गोकुलेश्वर–बन्तोली–पनेबाज सडकमा ७५ प्रतिशत प्रगति

0
565

दार्चुला, वैशाख २७ गते ।
सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन गोकुलेश्वर–बन्तोली–पनेबाज सडकमा ७५ प्रतिशत भौतिक प्रगति भएको छ । संघीय सरकारको सम्पूरक अनुदानमा प्रदेश सरकारबाट यो सडक निर्माण भइरहेको छ ।
चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समग्र सडक निर्माणमा ७५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रवक्ता एवं इन्जिनियर हर्कराज जोशीले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ को भूगोलमा निर्माण भइरहेको सडकले महाकाली लोकमार्गलाई गोकुलेश्वर र पनेबाजमा जोड्दैछ । गोकुलेश्वरदेखि पनेबाजसम्म निर्माण भइरहेको यो सडकको कुल लम्बाई १७ दशमलव ६ किलोमिटर रहेको छ ।
गोकुलेश्वरदेखि देवल हुँदै झरकडासम्मको क्षेत्रमा सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडकको ट्रयाक खुलिसकेको छ । ‘केही हप्ताअघि बन्तोली क्षेत्रमा ट्रयाक खुलेको छ, अहिले ७ मिटर फराकिलो बनाउने र टेवापर्खाल तथा नाली निर्माणको कार्य भइरहेको छ’ इन्जिनियर जोशीले भन्नुभयो ।
चालू आर्थिक वर्षभित्रै गोकुलेश्वरदेखि झरकडासम्मको ६÷७ किलोमिटर लामो सडक कालोपत्रेको तयारी भइरहेको उहाँले बताउनुभयो । कुल सडक लम्बाईमध्ये एक किलोमिटर क्षेत्रमा सडक फराकिलो बनाउन बाँकी छ भने २ किलोमिटर लामो क्षेत्रमा नाली र टेवापर्खाल निर्माणको काम बाँकी रहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ देखि सडक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक योजनाको डिपिआर अनुसार कुल लागत अनुमान ८३ करोड ५० लाख रहेकोमा ६८ करोड २४ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।
चालू वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा अधिकांश बजेट चैत्र महिनाभित्रै खर्च भइसकेको इन्जिनियर जोशीले बताउनुभयो । उहाँका अनुसार चालू वर्षमै थप बजेट व्यवस्थापन हुन सकेमा सडक कालोपत्रे गर्ने कार्यमा प्रगति हुने अवस्था छ ।
२०८१ असार मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि बजेट अभावले सडक निर्माणको म्याद थप हुने अवस्था छ । ठेक्का सम्झौताअनुसारको काम पूरा गराउन पर्याप्त बजेट विनियोजन हुन नसकेकाले निर्माण सम्झौताको म्याद थपिने सम्भावना रहेको इन्जिनियर जोशीले बताउनुभयो ।
आठ किलोमिटर छोटो सडक
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ पनेबाजदेखि वडा नम्बर ९ गोकुलेश्वर बजार क्षेत्र जोडिने सडक निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको महाकाली लोकमार्गभन्दा ८ किलोमिटर छोटो वैकल्पिक सडक बन्नेछ । महाकाली लोकमार्गअन्तर्गत हाल पनेबाजदेखि गोकुलेश्वरसम्मको सडकको दूरी २५ किलोमिटर छ ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ र ६ को भूगोल जोडेर हाल महाकाली लोकमार्ग सञ्चालनमा छ । उल्लानी, ग्वानी, बजानी, आगर, ठूलीसैन, नङतड लगायतका वस्ती जोडेर महाकाली लोकमार्ग बनेको छ । गोकुलेश्वर–बन्तोली–पनेबाज सडक बनेपछि देवल, झरकडा, बोहरीगाउँ, बन्तोली, मौरभिटा लगायतका वस्तीलाई सुविधा पुग्नेछ ।
गोकुलेश्वरदेखि पनेबाजसम्मको सडकको दूरी साढे १७ किलोमिटर छ । महाकाली लोकमार्ग जत्तिकै चौडा र कालोपत्रे सडक हुने भएकोले छोटो र वैकल्पिक सडकको रुपमा गोकुलेश्वर–बन्तोली–पनेबाज सडक प्रयोग हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here