पिथौरागढमा हवाइसेवा सुरु

0
283

दार्चुला, माघ १६ गते ।
भारतको पिथौरागढस्थित नैनीसैनी एयरपोर्टबाट हवाइसेवा सुरु गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मंगलवार हवाइसेवाको शुभारम्भ गरेका छन् । सन् २०१९ मा सुरु भएर केही महिनामै बन्द भएको पिथौरागढको हवाइसेवा पुनः सुचारु गरिएको हो ।
पिथौरागढबाट देहरादूनसम्म १९ सिट क्षमताको विमानबाट हवाइसेवा सञ्चालन सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फ्लाइविङ्गस् कम्पनीलाई हवाइसेवा सञ्चालनको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री धामी आफैले देहरादूनदेखि पिथौरागढसम्मको हवाइयात्रा गरेर सेवा सञ्चालनको शुभारम्भ गरेका हुन् । पिथौरागढमा हवाइसेवा शुभारम्भ गर्दै मुख्यमन्त्री धामी मंगलवार नै विमानबाट देहरादून फर्किएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पिथौरागढदेखि देहरादूनसम्म हरेक हप्ता ३ वटा उडान हुने तालिका छ । सोमबार, मंगलवार र शुक्रवार उडान हुने तालिका बनाइएको छ । यात्रुहरुको चाप बढेमा हप्तामा ५ दिन र त्यसपछि दैनिक रुपमा पनि हवाइसेवा सञ्चालन गरिने मुख्यमन्त्री धामीले बताएका छन् ।
पिथौरागढसम्मको हवाइसेवा सञ्चालन प्रधानमन्त्री मोदीको प्रेरणा र नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाको सहयोगले सम्भव भएकोमा मुख्यमन्त्री धामीले धन्यवाद दिएका छन् । पिथौरागढसम्मको हवाइसेवाले सिमाक्षेत्रका जनतालाई सुविधा पुग्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि ठूलो मद्दत पुग्ने उहाँले बताउनुभयो । पिथौरागढसम्मको हवाइसेवाले आदि कैलाश दर्शन र जागेश्वर धामलगायतका तिर्थस्थल दर्शनका लागि पर्यटन आवागमनमा वृद्धि हुने मुख्यमन्त्री धामीको भनाई छ ।
सिमाक्षेत्रको जिल्लाका वासिन्दाका लागि हवाइसेवा विस्तार गर्न आफुले थप पहल गर्ने पनि मुख्यमन्त्री धामीको भनाई छ । निकट भविष्यमा पिथौरागढदेखि पन्तनगर र दिल्लीसम्म पनि हवाइसेवा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
पिथौरागढदेखि देहरादूनसम्मको सडकयात्रामा १७ घण्टा लाग्ने गरेकोमा चारधाम सडक निर्माणपछि ११ घण्टामा झरेको मुख्यमन्त्री धामीको भनाई छ । देहरादून–पिथौरागढको हवाइ सम्पर्कले दुई शहरको यात्रा एक घण्टामा गर्न सकिने अवसर मिलेको उहाँले बताउनुभयो ।