२५ दिनभित्र खलंगा खानेपानीका सबै काम पूरा गरिने

0
88

दार्चुला, माघ २० गते ।
दार्चुला सदरमुकाममा सञ्चालन भइरहेको खलंगा खानेपानी, ढल तथा सरसफाई आयोजनाको सबै निर्माण कार्य २५ दिनभित्र गरिसक्ने सहमति गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रवार बसेको सरोकारवालाहरुको बैठकले यसबारे सर्वसम्मत निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरन जोशीको अध्यक्षतामा भएको बैठकमा खानेपानी उपभोक्ता समिति, निर्माण कम्पनी, परामर्शदातासहित सरोकारवाला पक्षहरुको सहभागिता रहेको छ । १० महिनाअघि पहिलो चरणको निर्माण कार्य सम्पन्न भइसकेको खलंगा खानेपानीमा उपभोक्ताहरुले धारामा नियमित पानी नपाएको र निर्माण कार्य पूरा नभएकोमा गुनासो उठेको छ ।
स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा गत पुष २६ गते पनि सरोकारवालाहरुबीच बैठक राखिएको थियो । उक्त बैठकले सम्पन्न गर्न बाँकी कार्यहरु तत्काल सुचारु गर्न निर्माण कम्पनीलाई आग्रह गरेको थियो । १५ दिनभित्र सरोकारवाला सबै पक्षको सहभागितामा बैठक राखेर गहन छलफल गर्ने र निर्माण सम्पन्न हुन बाँकी कामहरु पूरा नभएसम्म निर्माण कम्पनीलाई कुनै पनि विल भुक्तानी नगर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।
पुष २६ गतेको बैठकको निस्कर्षअनुसार शुक्रवार दोस्रो पटक बैठक राखिएको प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताउनुभयो । शुक्रवारको बैठकले खलंगा खानेपानी, ढल तथा सरसफाई आयोजनाअन्तर्गतका बाँकी रहेका कामहरु आशिष सिएबी ग्वाल्लेक जेभी निर्माण कम्पनीले २५ दिनभित्र निर्माण सम्पन्न गरिसक्ने निर्णय गरेको छ । आयोजना निर्माणका लागि भएको ठेक्का सम्झौताअनुसारका बाँकी सम्पूर्ण कामहरु निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने बैठकको निस्कर्ष छ ।
निर्माण कम्पनीले केही महत्वपूर्ण काम सम्पन्न गर्न बाँकी रहेकोले खलंगा खानेपानी, ढल तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले बताउनुभयो । ‘निर्माण कम्पनीले आफ्नो जिम्मेवारीको सबै काम पूरा गरेपछि खानेपानीको नियमित सञ्चालन समितिमार्फत गरिने’ उहाँले बताउनुभयो ।
शुक्रवारको बैठकले उपभोक्ताहरुको धारामा नियमित पानी आउने अवस्थाको सुनिश्चितता हुनुपर्ने ठहर पनि गरेको छ । ‘उपभोक्ताको धारामा नियमित पानी आउने सुनिश्चितता गर्ने र पानीको गुणस्तरमा सुधार गर्ने’ निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बैठकमा महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशी, सचिव खडक सिंह धामी, निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर गोविन्दवहादुर केसी, परामर्शदार्ता कम्पनीका प्रतिनिधि सिताराम माझी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२९ करोड ९९ लाख ५९ हजार १ सय ८९ रुपैयाँमा खलंगा खानेपानी ढल तथा सरसफाई आयोजना निर्माणको ठेक्का सम्मmौता गरिएको थियो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०२२ को अप्रिलसम्ममा निर्माण कार्य नसकिएपछि दुईपटक म्याद थप गरी १० महिनाको अवधि थपिएको थियो । थपिएको अवधिमा पनि निर्माण कम्पनीले सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरेपछि सरोकारवालाहरुको बैठकले २५ दिनको म्याद दिएको हो ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ खलंगा क्षेत्रमा खानेपानीको सहज आपुर्ति गर्न संघीय सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा खानेपानी तथा ढल निकास विभागमार्फत २०७७ सालमा आयोजना सुरु गरेको थियो । ३० करोड रुपैयाँ बजेट खर्च भइरहेको आयोजना निर्माण अलपत्र परेको र उपभोक्ताहरुसम्म नियमित खानेपानीको आपुर्ति हुन नसकेकोमा प्रश्न उठेको छ । खलगा क्षेत्रका २ हजार २ सय ८६ उपभोक्ताहरुको धारामा २४ घण्टा खानेपानीको आपुर्ति गर्नेगरी आयोजनाको निर्माण गरिए पनि हाल दैनिक २ घण्टा मात्रै पानी दिइदै आएको छ ।