभूमिलाई ढोगेको फोटो लोकप्रिय भएको पृष्ठभूमिमा एमालेका कार्यकर्ताले महाकाली तरेर धारचुलामा नेताहरुको स्वागत गरेको दृश्य अलिकति मन परेन । खलंगाको अन्तर्राष्ट्रिय सिमा जोड्ने पुलमै नेताहरुले मातृभूमिमा पाइला टेक्दाखेरी फुलमाला बर्साएर स्वागत गरेको भए झनै राम्रो हुने थियो । साथै, प्रदीप ज्ञवाली जस्ता सालिन र भद्र नेताहरुले मातृभूमिलाई ढोगेर सम्मान गरेको दृश्य देख्न पाए झनै माटो र नेताप्रतिको सम्मानभाव पनि बढ्थ्यो ।
धारचुलामै पुगेर नेताहरुलाई फुलमाला र खादा लगाउनुको एउटा सकारात्मक पाटो पनि देखिन्छ । आफ्ना नेताहरुप्रतिको आस्था र सम्मान यो स्तरसम्मको हुदोरहेछ भन्ने सन्देश नेपालका साथै भारतका नागरिक र सुरक्षाकर्मीसम्म पुगेको छ । सिमानाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले नेताहरुको गालाभरी फुलमाला र खादा लगाएको दृश्य अवश्य देखेका होलान । नेताहरुसंगै दर्जनौं कार्यकर्ताहरुको ताती पनि देखे होलान । नेपालका पार्टी कार्यकर्ताहरु आफ्ना नेताहरुलाई कति सम्मान गर्दा रहेछन् भन्ने यो सकारात्मक सन्देश पनि गएको देखिन्छ ।
प्रशिक्षण कार्यक्रमबाट गरिएको एउटा प्रमुख अपेक्षा भनेको स्थानीय सरकारको जनमुखी र प्रभावकारी सञ्चालन हो । वर्तमानमा जनता सन्तुष्ट हुुनु त टाढाको कुरा एमालेकै नेताकार्यकर्ताहरु पनि गाउँ र वस्तीस्तरमा सन्तुष्ट छैनन् । धेरै गुनासा र आक्रोसहरु जताततै सुनिन्छन् । दार्चुलामा नौंमध्ये ६ वटा स्थानीय तहमा एमालेको सरकार छ, बहुमत छ । स्थानीय सरकारको गुणदोष केवल जनप्रतिनिधिहरुलाई मात्रै जादैन । जनप्रतिनिधिहरुको कार्यसम्पादन उनीहरुको पार्टीसंग पनि अवश्यक जोडिन्छ । २०७४ मा निर्वाचित भएर २०७९ मा पराजय भोग्नुपरेका तत्कालिन जनप्रतिनिधि र उनीहरुको पार्टी पराजयलाई हेरे प्रष्टै हुन्छ । जनप्रतिनिधिहरुसंगको असन्तुष्टिको सजाय उम्मेदवार र पार्टीले एकसाथ भोग्नु परेको थियो ।
उत्कृष्ट र नमुनायोग्य काम स्थानीय सरकारबाट गराउन सक्नुपर्छ । पार्टीले जनप्रतिनिधिलाई दोष दिएर भाग्न सक्दैन । यसबारे सामूहिक र संस्थागत (पार्टीगत) जवाफदेहिता हुन्छ । वर्तमानमा जनप्रतिनिधिहरुको भूमिकाबारे पार्टीकै नेताहरु समेत सन्तुष्ट छैनन् भन्ने सुनिन्छ ।
यस्तो पृष्ठभूमिमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी कार्यमा केन्द्रीत गराउन एमाले सक्रिय हुनुपर्छ । सकभर आम नागरिकको मन जित्न सक्नुपर्छ । त्यो सम्भव नभए बहुमत जनता, पार्टी कार्यकर्ता र समर्थकबाट स्थानीय सरकारका कामकारवाहीहरु स्वीकार्य र अनुमोदित हुनुपर्छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली दोस्रोपटक दार्चुला पुगेका छन् । यो भ्रमणमा उहाँले भारतीय र नेपाली सडकमार्ग दुबैको अध्ययन–अवलोकन गर्न पाएका छन् । दार्चुलालाई तराईको भूभागसंग जोड्ने महाकाली कोरिडोरको अलपत्र अवस्थाबारे उहाँलाई अवश्य जानकारी भएको हुनुपर्छ । जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरुसंग ज्ञवालीसहितका एमाले नेताहरुले जिल्लाको समग्र वस्तुस्थितिबारे छलफल पनि गरेका छन् ।
व्यासको कौवाक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना, सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन र दु्रत निर्माणमा यस्ता छलफल र भ्रमणले योगदान गर्नुपर्छ । केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहिसकेका नेता प्रदीप ज्ञवालीको दार्चुला भ्रमणले तिंकर नाकालाई औपचारिक रुपमा सञ्चालन गराउनमा पनि योगदान पुगोस् । तिंकरमा तत्कालै अध्यागमन कार्यालय स्थापना गरेर पैदलयात्रामार्फत पवित्र कैलाश–मानसरोवरको यात्राको ढोका खोल्नुपर्छ । यति गर्न सकियो भने मातृभूमिको सेवाका साथै उच्चतम परमार्थ कार्य पनि हुनेछ ।
भारतीय मोटरमार्ग भएरै सही, सुन्सेरा र मालक्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडकको स्थलगत भ्रमण चाहिँ छुटेको पाटो हो । उपमहासचिव ज्ञवालीको व्यस्तता भए पनि दार्चुलामै रहेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नासहितका बाँकी नेताहरुले यो क्षेत्रमा भ्रमण गरेर वस्तुस्थितिको जानकारी लिऊन । आफ्नोस्तरबाट ठोस पहल गरुन् र दार्चुला–टिंकर सडक दु्रतगतिमा निर्माण गर्न र पर्याप्त बजेट विनियोजन गराउन भूमिका निर्वाह गरुन् । यो नै संघीय सरकारले तत्काल सम्बोधन गर्नुपर्ने दार्चुलाको एकमात्र विकास एजेण्डा र प्राथमिकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here