तीन वर्षमा भन्सार महशुल दोब्बर वृद्धि

0
96

दार्चुला, माघ १६ गते ।
दार्चुला भन्सार कार्यालय स्थापना भएको तीन वर्षको अवधिमा भन्सार महशुल दोब्बर वृद्धि भएको छ । दार्चुला सदमुकाम खलंगामा रहेको छोटी भन्सार कार्यालयलाई २०७७ भदौ १ देखि मूल भन्सार कार्यालयमा स्तरोन्नती गरिएपछि भन्सार महशुलको अंक दोब्बरले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा १९ लाख ३६ हजारको लक्ष्य रहेकोमा २६ लाख ३० हजार ६ सय ५५ रुपैयाँ भन्सार राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । गत आर्थिक वर्ष २०७९÷८० मा १९ लाख ६८ हजार भन्सार राजश्व संकलनको लक्ष्य रहेकोमा दोब्बरभन्दा बढी अर्थात ४० लाख ८१ हजार ४ सय २ रुपैयाँ राजश्व संकलन गरिएको तथ्यांक छ ।
दार्चुला भन्सार कार्यालयमा चालु वर्ष ५० लाख ७० हजार रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य राखिएको छ । चालु वर्षको दोस्रो त्रैमासिकसम्मको समग्र अवधिमा ४ दशमलव ३३ प्रतिशत भन्सार राजश्व वृद्धि भएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । साउनदेखि पुषसम्म ६ महिनाको अवधिमा कुल २५ लाख २५ हजार रुपैयाँ भन्सार महशुल संकलनको लक्ष्य रहेकोमा २६ लाख ३४ हजार ४ सय ९४ रुपैयाँ संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
‘यो वर्ष भन्सार महशुल लक्ष्यको हाराहारीमा हुने अनुमान छ, विगतका दुई वर्षजस्तो लक्ष्यभन्दा दोब्बर भन्सार राजश्व संकलनको सम्भावना छैन’ कार्यालय प्रमुख शिवचन्द्र प्रसादले भन्नुभयो ।
दार्चुला भन्सार कार्यालय स्थापना भएपछि भन्सार महशुलको वृद्धि दोब्बर भए पनि भन्सार संकलनको दायरा फराकिलो हुन नसकेको कार्यालय प्रमुख प्रसादले बताउनुभयो । ‘भन्सार तिर्ने अभ्यास धेरै कम छ, धेरैजसोमा भन्सार तिर्ने इच्छा देखिदैन’ उहाँले भन्नुभयो ।
विगत दुई वर्षमा भन्सार महशुलको अंक दोब्बरले बढे पनि सबै कारोबार र सामान आयातबाट भन्सार महशुल संकलन हुन नसकेको कार्यालयको विश्लेषण छ । घरायशी उपभोगका लागि भन्दै दैनिक उपभोग्य सामानहरु भारतबाट ल्याइने गरेकोमा यथेष्ट मात्रामा भन्सार उठाउन नसकिएको कार्यालय प्रमुख प्रसादको भनाई छ । ‘घरायसी उपभोगका लागि ल्याइने सामान स्थानीय व्यापारी र विक्रेताले खरिद–विक्री गरिरहेका हुन्छन्’ उहाँले भन्नुभयो ।