सबै सिमानाकामा राष्ट्रिय झण्डा राखिदै

0
33

दार्चुला, वैशाख २० गते ।
दार्चुला जिल्लाको सिमाक्षेत्रमा पर्ने सबै अन्तर्राष्ट्रिय नाकाहरुमा राष्ट्रिय झण्डा राख्ने तयारी भइरहेको छ । सशस्त्र प्रहरी वलको ४४ नम्बर हेडक्वाटरले सबै सिमानाकाहरुमा नियमित रुपमा राष्ट्रिय झण्डा गाड्ने तयारी थालेको हो ।
दार्चुला जिल्लाको सिमाक्षेत्रमा नेपाल र भारत जोड्ने १० वटा नाकाहरु छन् । सदरमुकाम खलंगास्थित दुइ देश जोड्ने नाकामा यसअघिदेखि नै राष्ट्रिय झण्डा राखिदैआएको छ । महाकाली पारीपट्टि भारतीय सुरक्षाकर्मीले सबै नाकामा आफ्नो देशको झण्डा फहराउदैआएका छन् ।
भारतीय सुरक्षा वल एसएसवीको अभ्यासजस्तै नेपालतर्फ सशस्त्र प्रहरीले राष्ट्रिय झण्डा प्रयोगको अभ्यास गर्न लागेको हो । सबै सिमानाकामा राष्ट्रिय झण्डा राख्नका लागि आवश्यक गृहकार्य थालिएको सशस्त्र प्रहरीको ४४ नम्बर गणका गणपति एसपी हर्कराज पन्तले बताउनुभयो ।
लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको सितापुलसम्मका सबै नाकाहरुमा राष्ट्रिय भण्डा गाड्न सशस्त्र प्रहरीले आन्तरिक तयारी गरिसकेको छ । सशस्त्र प्रहरी वलको हेडक्वाटरका साथै गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबाट समेत यसबारे सहमति प्राप्त भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
महाकाली नदीमा बनाइएका झोलुंगेपुलहरुले नेपाल र भारतको सिमानाका जोडेका छन् । लाली, बाकु, जोलजिवि, दत्तु, खलंगा, बडुगाउँ, तिगरम, मलघट्टे र मालमा झोलुंगे पुल बनाइएका छन् । व्यासको सितापुलमा भने काठेपुलले दुइ देशको सिमानाका जोडेको छ ।
तिगरमबाहेक सबै सिमानाकामा सशस्त्र प्रहरीको दैनिक उपस्थिति र निगरानी हुँदैआएको छ । एक–दुइ हप्ताभित्रै सबै नाकामा राष्ट्रिय झण्डा राख्ने कार्य थालिने सशस्त्र प्रहरीले जनाएको छ ।
राष्ट्रिय झण्डाको नियमित र व्यवस्थित प्रयोग गर्नेबारे मातहतका सबै युनिटहरुलाई निर्देशन दिइएको गणपति पन्तले जानकारी दिनुभयो । हाल दार्चुला जिल्लाभरी एक दर्जन स्थानमा सशस्त्र प्रहरीको उपस्थिति छ । सदरमुकाम खलंगामा ४४ नम्बर हेडक्वाटर छ भने व्यासको छाङरुमा ५० नम्बर गुल्म तथा जोलजिविमा प्रस्तावित सिमा सुरक्षा गुल्म रहेको छ । बलाँचमा सुरक्षा वेश राखिएको छ ।
तिंकर, दुम्लिङ, सुन्सेरा, दत्तु र लालीमा विओपी छन् भने भारतसंग सिमा जोडिएका माल, बडुगाउ र बाकुमा फरवार्ड पोष्ट राखिएका छन् । सशस्त्र प्रहरीको गण, गुल्म र विओपी रहेको सबै स्थानमा नियमित रुपमा राष्ट्रिय झण्डा गाड्ने अभ्यास यसअघिदेखि नै हुँदैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here