गृहसचिवसहित तीन सुरक्षा प्रमुखको साढे ५ घण्टा दार्चुला बसाइ ःकार्यालय उद्घाटनदेखि छियालेकसम्मको भ्रमण

0
189

दार्चुला, वैशाख २५ गते ।
दार्चुलाको त्रिदेशीय सिमाक्षेत्रमा मंगलवार गृहसचिवसहित तीन सुरक्षा अंगका प्रमुखहरुले अनुगमन भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलवार विहान साढे ६ बजे गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली खलंगास्थित सेनाको ब्यारेकमा उत्रियो ।
सोमबार नै गृहसचिवसहितको टोली काठमाण्डौंबाट सुदूरपश्चिमका हिमाली जिल्लाहरु भ्रमणका लागि धनगढी पुगेको थियो । धनगढीबाट सेनाको हेलिकोप्टरमा उच्च सुरक्षा अधिकारीहरुले दार्चुलासंगै बझाङ, बाजुरा र अछामको भ्रमण गरिरहेका छन् । मंगलवार नै चार जिल्ला भ्रमण पूरा गरी गृहसचिव नेतृत्वको टोली बेलुकी धनगढी पुग्ने तालिका छ ।
मंगलवार विहान आधा घण्टाको चिया विश्राम र सुरक्षा बिफ्रिङपछि गृहसचिव र तिनैजना सुरक्षा प्रमुखहरु व्यासक्षेत्रतर्फ उडे । खलंगामा रहेको सेनाको गुरुगोरख गुल्ममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीसहित जिल्लाका सुरक्षा प्रमुखहरुले भेटघाट र सुरक्षा बिफ्रिङ गरेका थिए ।
खलंगाबाट उडेको सेनाको हेलिकोप्टर छाङरुको नीतिकुण्डास्थित प्रहरी चौकी भवन नजिकै ल्याण्ड भयो । छाङरु र गागा क्षेत्रमा जता पनि हेलिकोप्टर ल्याड गर्न सकिने प्रशस्त ठाउँ छ । त्यसकारण प्रहरी चौकी नजिकैको चौरमा ल्याड भएको हेलिकोप्टरबाट गृहसचिव अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा ओर्लिए । नेपाल प्रहरीका आइजिपी बसन्त वहादुर कुवर र सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल भने तत्कालै नितिकुण्डाबाट तिंकरतर्फ लागे ।
नीतिकुण्डामा ओर्लिएका गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखले त्यहाँ गतवर्ष मात्रै निर्माण सम्पन्न गरिएको प्रहरी चौकी भवनको निरीक्षण गरे । नितिकुण्डामा कार्यरत सुरक्षाकर्मीसंग कुराकानी गरेर करिब १ किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मतर्फ पैदल यात्रा गरे ।
सशस्त्र प्रहरीको गुल्ममा निर्माण अन्तिम चरणमा पुगेको भवनको अवलोकनका साथै सुरक्षाकर्मीसंग कुराकानी गरेका गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखले व्यासका स्थानीयसंग पनि त्यहाँको अवस्था र आवश्यकताबारे कुराकानी गरे । २०–२५ मिनेटसम्मको कुराकानीमा छाङरुका स्थानीयले आफ्नो समस्या, पीडा, आवश्यकता र अपेक्षाहरु खुलेर राखेका छन् ।
गृहसचिवसहित उच्च अधिकारीहरुसंग स्थानीयका सबै समस्या र आवश्यकताबारे कुरा राखिएको स्थानीय योगेश सिंह बोहराले बताउनुभयो । व्यास जोड्ने पैदलबाटो सञ्चालनदेखि सिमा प्रशासन कार्यालय सञ्चालन, तिंकर नाका खोल्न, भन्सार कार्यालय पुनस्र्थापना गराउन पनि माग राखेको उहाँले बताउनुभयो ।
हेलिकोप्टरमार्फत तिंकरको छियालेक पुगेका आइजिपीद्वयले विओपी भवन र इलाका प्रहरी चौकीको निरीक्षण गरे । दुई दिनअघि मात्रै छाङरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तिंकरको छियालेक सरेको थियो । उच्च अधिकारीहरुको भ्रमण तय भएपछि तिंकरको छियालेकमा सुरक्षाकर्मीको टोलीले आवश्यक तयारी गरेको थियो । तिंकर गाउँमा स्थानीयवासिन्दाको कुञ्चा भने पुगिसकेको छैन । तर सुरक्षाकर्मीको टोली निरीक्षण भ्रमणका कारण स्थानीयवासीभन्दा पहिला नै छियालेक पुगेको छ ।
छियालेकको भौगोलिक अवस्थितिका साथै सुरक्षा व्यवस्थापनबारे आइजिपीहरुले जानकारी लिएका छन् । त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई हौसलासहित केही सुरक्षा निर्देशन समेत दुबै आइजिपीले दिएको सुरक्षा स्रोतले बतायो ।
१०–१५ मिनेटको छियालेक बसाइपछि आइजिपीद्वयको टोली छाङरु फर्कियो । छाङरुको गागास्थित सशस्त्र प्रहरीको गुल्म परिसरमा बनाइएको हेलिप्याडमा दुबै आइजिपी झरे । यसअघिदेखि गागाको गुल्म परिसरमा स्थानीयसंग छलफल गरिरहेका गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखसंगै आइजिपीद्वयले पनि कुराकानी गरे । स्थानीयवासी दुःखसुख, चासो र चिन्ताका कुराहरु सुने ।
सिमाक्षेत्रमा उच्च सुरक्षा अधिकारीहरुको भ्रमणले स्थानीयवासीमा हौसला मिलेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहरा बताउनुहुन्छ । ‘म खलंगामा भएकोले छाङरुमा पुग्न सकिन तर हाम्रा स्थानीयवासीले गृहसचिवज्यूको टोलीसंग भेटघाट र छलफल गरेका छन्’ उहाँले भन्नुभयो ।
छाङरुबाट गृहसचिवको टोली विहान साढे १० बजे खलंगा फर्किएको थियो । खलंगामा नवनिर्मित जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन गरिएको छ । गृहसचिव अर्यालले सनातन परम्पराअनुसार पूजाअर्चनसहित कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनपछि जिल्ला प्रशासन कार्यालयको हलमा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गरियो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले दार्चुला जिल्लाको समग्र वस्तुस्थिति प्रस्तुत गर्नुभयो भने गृहसचिव अर्यालले कार्यालय प्रमुखहरुलाई केही निर्देशन दिनुभयो ।
महाकाली नगर प्रमुख नरसिंह चैसिर, काग्रेस जिल्ला सभापति ललितसिंह बोहरा, एमालेका प्रदेश कमिटी सदस्य नगेन्द्रसिंह तिंकरी, व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहरा पनि कार्यक्रम भएको हलमा पुगे र गृहसचिवसहित सुरक्षा प्रमुखहरुसंग भेट गरे ।
राजनीतिक दलका नेताहरुसहित आफुले व्यासक्षेत्रका प्रमुख ७ वटा मागहरुबारे गृहसचिव अर्याललाई मागपत्र बुझाएको वडाअध्यक्ष बोहराले जानकारी दिनुभयो । खलंगास्थित जिल्ला प्रशासन कार्यालय भवनमा गृहसचिवलाई मागपत्र बुझाइएको छ ।
अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसंग व्यासका स्थानीयवासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न स्थानीयले माग गरेका छन् ।
‘हाम्रा सुरक्षाकर्मीले स्वदेशकै पैदलबाटो हिड्ने व्यवस्था गर्न माग गरेका छौं’ छाङरुका स्थानीयवासी योगेश सिंह बोहराले भन्नुभयो । उहाँका अनुसार स्थानीयका कुरा र माग अधिकारीहरुले ध्यानपूर्वक सुनेको र माग सम्बोधन गर्ने प्रतिउत्तर दिएका छन् ।
नेपालतर्फ व्यासक्षेत्र जोड्ने पैदलबाटो सञ्चालनमा छैन । महाकाली नदी किनारमा भारतीय सडक निर्माणले ठाँउठाउँमा क्षतिग्रस्त भएको बाटो ५ वर्षदेखि बन्द छ । पैदलबाटोको एलाइनमेन्टमा नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माण गरिरहे पनि सुस्तगतिमा चलिरहेको सडक निर्माणले पैदलबाटो समेत खुलाउन सकेको छैन ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि दोपाखेसम्मको करिब १५ किलोमिटर लामो क्षेत्रमा तत्कालै सडक निर्माण कार्य सुरु गरी पैदलबाटो खोल्नुपर्ने व्यासका स्थानीयको माग छ । बाटो निर्माणको यो प्रमुख मागसहित वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले मंगलवार गृहसचिवलाई सदरमुकाम खलंगामा ७ बुँदे मागपत्र बुझाएका छन् ।
नदी किनारको भिरालो ठाउँ र कडा चट्टान भएकोले जिलेटिन प्रयोग गरेर मात्रै यसक्षेत्रमा सडक र पैदलबाटो सञ्चालनमा ल्याउन सकिने अवस्था छ । ‘दुम्लिङदेखि कल्जु हुँदै तम्बाकुसम्मको २÷३ किलोमिटर लामो क्षेत्रमा अहिले सेनाले सडक निर्माण गरिरहेको छ’ वडाअध्यक्ष बोहराले भन्नुभयो । तर, थिइभीर, मौराभीर, घाटिबगर र दोपाखेसम्मको क्षेत्रमा तत्काल सडक निर्माण थालिएमा पैदलबाटो सञ्चालनमा आउनसक्ने उहाँको भनाइ छ ।
भारतको धारचुलास्थित एसडिएम कार्यालयबाट परमिट (लिखित अनुमतिपत्र) बनाएर व्यासका स्थानीयवासीका साथै नेपाली सुरक्षाकर्मीले पनि अहिले व्यासक्षेत्रसम्म आवतजावत गरिरहेका छन् । धारचुलादेखि गब्र्याङ हुँदै सितापुलसम्मको भारतीय सडकमार्गमा ३ घण्टामै यात्रा गर्न सकिन्छ । यता, नेपालको पैदलबाटो लामो र जोखिमपूर्ण भएकोले सञ्चालनमा आउन सकेको छैन ।
दुम्लिङदेखि कल्जु र थिईक्षेत्र हुँदै घाटिबगर जोड्ने वैकल्पिक पैदलमार्ग भए पनि व्यासको छाङरु पुग्न दुइ दिन लाग्ने गर्छ । लामो, जोखिमपूर्ण र कष्टकर पैदलबाटो भएकोले जोकोहीले पनि अहिले भारतीय मोटरमार्ग प्रयोग गर्दैआएका छन् ।
महाकालीको किनारैकिनार सेनाले दुम्लिङदेखि दोपाखेसम्मको झण्डै १५ किलोमिटर लामो सडक निर्माण गर्न सकेमा भने दुम्लिङबाट छाङरुसम्म ५÷६ घण्टामै पैदल यात्रा गर्न सकिने वडाअध्यक्ष अशोक सिंह बोहराको भनाई छ ।
व्यासवासीका तर्फबाट १ नम्बर वडाअध्यक्ष बोहराले गृहसचिव अर्यालसंग कौवाक्षेत्र र बुँदीक्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना गर्न माग गरेका छन् । सिमा प्रशासन कार्यालय व्यासमै सञ्चालन गर्न, सिमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गर्न, बुँदी र दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुंगेपुल निर्माण गर्न र इलाका प्रहरी कार्यालय तिंकरको भवन पुननिर्माण गर्न पनि माग गरिएको छ ।
चीनको ताक्लाकोट बजार जोड्ने तिंकर नाका खुल्ने तयारी भइरहेकोले तिंकर र सितापुलमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न पनि स्थानीयले माग गरेका छन् ।
सशस्त्र र नेपाल प्रहरीका संगठन प्रमुखहरु पहिलोपटक त्रिदेशीय सिमाक्षेत्रको अन्तिम गाउँ तिंकरस्थित छियालेक विओपी र इप्रकामा पुगेका हुन् । यसअघि २०७७ सालमा तत्कालिन गृहमन्त्री रामवहादुर थापा बादलसहित गृहसचिव र सशस्त्र प्रहरीका आइजिपी व्यासको छाङरु र गागामा पुगेका थिए । तर तिंकरमा भने अहिलेसम्म कुनै पनि उच्चसुरक्षा अधिकारीले पाइला टेकेका थिएनन् । हेलिकोप्टरबाट तिंकर गाउँको हवाइफन्को भने धेरै नेता र अधिकारीहरुले लगाइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसंगको भेटघाटपछि गृहसचिवको टोली सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटर पुगेको थियो । यसअघि जिल्ला प्रशासन कार्यालयमा नेपाल प्रहरीको टोलीले गृहसचिव अर्याललाई सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी गणमा निरीक्षण भ्रमणका साथै भोजनग्रहण गरेपछि गृहसचिवको टोली सेनाको ब्यारेकतर्फ लाग्यो । मध्यान्ह १२ बजे सेनाको हेलिकोप्टर दार्चुला सदरमुकाम खलंगाबाट बझाङतर्फ उडेको छ । मंगलवार विहान साढे ६ बजे दार्चुला पुगेको गृहसचिवको टोलीले साढे ५ घण्टा दार्चुलाको भूगोलमा भ्रमण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here