बैठकसंगै खेलकुदबाट पनि समन्वय बढाउदै एपिएफ–एसएसवी

0
41

दार्चुला ।
नेपाल र भारतको सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी वल र एसएसवीबीच नियमित समन्वय बैठकसंगै मैत्रीपूर्ण खेलकुद गतिविधि पनि हुन थालेका छन् । दुबैतर्फका सुरक्षा वलले आपसी सम्पर्क र समन्वय बढाउन भेटघाट र बैठकसंगै खेलकुदका क्रियाकलाप पनि गर्दैछन् ।
दुइ देशका सुरक्षा निकायहरुबीच नियमित सम्पर्क र समन्वय हुँदैआएको छ । सिमाक्षेत्रमा नागरिकको आवागमन व्यवस्थित बनाउन र गैरकानुनी कार्यहरु नियन्त्रण गर्न आपसी समन्वयमा दुबैतर्फ जोड दिइएको छ । स्थानीय प्रशासनको नेतृत्वमा हरेक छ–छ महिनामा हुने सिमा समन्वय बैठकमा सुरक्षा अधिकारीहरुको सहभागिता हुन्छ भने दुबैतर्फका सुरक्षा अधिकारीहरुबीच छुट्टै समन्वय बैठक पनि आयोजना गरिदै आएको छ ।
वैशाख १७ गते भारतको जोलजिविमा एसएसवी र सशस्त्र प्रहरीका अधिकारीहरुबीच समन्वय बैठक बसेको छ । उक्त बैठकमा नेपाल प्रहरीको पनि सहभागिता रहेको छ । सिमाक्षेत्रमा सञ्चालित सबैजसो सुरक्षा पोष्ट र विओपीका प्रमुखहरुको समेत बैठकमा सहभागिता हुने गरेको सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति एवं एसपी हर्कराज पन्तले बताउनुभयो ।
बैठकमा सिमाक्षेत्रको शान्ति सुरक्षा र आपसी समन्वय बढाउनेबारे छलफल हुने गरेको छ । पिथौरागढस्थित एसएसवीको १४औं बाहिनी र डीडीहाटमा रहेको ११औं बाहिनीबाट बैठकमा कमाण्डरसहितका सुरक्षा अधिकारी सहभागि थिए । दुई देश जोड्ने सबैजसो सिमानाकामा दुबैतर्फका सुरक्षाकर्मीबीच नियमित भेटघाट, छलफल र समन्वय भइरहेको गणपति पन्तले बताउनुभयो ।
दुइ देशका सुरक्षा निकायहरुबीच समन्वय र मित्रता बढाउन रचनात्मक क्रियाकलापहरु पनि आयोजना गरिदैआएका छन् । राष्ट्रिय दिवस, स्थापना दिवस जस्ता महत्वपूर्ण कार्यक्रममा शुभकामना आदानप्रदान गर्नेदेखि नियमित मोबाइल सम्पर्क, भेटघाट र औपचारिक बैठकसम्मका कार्य दुबैतर्फका सुरक्षा निकायले गरिरहेका छन् ।
दुबैतर्फका नागरिकको जीवन सहज बनाउन र शान्तिसुरक्षाको प्रत्याभूति दिन आफुहरु सक्रिय रहेको गणपति पन्तले बताउनुभयो । आपसी हित र सरोकारका विषयमा सम्पर्क र समन्वय भइरहेको उहाँले बताउनुभयो ।
वैशाख १५ गते मात्रै सशस्त्र सिमा वल (एसएसवी)को आयोजनामा धारचुला तहसिलअन्तर्गतको गोठी सुरक्षा क्याम्पमा दुई संगठनबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सञ्चालन गरिएको छ । एसएसवीका पूर्व अधिकृत स्वर्गिय चारुचन्द्र पाठकको स्मृतिमा भलिवल प्रतियोगिता सञ्चालन गरिएको हो । मैत्रीपूर्ण भलिवल प्रतियोगितामा सशस्त्र प्रहरीले एसएसवीको टोलीमाथि २–१ को सेटले जित हासिल गरेको छ ।
चार दिनअघि मात्रै धारचुला तहसिल अन्तर्गतको गब्र्याङमा पनि एसएसवी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । एसएसवीको निमन्त्रणामा सशस्त्र प्रहरीको टोलीले मैत्रीपूर्ण भलिवल खेलमा सहभागिता जनाएको व्यासको छाङरुस्थित ५० नम्बर गुल्मका गुल्मपति एवं डिएसपी वीरसिंह धामीले बताउनुभयो ।
व्यासको सितापुल छेउमा रहेको गब्र्याङस्थित एसएसवीको विओपीमा भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । दुबै देशका सुरक्षा निकायबीचको नियमित सम्पर्क, समन्वय र मैत्रीपूर्ण गतिविधिले आपसी सहयोग र मित्रता बढ्ने सुरक्षा अधिकारीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here