पर्यटनमा अपिहिमालको आशलाग्दो पहल

0
128

शंकर सिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन क्षेत्रमा केही आशलाग्दा कदम चालिरहेको छ । हिमालय दर्शन, प्राकृतिक दृश्यालोकन र धार्मिक एवं सांस्कृतिक पर्यटनको सम्भावना रहेको यस पालिकाले पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनमा उत्साहजनक क्रियाकलापहरु थालेको देखिन्छ । यसक्रममा केही दिनअघि मात्रै मकरीगाडदेखि अपिहिमालको वेश क्याम्पसम्मको पदमार्गमा परिचयात्मक यात्रा पनि गरिएको छ ।
पर्यटन विकासका लागि पूर्वाधार पहिलो शर्त र आवश्यकता हो । अपिहिमालमा यो पाटोलाई आत्मसात गरिएको छ । मकरीगाडदेखि मकरीकोटसम्मको पदमार्गका साथै चमेलिया नदी किनारैकिनार भएर अपि वेशक्याम्प पुगिने पदमार्ग पनि बनाइएको छ । स्थानीय सरकारले पदमार्ग निर्माणमा नेपाल पर्यटन बोर्ड, युएनडिपी जस्ता साझेदारसंग सहकार्य पनि गरेको छ ।
पर्यटन क्षेत्रमा सक्रिय हुने जनशक्तिलाई आधारभूत तालिम र ज्ञानसिप प्रदान गर्नु पनि जरुरी हुन्छ । यसका लागि पनि केही क्रियाकलापहरु सञ्चालन गरिएका छन् । अपि, नाम्पा लगायत दर्जनौं हिमालहरु रहेको अपिहिमालमा हिमालय दर्शन तत्कालको प्रमुख आकर्षण हो । पूर्वाधार विकाससंगै प्रचारप्रचार देशव्यापी बनाउन सकेमा भविष्यमा हिमाल दर्शन मात्रै नभएर हिमाल आरोहणका लागि पनि यसक्षेत्रमा पुग्ने पर्यटकको बढ्ने सम्भावना छ ।
अपिहिमाल वेशक्याम्प पदमार्गमा विभिन्न स्थानमा होमस्टे सञ्चालन गरिएका छन् । यो पनि पर्यटन विकासका लागि अत्यावश्यक पूर्वाधार हो । होमस्टे व्यवस्थित, नियमित, सफा र आकर्षित रुपमा सञ्चालन गर्न ध्यान दिनुपर्छ । किनकी पाहुनाले गास, वास र व्यवहारकै आधारमा समग्र यात्राको मूल्यांकन गर्छन्, धारणा बनाउँछन् ।
विदेशी पाहुनाका लागि यसक्षेत्रको गासवास धेरै महंगो छैन तर हामी प्रारम्भिक चरणमा रहेकोले स्वदेशी र स्थानीय पर्यटकका लागि महंगो नहुने गरी होमस्टे र पदमार्ग क्षेत्रका पसलहरुमा सेवा उपलब्ध गराउनुपर्छ ।
स्थानीय संस्कृतिको प्रदर्शन पनि यसक्षेत्रको पर्यटनको महत्वपूर्ण पाटो छ । संगसंगै रक्सीको अनियन्त्रित विक्रीवितरण र उपभोगले पर्नसक्ने नकारात्मक असरबारे पनि सजग हुनुपर्ने देखिन्छ । विभिन्न ठाउँमा बनाइएका पैदलमार्ग, काठेपुल, विश्रामगृहको दीगो र नियमित सञ्चालनका लागि स्थानीय सरकारले नै अगुवाइ गर्नुपर्ने हुन्छ ।
वनजंगल क्षेत्रको संरक्षण र चोरीशिकारी नियन्त्रण भएमा मात्रै दीगो रुपमा पर्यटन व्यवसाय चल्नेछ, पर्यावरणीय सन्तुलन हुनेछ । यसका लागि सचेतना बढाउनेदेखि नियन्त्रण र कारवाहीका लागि समेत सक्रियता देखिनुपर्छ ।
पदमार्ग र हिमालयक्षेत्रमा जथाभावी फालिने फोहोरमैलाको व्यवस्थापनमा पनि अहिलेदेखि नै ध्यान जानुपर्छ । चमेलिया नदीको मुहानक्षेत्रको पवित्रताबारे सचेत र सक्रिय हुनुपर्नेछ । धार्मिक महत्व र आस्थालाई ठेस नपुग्ने गरी यसक्षेत्रमा आवतजावत, खानपिन र आवाशको व्यवस्थापन गरिनुपर्छ ।
मकरीगाडमा पर्यटन सुचना केन्द्र राखिएको छ । यो कार्यले पदमार्ग, होमस्टे लगायत विविध क्षेत्रमा जानकारी मिल्नेछ । अभिलेखीकरणको कार्य पनि हुनेछ । स्थानीयस्तरमा भए–गरेका अभ्यासबारे प्रचारप्रसार हुनेछ । कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनलाई प्रवद्र्धन मिल्नेछ । यसक्षेत्रमा घुम्न आएका पर्यटकहरुले मायाको चिनोको रुपमा स्थानीय उत्पादनलाई किन्नेछन् ।
पदयात्रामा गाइड र भरियाहरुको उपलब्धता छ । तर ती गाइड र भरियाहरुको पारिश्रमिकबारे प्रष्ट मापदण्ड र व्यवस्था गर्नु आवश्यक छ । कुनै पनि पर्यटकलाई असुविधा नहोस्, अनावश्यक खर्च गर्न नपरोस् तथा स्थानीय गाइड र भरियाले न्यायोचित पारिश्रमिक पाउने सुनिश्चिता पनि होस् ।
स्थानीयका खानाका परिकारबाट पर्यटकको मन जित्न सकेमा स्थानीय कृषि उत्पादनले महत्व पाउनेछ भने स्थानीय अर्थतन्त्रमा योगदान पुग्नेछ । पाहुनालाई दालभात–तरकारी खुवाउनुभन्दा कोदो, फापर, मकैको रोटी खुवाउने अभ्यास गर्नुपर्छ । बजारबाट ल्याइएको चना, मटर र अरहरभन्दा स्थानीय राज्मा, सिमी, भटमास र तरकारीको स्वाद पस्किनुपर्छ ।
खाद्य उत्पादन न्युन भए पनि उच्चभेगमा आलुको मात्रै उत्पादन बढाएर बजारिकरण गर्न सकेमा यसले स्थानीयको आम्दानी बढाउनेछ । हिमाली क्षेत्रको आलुको स्वादले बजार विस्तार पनि हुनेछ ।
अपिहिमालको वेशक्याम्प क्षेत्रमा मोबाइल टावरको आवश्यकता छ । तत्काल यसका लागि पहल र समन्वय गर्नुपर्ने देखिन्छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले पर्यटन बोर्ड, प्रदेश सरकार र जिल्ला र प्रदेशभित्रका अन्य स्थानीय सरकारसंग समन्वय बढाउनुपर्छ ।
यार्सागुम्बा संकलन, पशुपालन र चोरीशिकारीले वनजंगल तथा वातावरणमा परिरहेको नकारात्मक असरबारे समयमै गम्भीर बन्नुपर्ने देखिन्छ । यसका लागि सरोकारवाला निकायहरुसंग समन्वय र सक्रियता बढाउने कार्यमा पनि स्थानीय सरकारले नेतृत्व गर्नुपर्छ ।
अपिहिमाल गाउँपालिकामा पवित्र सुर्मासरोवर दर्शन हुने क्षत्ति जात्रा महत्वपूर्ण पर्वको रुपमा रहेको छ । पछिल्लो समय स्थानीय सरकारले सुर्मासरोवर दर्शन यात्रारुटमा पनि पदमार्ग बनाउन पहल गरेको छ । छोटो समयमै यो पदमार्ग व्यवस्थित रुपमा निर्माण सम्पन्न गर्नुपर्छ । ठाउँठाउँमा विश्रामगृह, काठेपुल, जानकारीमूलक बोर्ड लगायतको व्यवस्थापन गर्नुपर्छ ।
स्थानीय सम्भाव्यतालाई राम्रोसंग अपिहिमाल गाउँपालिकाले आत्मसात गरेको छ । प्रकृतिले दिएको सुन्दर सम्पदाको प्रचारप्रसार, उपभोग र संरक्षणमा जुटेर यसबाट प्रतिफल लिनुपर्छ । अपिहिमालका लागि पर्यटन विकास र प्रवद्र्धन प्रमुख कार्य र जिम्मेवारी हो । यो संगै गाउँपालिका र वडा केन्द्रहरु जोड्ने सडकमार्गको निर्माणमा स्थानीय सरकार सक्रिय हुनुपर्छ ।
उच्चहिमाली भेग जोड्नलाई पदमार्ग नै उपयुक्त विकल्प भए पनि ६ वटै वडाका केन्द्र र गाउँपालिका केन्द्रलाई सडक सुविधालाई जोड्नुपर्ने पहिलो प्राथमिकताको विकास निर्माण स्थानीय सरकारको काँधमा छ । विकट र जटिल भूगोलमा सडक निर्माण खर्चिलो र चुनौतीपूर्ण भए पनि संघीय र प्रदेश सरकारसंग समन्वय गरेर जिम्मेवारी पूरा गर्ने अभिभारा स्थानीय सरकारकै काँधमा छ ।
हाल मार्मा गाउँपालिकाको लटिनाथसम्म सहज रुपमा जीप र वससेवा सञ्चालन गर्छ । पारिबगरदेखि मकरीगाडसम्मको सडक सुधार गरी यो सडक क्षेत्रमा नियमित बस र जीपसेवा सञ्चालनको अगुवाइ पनि स्थानीय सरकारले गर्नुपर्छ । करिब १०÷१२ किलोमिटरको यो छोटो दूरीमा महंगो गाडीभाडा तिर्नुपर्ने अवस्थामा तत्काल सुधार गर्नु पनि जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here