पर्याप्त बजेट विनियोजन गराएर पाँच वर्षभित्र टिंकर सडक निर्माण सम्पन्न गराउन केन्द्रीत छुँ– बडू

0
78

दार्चुला, वैशाख २० गते ।
पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गराएर पाँच वर्षभित्रै निर्माण सम्पन्न गराउन आफु केन्द्रीत भएको बताएका छन् । रणनीतिक महत्वको सडक भएकोले सरकारले बजेट विनियोजनमा उच्च प्राथमिकता दिनुपर्ने आवाज आफुले निरन्तर उठाइरहेको नेता बडूले बताउनुभयो ।
सिद्धान्ततः टिंकर सडकलाई सरकारले उच्च प्राथमिकतामा राखे पनि पर्याप्त बजेट विनियोजन र स्पष्ट कार्ययोजनाको अभाव रहेको उहाँले बताउनुभयो । ‘सेनालाई सडक निर्माणको जिम्मा दिएको चार वर्ष भइसकेको छ, अपेक्षित प्रगति भने भएको छैन’ उहाँले भन्नुभयो । पर्याप्त बजेट विनियोजन हुन नसकेको अवस्थामा सडक निर्माणमा भौतिक अवस्था पनि सन्तोषजनक नभएको उहाँले बताउनुभयो ।
सुरुमा नेपाली सेनाले १० वर्षमा सडक निर्माण गर्ने कार्ययोजना बनाएकोमा पछिल्लो समय ५ वर्षभित्रै सडक निर्माण गरिसक्ने गरी कार्ययोजना परिमार्जन गरिएको नेता बडूले बताउनुभयो । ‘विभागिय मन्त्री, सचिव, महानिर्देशक र नेपाली सेनाका अधिकारीहरुसंगको छलफलबाट ५ वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने समयसिमा टुंगो लगाएका छौं’ उहाँले भन्नुभयो ।
आफुले व्यक्तिगत भेटघाट र छलफलदेखि सामूहिक रुपमा संसद र संसदीय समितिमा पनि टिंकर सडकको विषय बारम्बार उठाएको पूर्वमन्त्री एवं सांसद बडूको भनाई छ । ‘राज्य व्यवस्था समितिका सबैजसो बैठकमा टिंकर सडकको विषय उठाएर सबैको ध्यानाकर्षण गराएका छौं, यस विषयमा सबैेको गम्भीर ध्यानाकर्षण पनि भएको छ’ उहाँले भन्नुभयो ।
संसद र संसदीय समितिमा भएका छलफल र निर्णयका आधारमा पछिल्लो समय नेपाली सेनाले ५ वर्षभित्र सडक निर्माण गरिसक्ने गरी कार्ययोजना संसोधन गरेको जानकारी उहाँले दिनुभयो ।
सडक निर्माणका लागि ३ अर्ब ७४ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । चार वर्षको अवधिमा ५२ करोड रुपैयाँ खर्च भइरहेकोले बाँकी बजेट आगामी ५ वर्षभित्र व्यवस्थापन गरी सडक निर्माणको कार्ययोजना बनाइएको नेता बडूले जानकारी दिनुभयो ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले वैशाख ७ गतेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ३ अर्ब २२ करोड रुपैयाँसहितको संसोधित कार्ययोजना र बजेटको खाका तयार भएको जानकारी दिएका छन् ।
टिंकर सडक खण्डलाई छुट्टै आयोजना र बजेट शीर्षक राख्न आफुले पहल गरे पनि यो प्रयास अहिलेसम्म सफल हुन नसकेको नेता दिलेन्द्रप्रसाद बडूको भनाई छ । ‘पटक–पटकका भेटघाट र भ्रमणमा यसबारे छलफल गरी मन्त्री, सचिव, महानिर्देशक र नेपाली सेनाका उच्च अधिकारीहरुबीच छुट्टै आयोजना र बजेट शीर्षक निर्धारण गर्ने टुंगो लगाएका थियौं, तर सरकार परिवर्तनसंगै मन्त्री र सचिव फेरिएपछि यो विषय ओझेल परेको छ’ उहाँले भन्नुभयो ।
दार्चुलाबाट निर्वाचित सांसद बडू प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सदस्य छन् । गत पुष ५ मा तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सांसद बडूसहित मन्त्रालय सचिव, सहसचिवहरु र महानिर्देशक लगायतको टोलीले टिंकर सडकको निरीक्षण भ्रमण गरेको थियो ।
राज्यव्यवस्था समितिकै पहलमा वैशाख २३ गते पनि अर्को निरीक्षण भ्रमणको गृहकार्य भइरहेको छ । रक्षामन्त्रीसहित संसदीय टोली दार्चुला–टिंकरको भ्रमण आउन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
चार महिनापछि दोस्रो पटक टिंकर सडकमा उच्चस्तरीय निरीक्षण भ्रमण गरिए पनि बजेट थप्न र सडक निर्माण दु्रतगतिमा अघि बढाउन सकिएको छैन । सेनाले व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को दुम्लिङ र थिइसम्मको आधा दर्जन ठाउँमा सडक निर्माण कार्य गरिरहेको छ । ७९ किलोमिटर लामो सडकमध्ये चैत्र मसान्तसम्म १२ दशमलव ३२ किलोमिटर सडक निर्माण सम्पन्न भएको सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here