दुई लाखकाे सामान र दुई मान्छेसहित टेक्टर नियन्त्रणमा

0
857

दार्चुला, माघ १६ गते ।
दार्चुला प्रहरीले भन्सार छलेर ढुवानी हुँदै गरेकाे झण्डै दुई लाखकाे खाद्यान्न र दुइमान्छे सहित एउटा टेक्टर नियन्त्रणमा लिएको छ । खलंगाकाे बजार क्षेत्रबाट साेमबार साँझ टेक्टरमा बाेकिदै गरेको अवस्थामा सामानसहित दुइजना समातिएका हुन् ।
टेक्टरमा २५ किलाेग्रामका ९२ कट्ठा मसिनाे चामल र ३ कट्ठा चिनी ढुवानी भइरहेको थियाे । टेक्टर चालक उपेन्द्र सिंह धामी र सामानका मालिक विनाेद पार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ज्ञानेन्द्र वहादुर सिंहले बताउनुभयाे ।
चामल र चीनी टेक्टरमा ओसारपसार गर्ने चालक धामी दुहुँ गाउँपालिका–१ खर्राका र सामानका साहु पार्की महाकाली नगरपालिका वडा नम्बर ४ का वासिन्दा भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका वडा–४ बसपार्कबाट बजारतर्फ लग्दै गरेको अवस्थामा टेलिकम कार्यालय नजिककाे क्षेत्रबाट सामान, मान्छे र टेक्टर समातिएका हुन् ।
प्रहरीका अनुसार १ लाख ८४ हजार रूपैयाँ बराबरको अंगुरी चामल र १० हजार ५ सय रुपैयाँ बराबरको चिनी बरामद गरिकाे हाे । आवश्यक कारबाहिको लागि दार्चुला भन्सार कार्यालयलाई मंगलबार सामान, व्यक्ति र टेक्टर बुझाइएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयाे ।
बरामद गरिएको सामान र मान्छेमाथि अनुसन्धान भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । प्रारम्भिक अनुसन्धानपछि बरामद भएको सामन र टेक्टर लिलाम गरिने तथा पक्राउ परेका व्यक्तिलाई धराैटीमा छाेडिने उहाँले बताउनुभयो ।