कुञ्चा पुग्यो तिंकर गाउँमा

0
71

दार्चुला, वैशाख २७ गते ।
दार्चुला जिल्लाको सर्वाधिक उचाइमा रहेको तिंकर गाउँमा स्थानीयको कुञ्चा (बसाइसराइ) पुगेको छ । सदरमुकाम खलंगाबाट ६ महिनाका लागि स्थानीय शौका समुदायको कुञ्चा तिंकर सरेको हो ।
खलंगाबाट भारतीय मार्ग हुँदै व्यासक्षेत्रका छाङरु र तिंकर गाउँको कुञ्चा सर्ने गर्दछ । छाङरुबाट १२ किलोमिटर दूरीमा रहेको तिंकर गाउँमा बुधवार पहिलोपटक कुञ्चा पुगेको स्थानीय दान सिंह तिंकरीले बताउनुभयो ।
उच्च हिमपात र जाडोका कारण यी दुइ गाउँका स्थानीय हिउदको समय खलंगामा बसाइ सर्छन् । हरेक वर्ष चैत्र–वैशाखमा भने आफ्नो थाकथलो फर्किने गर्दछन् । आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती गर्दैआएका छन् ।
सदरमुकामबाट ६ दिन लगाएर तिंकर गाउँमा कुञ्चा पुगेको हो । तिंकर गाउँमा ७० घरधुरी बसोवास गर्दछन् । तीमध्ये चार दर्शन घरधुरीको कुञ्चा तिंकर सर्दैछ । फरक–फरक समयमा तीन समूहमा तिंकरका स्थानीय आफ्नो थाकथलो फर्किदैगरेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो ।
खलंगाबाट तिंकरका लागि गाइवस्तु, खाद्यान्न र बन्दोवस्तीका सामानसहित हिडेका स्थानीयका तीन समूहमध्ये पहिलो टोली बुधवार तिंकर गाउँमा पुगेको हो । बाँकी दुइ टोली बाटोमै रहेको स्थानीय दान सिह तिंकरीले बताउनुभयो ।
भारतको धारचुलादेखि सितापुलसम्म सडक सुविधा भए पनि गाइवस्तु पनि संगै लग्नुपर्ने भएकोले पैदल हिडेर कुञ्चा सर्ने गर्छ । कतिपय सामान गाइवस्तुमै बोक्ने पनि गरिन्छ । वैशाखदेखि कार्तिकसम्मको बसाइ गाउँमै हुने भएकोले स्थानीयले गाइवस्तुसंगै खाद्यान्न र बन्दोवस्तीका सामान पनि बोक्ने गरेको वडासचिव विनोद सिंह बुढाथोकीले बताउनुभयो ।
वैशाख २५ गते गृहसचिवको नेतृत्वमा सुरक्षा अंगका प्रमुखहरुले सेनाको हेलिकोप्टरमार्फत व्यासक्षेत्रको भ्रमण गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी मंगलवार हेलिकोप्टरमार्फत तिंकर पुग्दा स्थानीयको कुञ्चा बाटो मै थियो । तिंकर गाउँभन्दा दुइ किलोमिटरको दूरीमा रहेको छियालेकमा हेलिकोप्टर ल्याण्ड गरिएको थियो ।
दुइटा प्रहरी संगठनका प्रमुखहरु पहिलोपटक दार्चुलाको अन्तिम गाउँ तिंकरको छियालेक पुगे पनि तिंकर गाउँमा स्थानीय नपुगेकाले गाउँमा पुगेनन् । छियालेकस्थित सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय निरीक्षण गरी आइजिपीहरु १५ मिनेटमै फर्किएका थिए । ‘हेलिकोप्टरबाट उच्च अधिकारीहरु तिंकरको छियालेक पुगेको दिन तिंकरका स्थानीयको पहिलो कुञ्चा टोली छाङरुमा थियो’ पूर्व जिविस सदस्य एवं तिंकरका स्थानीय दान सिंह तिंकरीले भन्नुभयो ।
प्रहरी प्रमुखद्वय हेलिकोप्टरबाट तिंकरको छियालेक पुगेका थिए भने गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख छाङरुमै झरेका थिए । गृहसचिव र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखले छाङरुका केही स्थानीयसंग स्थानीय आवश्यकता र वस्तुस्थितिबारे छलफल गरेका थिए । तिंकरको छियालेक पुगेका आइजिपीद्वयले त्यहाँ कार्यरत सुरक्षाकर्मीसंग भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थापनबारे कुराकानी गरेको सुरक्षास्रोतले बतायो ।
विगतका वर्षहरुमा तिंकर गाउँका स्थानीयवासी कुञ्चा पुगेपछि मात्रै सुरक्षाकर्मी छियालेक पुग्ने गर्थे । यसपटक स्थानीयको कुञ्चा तिंकर पुग्नुअगावै गृहसचिव नेतृत्वको टोली व्यासक्षेत्र भ्रमण आएकोले प्रहरी र सशस्त्र प्रहरीको टोली गत आइतवार नै छियालेक पुगेको थियो ।
छियालेकबाट ४÷५ घण्टाको पैदल हिडाइमा नेपाल र चीनको सिमाना १ नम्बर पिलर पुगिन्छ । यसपटक तिंकर नाका खुल्ने भएपछि सुरक्षाकर्मीको टोली समयमै परिचालन भएको र उच्च सुरक्षा अधिकारीहरुको समेत भ्रमण गरिएको स्रोतले बतायो ।
छियालेकभन्दा माथि डोङकाङ, टाटाक्षेत्र र १ नम्बर पिलर रहेको ठाउँ हिउँले ढाकिएकोले तत्कालै तिंकर नाका भएर आवतजावत हुन सक्ने अवस्था छैन । दुइ हप्ताभित्र भने तिंकर नाका भएर स्थानीयले आवतजावत गर्ने तयारी गरिरहेको वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो ।
धारचुलाबाट महाकाली नदीको किनारैकिनार सितापुलसम्म र सितापुलबाट तिंकर खोलाको किनारैकिनारको पैदलबाटो भएर तिंकर गाउँका स्थानीयको कुञ्चा सर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here