दार्चुलामा चार महिनाको भन्सार संकलनको लक्ष्य अधुरो

0
295

दार्चुला, माघ १५ गते ।
दार्चुला भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा चार महिनामा भन्सार संकलनको लक्ष्य पूरा गर्न सकेको छैन । साउन र कार्तिक महिनामा मात्रै लक्ष्यभन्दा बढी भन्सार महशुल संकलन गरिएको छ ।
भदौ, असोज, मंसिर र पुष महिनाको भन्सार लक्ष्यअनुसार उठ्न नसकेको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । साउन महिनामा ३ लाख ४७ हजार रुपैयाँ भन्सार असुलको लक्ष्य रहेकोमा झण्डै दोब्बर अर्थात ६ लाख ७० हजार ४ सय ८१ रुपैयाँ संकलन भएको छ । कार्तिक महिनामा ४ लाख १२ हजार रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ४ लाख १३ हजार २ सय १ रुपैयाँ भन्सार महशुल संकलन भएको कार्यालयले जनाएको छ ।
भदौ महिनामा ४ लाख ३३ हजारको लक्ष्य रहेकोमा ४ लाख ६ हजार ७१ रुपैयाँ मात्रै भन्सार संकलन भएको छ । असोजमा ४ लाख ५४ हजार रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ४ लाख ४९ हजार १ सय ६८ रुपैयाँ भन्सार महशुल संकलन भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
मंसिरमा ४ लाख ४३ हजार लक्ष्य रहेकोमा ३ लाख ६८ हजार ९३ रुपैयाँ तथा पुषमा ४ लाख ३६ हजारको लक्ष्य रहेकोमा ३ लाख २७ हजार ४ सय ८० रुपैयाँ भन्सार महशुल संकलन भएको विवरण छ ।
चालु वर्षको दोस्रो त्रैमासिकसम्मको समग्र अवधिमा ४ दशमलव ३३ प्रतिशत भन्सार राजश्व वृद्धि भएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । साउनदेखि पुषसम्म ६ महिनाको अवधिमा कुल २५ लाख २५ हजार रुपैयाँ भन्सार महशुल संकलनको लक्ष्य रहेकोमा २६ लाख ३४ हजार ४ सय ९४ रुपैयाँ संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
साउन महिनामा मात्रै लक्ष्यभन्दा झण्डै दोब्बर अर्थात ९३ प्रतिशत बढी भन्सार महशुल संकलन भएकोले बाँकी अवधिमा न्युन भन्सार उठ्दा पनि दुई त्रैमासिक अवधिको लक्ष्य पूरा भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ । छ महिनाको अवधिमा लक्ष्यभन्दा १ लाख ९ हजार ४ सय ९४ रुपैयाँ बढी भन्सार महशुल संकलन गरिएको तथ्यांक छ ।
दुइ महिनाको भन्सार राजश्व संकलनको लक्ष्य पूरा भए पनि चार महिनाको संकलन ऋणात्मक रहेको छ । मंसिर महिनामा विवाहका नाममा भन्सार तिर्न आनाकानी गरिएकोले न्युन राजश्व संकलन भएको कार्यालय प्रमुख प्रसादको भनाई छ । ‘भारतबाट सामान ल्याउदा धेरैजसोले विवाहका लागि भन्दै सामान ल्याइएको भन्दै भन्सार तिर्न आनाकानी गर्छन्, मंसिरमा यस्तो प्रवृति बढी देखियो’ उहाँले भन्नुभयो ।
गत साउन महिनामा घर निर्माणमा प्रयोग गर्ने टायल र फिटिङ्सका सामान आयात भएकोले भन्सार राजश्व बढेको दार्चुला भन्सार कार्यालयले जनाएको छ । संकलन गरिएको सबै राजश्व सामान आयातबाट उठेको हो । दार्चुला भन्सार कार्यालयमा दैनिक उपभोग्य सामग्रीहरु बढी आयात हुने गर्छ । नेपालबाट भारततर्फ निर्यात भने हुने गरेको छैन । निर्यातमा एक रुपैयाँ पनि भन्सार राजश्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।
छ महिनाको अवधिमा भन्सार महशुल शीर्षकमा २० लाख ८७ हजार ६७ रुपैयाँ, भन्सार सम्बन्धि अन्य आय शीर्षकमा ७८ हजार २ सय ५१ रुपैयाँ र अन्तशुल्क आयातमा ९९ हजार ३ सय ९२ रुपैयाँ राजश्व संकलन गरिएको छ । यसैगरी मूल्य अभिवृद्धि करवाफत ३ लाख ६९ हजार ७ सय ८४ रुपैयाँ राजश्व संकलन गरिएको भन्सार कार्यालयको तथ्यांक छ ।
साउनमा लक्ष्यभन्दा ९३ प्रतिशत बढी राजश्व संकलन हुँदा भदौं महिनामा लक्ष्यको ९४ प्रतिशत मात्रै भन्सार उठेको छ । असोजमा ९९ प्रतिशत र कार्तिकमा सतप्रतिशत भन्सार राजश्व संकलन भएको छ । मंसिरमा ८३ प्रतिशत र पुष महिनामा सबैभन्दा न्युन ७५ प्रतिशत मात्रै भन्सार राजश्व संकलन भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
दार्चुला भन्सार कार्यालयमा चालु वर्ष ५० लाख ७० हजार रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य राखिएको छ । गतवर्ष १९ लाख ६८ हजार भन्सार राजश्व संकलनको लक्ष्य रहेकोमा दोब्बरभन्दा बढी अर्थात ४० लाख ८१ हजार ४ सय २ रुपैयाँ राजश्व संकलन गरिएको तथ्यांक छ । अघिल्लो वर्ष २०७८÷७९ मा १९ लाख ३६ हजारको लक्ष्य रहेकोमा २६ लाख ३० हजार ६ सय ५५ रुपैयाँ भन्सार राजश्व संकलन गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो ।