पुलछेउको तटबन्ध संरचनाबारे नाजवाफ देखिए भारतीय अधिकारीहरु

0
235

दार्चुला, माघ २६ गते ।
पूर्वसहमतिअनुसार भारतीय पक्षले समयमै महाकाली नदीमा थुप्रिएको ढुंगामाटो हटाउने कार्यमा प्रगति नदेखिएपछि नेपाली अधिकारीहरुले भारतीय पक्षसंग छलफल गर्ने निस्कर्ष निकाले । बुधवार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहसहितका अधिकारीहरुले यसबारे आन्तरिक छलफल र समीक्षा गर्दै तत्काल भारतीय पक्षसंग छलफल गर्ने टुंगो लगाएका थिए । धारचुलाका एसडिएम दिवेश शासनीलाई मोबाइल सम्पर्क गरी भोलिपल्ट विहिवार नै संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने टुंगो लगाइयो ।
विहिवार मध्यान्हतिर दुइ देशका अधिकारीहरुले भारततर्फ निर्माणाधिन तटबन्ध संरचना, नदी किनारमा थुप्रिएको ढुंगामाटो र नदी किनार क्षेत्रको अवस्थाबारे संगसंगै अवलोकन गरे, छलफल गरे । विगतमा भएको सहमतिअनुसार भएको कार्यप्रगतिको विषय पनि उठ्यो । आ–आफ्ना सरोकारका जिज्ञासा र जवाफ दुबै पक्षले हिड्दाहिड्दै र उभिएकै अवस्थामा प्रस्तुत गरे ।
पूर्वसहमतिअनुसार दुबैतर्फ नदी किनारमा थुप्रिएको ढुंगामाटो एक हप्ताभित्र हटाउने नयाँ सहमतिको निस्कर्ष निकालियो । घट्टेखोला क्षेत्रमा भारततर्फको तटबन्ध निर्माणका लागि नदीको पानी नेपालतर्फ डाइभर्सन गर्न तारजाली भरिरहेको र ४० मिटरभन्दा बढी नदीको डाइभर्सन नेपालतर्फको भइरहेको दृश्य पनि सबैले देखे । डाइभर्सनमाथि निर्माण सामग्री ढुवानी गर्ने गाडी र मेसिनहरु गुड्ने अस्थायी सर्भिस रोड बनाइएको छ । भारतीय पक्षले सुरुमा १५ मिटर नदी डाइभर्सन गर्न प्रस्ताव गरेकोमा अहिले ४० मिटरसम्म नदी डाइभर्सन भइसकेको प्रसंग पनि छलफलको क्रममा निस्कियो ।
महाकालीको डाइभर्सन र नदी किनारमा थुप्रिएका ढुंगामाटो हटाउने विषयमा फेरि एकपटक स्थलगत भ्रमण गरी छलफल गरिएको छ र नयाँ सहमति गरिएको छ । तर, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले एउटा गम्भीर प्राविधिक प्रश्न भारतीय पक्षसंग तेस्र्याएका छन् ।
भारततर्फको पुलछेउमा निर्माण भइरहेको तटबन्धको पक्की संरचना दुई देशका प्राविधिकबीच भएको पूर्व छलफल, सहमति र डिजाइनविपरित गरिएकोमा आयोजना प्रमुखले सबैको ध्यानाकर्षण गराउनुभयो । भारतीय पक्षले यसअघि नै उपलब्ध गराएको ड्रइङ र नक्सा देखाउदै आयोजना प्रमुख साहले प्राविधिक मापदण्डविपरित पुलछेउमा तटबन्धको संरचना निर्माण भइरहेको बताउनुभयो ।
भारततर्फको पुलछेउमा तल र माथि दुबैतर्फ तटबन्धको संरचना बनाइदा पुलको एबुटमेन्टलाई समेत ढाकेर बनाएकोमा पनि आयोजना प्रमुखले भारतीय पक्षलाई प्रश्न गरे । प्राविधिक रुपमा अनुपयुक्त संरचना निर्माण गरेको भन्दै आयोजना प्रमुख साहले नदीको वहाव नेपालतर्फ फर्किने जोखिम समेत औल्याउनुभयो ।
प्राविधिक तर्क र भारतीय पक्षले उपलब्ध गराएको नक्सासमेत देखाएर आयोजना प्रमुखले प्रश्न गर्दा भारतीय अधिकारीहरु भने अनुत्तरित देखिए । सुरुमा सिँचाई विभागका इन्जिनियरले नक्साको जस्तै संरचना हुबहु बन्न नसक्ने, केही इन्च तलमाथि त भइहाल्छ भन्नुभयो । तर, आयोजना प्रमुख साहले पुलको माथि (उत्तरतर्फ)को संरचना एबुटमेन्टभन्दा ८–१० मिटर अगाडि नदीतर्फ बनाइएको तथ्य देखाउनुभयो । कर्भ आकारमा तटबन्धको संरचना बनाइदा नदीको पानी ठोक्किएर नेपालतर्फ फर्किने र जोखिम बढ्ने आयोजना प्रमुख साहको तर्क थियो ।
पुलको तल (दक्षिणतर्फ)को तटबन्ध संरचना पनि नदीको किनारभन्दा धेरै अगाडि सरेर बनाइएको नेपाली पक्षको भनाई छ । ‘हामीले सुरुदेखि पुलछेउको तटबन्ध संरचना निर्माणबारे चाँसो राख्दैआएका थियौं, हामीलाई आरसिसि संरचना मात्र बनाउने जानकारी दिइएको थियो तर अहिले प्राविधिक रुपले अनुपयुक्त र नदीको वहाव अवरुद्ध हुनेगरी संरचना बनाइदैछ’ दुबै देशका अधिकारीहरुको सामुन्ने आयोजना प्रमुख साहले भन्नुभयो ।
आयोजना प्रमुखको प्रश्नपछि भारतको सिँचाई विभागका इन्जिनियर मौन बने, निर्माण कम्पनीका इन्जिनियरले पनि कुनै जवाफ दिन सकेनन् । लगत्तै एसडिएम दिवेश शासनीले ‘अब के गर्न सकिन्छ त’ भन्दै समाधानको उपाय सोध्नुभयो ।
पुलछेउको दक्षिणतर्फ संरचना निर्माण नै भइसकेको र उत्तरतर्फ आधाभन्दा बढी संरचना निर्माण भइसकेको अवस्थामा नेपाली पक्षबाट केही उपाय दिनुको कुनै अर्थ थिएन । पूर्वजानकारीविपरित र प्राविधिक मापदण्डविपरित संरचना बनाइएकोमा नेपाली पक्षले प्रश्न उठायो ।
‘हेर्दा कसैलाई सामान्य जस्तो देखिन सक्छ तर नदीको वहाव नेपालतर्फ फर्किने जोखिम यो संरचनाले बढाएको छ’ आयोजना प्रमुख साहको भनाई छ । प्राविधिक आखाले देखिएको समस्या आफुले औल्याइ दिएको उहाँले बताउनुभयो । ‘अब समाधान कसरी हुन्छ, मलाई थाहा छैन, हामी यसबारे माथिल्लो निकायमा पनि जानकारी गराउछौं’ आयोजना प्रमुख साहले भन्नुभयो ।
नेपाली पक्षको प्रश्नबारे अनुत्तरित बनेपछि भारतीय पक्षले एक हप्ताभित्र ढुंगामाटो हटाउने सहमति दोहर्याउदै पुलछेउबाट नेपाली पक्षलाई विदाई गर्यो । लगत्तै धारचुलाका एसडिएम दिवेश शासनीले सिँचाई विभागका इन्जिनियर र निर्माण व्यवसायीसंग पुलछेउको संरचना निर्माणबारे थप छलफल गरेका थिए । नेपाली टोली नेपाल फर्किएपछि पनि भारतीय टोली पुलछेउको संरचनाबारे स्थलगत अवलोकन र छलफल गरिरहेको देखिन्थ्यो ।
भारतीय तटबन्ध निर्माणबारे सुरुदेखि आवाज उठेकोमा यसबारे केन्द्रस्तरबाटै प्राविधिकसहितको टोली पठाएर छलफल गर्न र समाधान खोज्न आफुले माग गर्दैआएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताउनुहुन्छ । तर, प्रजिअ उपाध्यायको मागअनुसार सरकारले केन्द्रबाट अहिलेसम्म टोली पठाएको छैन । जिल्ला प्रशासन कार्यालयमार्फत नै भारतीय पक्षसंग समन्वय गर्न गृह मन्त्रालयले निर्देशन दिदैआएको छ ।