पुलसंगै दुबैतर्फको सुरक्षा पोष्ट र बाटोसमेत निर्माण

0
262

दार्चुला, माघ २७ गते ।
महाकाली नदीमा नेपाल–भारत जोड्ने दुइटा झोलुंगेपुल निर्माण सम्पन्न भएका छन् । निर्माण भइसकेका पुलहरुको केही दिनभित्रै उद्घाटन गर्ने गृहकार्य पनि भइरहेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ माल र वडा नम्बर ४ सुन्सेरा जोड्ने यी पुलहरुको निर्माण नेपाल सरकारले गरेको हो ।
पुल निर्माणसंगै नेपाल र भारत दुबैतर्फको सुरक्षा पोष्ट र बाटो निर्माण समेत नेपाली पक्षले गरिदिएको छ । १ सय ४० मिटर लामो माल गाउँ जोड्ने पुलको लागत १ करोड ३३ लाख रुपैयाँ रहेको पुल निर्माणमा संलग्न स्थानीय निर्माण व्यवसायी देवदत्त भट्टले बताउनुभयो । पुलको दुबैतर्फ सुरक्षाकर्मीका लागि इन्ट्री पोष्ट, गार्डरुम, भान्सा कोठा र शौचालय समेत निर्माण गरिएको उहाँले बताउनुभयो ।
सुरुको ठेक्का सम्झौतामा १ सय ३४ घनमिटर पर्खाल निर्माणको कार्य थपिएको निर्माण व्यवसायी भट्टले बताउनुभयो । ‘माल जोड्ने पुलको भारततर्फ गस्कोक्षेत्रमा ४६ घनमिटरको पर्खालको काम गरिएको छ’ उहाँले भन्नुभयो । बाँकी पर्खालको काम सुन्सेरा जोड्ने मलघट्टे पुलको भारततर्फको क्षेत्रमा गरिएको उहाँले बताउनुभयो ।
मलघट्टे पुलको लम्बाई १ सय २० मिटर छ भने लागत १ करोड २० लाख रहेको व्यवसायी भट्टले बताउनुभयो । भारततर्फ गार्डरुम र इन्ट्री पोष्टको वरिपरी रेलिङ निर्माण र मेसिनरी पर्खाल बनाउन एसएसवीले आग्रह गरे पनि ठेक्का सम्झौताअनुसारको काम सम्पन्न भइसकेको भट्टले बताउनुभयो ।
पुलको दुबैतर्फ सुरक्षाकर्मी बस्ने र डिउटी गर्ने पोष्टको संरचना पुल निर्माणसंगै गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
मलघट्टे पुलको भारततर्फ व्यास गाउँपालिकाले ३ लाख ७४ हजार रुपैयाँ खर्च गरेर बाटो निर्माण समेत गरिदिएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘नेपालतर्फको बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट बनाउन लगाएका छौ, मालगाउँको पुलसम्म जानेबाटो पनि हामीले बनाउदैछौ’ अध्यक्ष धामीले भन्नुभयो । मालगाउँको पुलको भारततर्फ रहेको गस्कोक्षेत्रमा पनि भारततर्फबाट बाटो बनाइएको छ ।