त्रिदेशीय सिमाक्षेत्रमा सेनाको गस्ती

0
76

दार्चुला ।
नेपाल, भारत र चीनको त्रिदेशीय सिमाक्षेत्रमा नेपाली सेनाले गस्ती गरेको छ । हिमाल दर्शन अपरेशनअन्तर्गत हातहतियारसहित सुसज्जित फौजले व्यास गाउँपालिकाको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा तीन हप्ता लामो गस्ती सञ्चालन गरेको हो ।
सदरमुकाम खलंगास्थित सेनाको ब्यारेकबाट चार दर्जनभन्दा ठूलो संख्याको सैन्य टोलीले सिमाक्षेत्रमा गस्ती गरेको सैनिक स्रोतले बतायो । खलंगास्थित गुरु गोरख गुल्मबाट सहसेनानीको कमाण्डमा सेनाको टोली सिमाक्षेत्रमा चैत्र २० गते निस्किएको थियो । व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेको छाङरु र तिंकर गाउँसम्म पुगेर सेनाको टोली वैशाख ९ गते खलंगा फर्किएको छ ।
हातहतियार र बन्दोवस्तीका सामानसहित सेनाको टोलीले हिमाल दर्शन अपरेशन सञ्चालन गरेको जिल्लास्थित सुरक्षास्रोतले बतायो । प्रत्येक वर्ष चैत्र–वैशाखमा सेनाले हिमाल दर्शन अपरेशनअन्तर्गत अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा लामो गस्ती (लङ पेट्रोलिङ) गर्दैआएको छ ।
विगतका वर्षहरुदेखि खलंगाबाट महाकाली नदीको किनारैकिनार भएर छाङरुसम्म र छाङरुदेखि तिंकर खोलाको किनारैकिनार भएर तिंकर भञ्ज्याङसम्म सेनाले गस्ती गर्दैआएको छ । तिंकर भञ्ज्याङस्थित नेपाल र चीनको सिमाना छुट्याउने १ नम्बर पिलरसम्म सेनाको टोलीले गस्ती गर्ने गरेकोमा यो वर्ष भने हिमपातका कारण तिंकर गाउँको छियालेकबाट सैनिक टोली फर्किएको छ । ‘छियालेकभन्दा माथि १ नम्बर पिलरसम्मको क्षेत्रमा हिउँ नपग्लिएको र मौसम खराब भएकाले सैनिक टोली छियालेकबाट फर्किएको हो’ जिल्लास्थित सुरक्षास्रोतले भन्यो ।
सेनाको टोलीले खलंगाबाटै पैदल गस्ती गर्दैआएको छ । व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्मको ४३ किलोमिटर लामो सडकमा यातायात सञ्चालन भए पनि सेनाको टोलीले पैदल गस्ती गरेको हो । सिमाक्षेत्रमा सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सुरक्षा उपस्थिति र नियन्त्रण देखाउने उद्देश्यले हिमाल दर्शन अपरेशन सञ्चालन हुँदैआएको छ ।
‘विभिन्न स्रोत र संयन्त्रमार्फत सिमाक्षेत्रको अवस्था र वस्तुस्थितिबारे जानकारी संकलन भइरहे पनि वर्षमा एक पटक लामो गस्ती परिचालनको अभ्यास पनि हुँदैआएको छ’ स्रोतको भनाई छ । चैत्र २० गते खलंगाबाट हिडेको सैनिक टोली २६ गते बेलुकी छाङरु पुगेको थियो । छाङरुको गागास्थित सशस्त्र प्रहरीको निर्माणाधिन गुल्म ब्यारेक भवनमा बसेर भोलिपल्ट चैत्र २७ गते सेनाको टोली तिंकरतर्फ गएको थियो ।
तिंकर गाउँभन्दा दुई किलोमिटर दूरीमा रहेको छियालेक क्षेत्रमा सशस्त्र प्रहरीको विओपी भवनमा एक रात बिताएर सेनाको टोली भोलिपल्ट छाङरु फर्किएको थियो । सेनाको टोलीले अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा अपरेशन हिमाल दर्शन सञ्चालन गरिरहदा सेनाका वलाध्यक्ष रथी अशोकराज सिग्देलले हेलिकोप्टरमार्फत व्यासको छाङरुसम्म भ्रमण गरेका छन् । सिग्देल केही महिनापछि सेनाको प्रधानसेनापति हुने लाइनमा छन् ।
अपरेशन हिमाल दर्शनको निरीक्षणका लागि चैत्र २८ गते हेलिकोप्टरमार्फत वलाध्यक्ष रथी सिग्देल काठमाण्डौंबाट व्यासको छाङरु पुगेका थिए । सेनाको हेलिकोप्टर छाङरु पुग्दा सैनिक टोली तिंकरतर्फ रहेको थियो । एक्कासी मौसम खराब हुन थालेपछि १० मिनटमै सेनाको हेलिकोप्टर छाङरुबाट दिपायलतर्फ फर्किएको थियो । भोलिपल्ट चैत्र २९ गते दोस्रोपटक हेलिकोप्टर छाङरु पुगेको स्रोतले बतायो । सैनिक टोलीलाई रथी सिग्देलले छाङरुमा निरीक्षण गर्दै निर्देशन समेत दिएका थिए । करिब एक घण्टाको बसाइपछि सेनाको हेलिकोप्टर छाङरुबाट फर्किएको थियो भने सेनाको टोली महाकाली नदीको किनारैकिनार भएर खलंगातर्फ फर्किको थियो ।
नेपाली सेनाका दोस्रो वरियतामा रहेका रथी सिग्देलले व्यास गाउँपालिकाको केन्द्र सुन्सेरास्थित दार्चुला–टिंकर सडक आयोजना हेडक्वाटरको पनि निरीक्षण गरेका छन् । सडक निर्माणको अवस्था, उपलब्धि र चुनौतीबारे रथी सिग्देलले बिफ्रिङ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here