‘सेवाग्राही धेरै सूचित र जानकार छन्, प्रभावकारी रुपमा सेवा दिनुहोस्’– गृहसचिव

0
23

दार्चुला, वैशाख २५ गते ।
गृहसचिव एकनारायण अर्यालले दार्चुलाका सरकारी कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सेवाग्राही धेरै सूचित र जानकार भएकोले उनीहरुलाई कुनै विलम्ब नगरी सहज ढंगले सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिएका छन् ।
मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा जिल्लास्थित कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै गृहसचिव अर्यालले यस्तो बताएका हुन् । ‘आजको समयमा सेवाग्राही धेरै सक्षम र सचेत छन्, जनता धेरै सूचित छन् र धेरै पूर्वजानकारी लिएर सेवालिन कार्यालयमा पुग्छन्’ उहाँले भन्नुभयो, ‘सेवाग्राहीलाई सजिलो ढंगले सेवा दिनुपर्छ ।’
प्रविधिको पहुँच र सचेतना बढेकोले सेवाग्राहीसंग धेरै पूर्वजानकारी हुने गरेको गृहसचिव अर्यालको भनाई छ । सचेत र पूर्वजानकार रहेका सेवाग्राहीलाई सेवा प्रदान गर्ने निकायका कर्मचारीले बढी अध्ययन र जानकार हुनुपर्ने उहाँले बताउनुभयो । ‘सेवाग्राहीभन्दा कम जानकार रहेका कर्मचारीबाट प्रभावकारी सेवाप्रवाह हुन सक्दैन, त्यसैले आफ्नो काम, कर्तव्य र अधिकारबारे नियमित जानकार र अपडेट हुनुपर्छ’ सचिव अर्यालले भन्नुभयो ।
सरकारी संयन्त्र र निकायहरुले नागरिकको जनजीवनलाई सहज बनाउन सधै सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो । सुरक्षा समन्वय र सेवाप्रवाहको संयुक्त अनुगमन गर्न आफ्नो टोली दार्चुला भ्रमणमा पुगेको उहाँको भनाई छ ।
जनताको काममा कुनैप्रकारको ढिलासुस्ती गर्ने छुट छैन भन्दै गृहसचिव अर्यालले दैनिक सेवाप्रवाह प्रभावकारी बनाउन निर्देशन दिएका छन् । दार्चुलामा सेवाप्रवाहको अवस्था राम्रो रहेको रिपोर्टिङ आफुले प्राप्त गरेको गृहसचिवको भनाई छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले इमान्दारिपूर्वक पदीय कर्तव्य निर्वाह गर्न जिल्लाका सबै कार्यालय प्रमुख र कर्मचारीलाई आफुले भन्दैआएको स्मरण गर्नुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित गृहसचिव अर्याल नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलवार विहान साढे ६ बजे खलंगा पुगेका थिए । जिल्लास्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्ला प्रमुखहरुसंग गृहसचिव नेतृत्वको टोलीले छुट्टै जिल्लाको शान्तिसुरक्षा र वस्तुस्थितिबारे ब्रिफिङ लिएको छ ।
सेनाको हेलिकोप्टरबाट मंगलवार विहान व्यासको छाङरु र तिंकरसम्म भ्रमण गरी गृहसचिवको टोली दिउसो दार्चुलाबाट फर्किएको छ । दार्चुलाबाट बझाङ, बाजुरा र अछाम जिल्ला सदरमुकाम भ्रमण गरी मंगलवार साँझ अनुगमन टोली धनगढी पुग्ने तालिका छ ।
छाङरुको गागामा स्थानीयवासीसंग उनीहरुका समस्या र आवश्यकताबारे गम्भीर छलफल भएको गृहसचिव अर्यालले जानकारी दिनुभयो । पैदलबाटो निर्माण, तिंकर नाका सञ्चालन, हातहतियार नवीकरण लगायतका विषयमा स्थानीयले आफुहरुसंग मागहरु राखेको उहाँले बताउनुभयो । व्यासका स्थानीयलाई हातहतियार नवीकरण लगायतको सेवा व्यासमै पुगेर दिन समेत गृहसचिवले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here