टिंकर सडकमा नौ महिनामा २ किलोमिटर ट्रयाक निर्माण

0
202

दार्चुला, वैशाख २० गते ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा २ किलोमिटर नयाँ ट्रयाक खुलेको छ । चालू वर्षको साउनदेखि चैत्र मसान्तसम्मको अवधिमा १ दशमलव ९ किलोमिटर लामो सडकको ट्रयाक निर्माण भएको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा ३ किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएको छ । चैत्र मसान्तसम्मको अवधिमा १४ सय ४० मिटर सडकको स्तरोन्नती सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
तेस्रो त्रैमासिक अवधिसम्म २१ सय मिटर नयाँ सडक निर्माण र १४ सय मिटर सडकको स्तरोन्नती गर्ने सेनाको लक्ष्य थियो । वैशाख दोस्रो सातासम्म २१ सय मिटर लामो नयाँ सडक निर्माण सम्पन्न भइसकेको जिल्लास्थित सैनिक स्रोतले बतायो ।
व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को तम्बाकु क्षेत्रसम्म सडक निर्माणको कार्य भइरहेको नेपाली सेनाले जनाएको छ । फतङगाड, मालगाउँ, कोठधार, सगनाडी, फुलचिमधार, दुम्लिङ, आकतुङती र तम्बाकु क्षेत्रमा सडक निर्माणको कार्य भइरहेको सेनाले जनाएको छ ।
वार्षिक लक्ष्यअनुसार सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रधानसेनापति प्रभुराम शर्माले बताएका छन् । वैशाख ७ गते आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापतिले लक्ष्यअनुसारको सडक निर्माण कार्य पूरा हुने जानकारी दिएका हुन् ।
सैनिक जनसम्पर्क निर्देशनालयले चैत्र मसान्तसम्म १९ सय २० मिटर नयाँ सडक निर्माण र १४ सय ४० मिटर सडक स्तरोन्नतीको कार्य सम्पन्न भएको विवरण सार्वजनिक गरेको छ ।
सेनाले निर्माण गरिरहेको टिंकर सडकमा हालसम्म जम्मा १२ दशमलव ३२ किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न भएको छ । यसैगरी २ दशमलव ९ किलोमिटर लामो सडकको स्तरोन्नती भएको विवरण नेपाली सेनाले सार्वजनिक गरेको छ ।
४ देखि ६ मिटरसम्मको चौडाइसहित सडकको ट्रयाक निर्माण पहिलो चरणमा भइरहेको छ । ट्रयाक खोलिएको क्षेत्रमा सडक फकाकिलो बनाएर ८ मिटर चौडा बनाउने कार्यलाई सडक स्तरोन्नती भनिएको छ ।
चालू आर्थिक वर्षमा ३ किलोमिटर ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य छ । गतवर्ष नेपाली सेनाले २ किलोमिटर सडकको ट्रयाक निर्माण र १ दशमलव ५ किलोमिटर सडकको स्तरोन्नती गरेको थियो ।
तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणमा नेपाली सेना परिचालन भइरहेको छ । २०७७ वैशाख १४ गते मन्त्रिपरिषद्को निर्णयले सडक निर्माणको जिम्मा सेनालाई दिएकोमा आर्थिक वर्ष २०७७÷७८ देखि सडक निर्माण कार्य सुरु गरिएको थियो ।
चालूवर्षमा टिंकर सडक निर्माणका लागि १४ करोड १९ लाख रुपैयाँ बजेट सेनालाई दिइएको छ । गतवर्ष ९ करोड ५१ लाख रुपैयाँ बजेट दिइएको थियो । पर्याप्त बजेट विनियोजन नहुदा सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकले गति लिएको छैन ।
सिमाक्षेत्रका वासिन्दाले पर्याप्त बजेट विनियोजन गरी दु्रतगतिमा टिंकर सडक निर्माण गर्न माग गर्दैआएका छन् । पटक–पटकका राजनीतिक र प्रशासनिक एवं सैनिक नेतृत्वका भ्रमणहरुमा यी मागहरु राखिए पनि अहिलेसम्म सम्बोधन हुन सकेका छैनन् । पर्याप्त बजेट विनियोजन गर्ने र दु्रतगतिमा सडक निर्माण गर्ने, गराउने विषयमा प्रतिवद्धता भने सबै भ्रमणहरुमा सार्वजनिक हुँदैआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here