टिंकर सडक कछुवा गतिमा, छ महिनामा ७ सय २० मिटर सडक निर्माण

0
216

दार्चुला, माघ १४ गते ।
नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिंकर सडक कछुवा गतिमा निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको छ महिनामा जम्मा ७ सय २० मिटर सडक निर्माण गरिएको छ ।
नेपाली सेनाको हेडक्वाटरले साउनदेखि पुष मसान्तसम्मको अवधिमा ७ सय २० मिटर लामो सडकको नयाँ ट्रयाक निर्माण भएको जनाएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणअनुसार ४ सय ८० मिटर लामो सडकको स्तरोन्नती गरिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत तुषारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने सेनाको लक्ष्य छ ।
वडा नम्बर २ को क्षेत्रमा पर्ने फतङगाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङति र तम्बाकु भन्ने स्थानमा सडक निर्माणको कार्य भइरहेको नेपाली सेनाको दार्चुला–टिंकर सडक आयोजनाले जनाएको छ । प्रत्येक ठाउँमा एकजना नाइकेको नेतृत्वमा १० देखि १५ जना मजदूरले दैनिक सडक निर्माण गरिरहेका छन् ।
चालु आर्थिक वर्षमा सरकारले दार्चुला–टिंकर सडक निर्माणका लागि १४ करोड १९ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडकमध्ये गत वर्षसम्म साढे १० किलोमिटर सडकको ट्रयाक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नती गर्ने कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।
एक–दुइ महिनाभित्रै मालगाउँसम्म ट्याक्टर पुगाउने गरी सडक निर्माण कार्य भइरहेको दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख एवं प्रमुख सेनानी शिवकुमार केसीले बताउनुभयो । ‘नयाँ वर्षसम्म मालगाउँमा गाडी पुगाउने लक्ष्य छ, सम्भव भएसम्म आगामी असारमा दुम्लिङसम्म नै गाडी पुगाउनेगरी हामी काम गरिरहेका छौं’ उहाँले भन्नुभयो ।
भौगोलिक विकटता र चट्टानी भूभाग भएकोले सडक निर्माणमा बढी समय लागिरहेको सेनाले जनाएको छ । फतङगाड क्षेत्रमा दुइटा तथा दुम्लिङ र कोठधारमा एक÷एकवटा स्काइभेटर मेसिन सडक निर्माणमा प्रयोग भइरहेका छन् । श्रमिक टोली खटिएका नौवटै स्थानमा चट्टाउन फुटाउन जिलेटिन प्रयोग भइहेको र कम्प्रेसर मेसिन सबै ठाउँमा पुर्याइएको छ ।
कल्जुक्षेत्रमा भने कम्प्रेसर मेसिन पुगाउन सकिएको छैन । गतवर्ष कल्जुक्षेत्रमा हेलिकोप्टरमार्फत कम्प्रेसर मेसिन ढुवानीको प्रयास भए पनि हेलिकोप्टर ल्याण्ड गर्न सम्भव नभएपछि तम्बाकुक्षेत्रमा दुइटा कम्प्रेसर मेसिन राखिएका छन् ।
सेनाले सडक निर्माण सुरु गरेको तुषारपानीदेखि मालगाउँ साढे ३ किलोमिटर र दुम्लिङ गाउँ साढे १० किलोमिटर दूरीमा पर्छ । दुम्लिङभन्दा अगाडि आकतुङती र तम्बाकुसम्मको क्षेत्रमा पनि सडक निर्माण थालिएको सेनाले जनाएको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा भौतिक प्रगति न्युन देखिए पनि वार्षिक लक्ष्यअनुसार ३ किलोमिटर नयाँ सडक निर्माण र दुइ किलोमिटर सडकको स्तरोन्नती पूरा हुने सेनाका आयोजना प्रमुख केसीले बताउनुभयो ।
नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणका लागि व्यास गाउँपालिका केन्द्र सुन्सेरामा आयोजना कार्यालय र वडा नम्बर २ को दुम्लिङ र थिइक्षेत्रमा सैनिक क्याम्प राखेको छ । सडक निर्माण भइरहेको क्षेत्रमा जिलेटिन सहित निर्माण सामग्रीको व्यवस्थापनका साथै प्राविधिक अनुगमनको कार्य पनि सैनिक क्याम्पहरुबाट भइरहेको छ ।
टिंकर सडक निर्माण सुस्त भएको र पर्याप्त बजेट उपलब्ध नभएको विषय उठेपछि गत पुष ५ गते भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले टिंकर सडकको अनुगमन गरेको थियो । अनुगमनको क्रममा टिंकर सडक निर्माणलाई दु्रतगति दिन सेनालाई निर्देशन दिइएको छ भने सडक निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता पनि गरिएको छ । १० वर्षमा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सेनालाई छोटो अवधिमा निर्माण कार्य सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन पनि भनिएको छ ।
सिमाक्षेत्रका स्थानीय वासिन्दाको माग र आवश्यकता अनुसार भने सडक निर्माणले गति लिएको छैन । राजनीतिक नेतृत्व र उच्च सरकारी अधिकारीहरुले टिंकर सडकमा बजेट अभाव हुन नदिइने बताए पनि यो वर्ष बजेट थपिने सम्भावना देखिदैन । यो वर्षका लागि विनियोजित १४ करोड बजेट र वार्षिक लक्ष्यअनुसारको भौतिक प्रगति हुन नसकेपछि थप बजेटको आवश्यकता र सम्भावना नदेखिएको आयोजना स्रोतले बतायो ।
एक महिनाअघिको विभागिय मन्त्री नेतृत्वको अनुगमन भ्रमणका क्रममा सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले चालु वर्षको दोस्रो त्रैमासिक अवधिपछि सडक निर्माणमा बजेट थपिने बताएका थिए । तर सडक निर्माणमा छ महिनाको भौतिक प्रगति र सेनाले निर्धारण गरेको वार्षिक लक्ष्य हेर्दा तत्काल बजेट थपिने सम्भावना नरहेको आयोजना स्रोतले बतायो । ‘चालु वर्षका लागि सुरुमा विनियोजन गरिएको १४ करोड बजेटको आधारमा कार्ययोजना बनाएर सडक निर्माण भइरहेको छ, वार्षिक कार्ययोजनाअनुसार पूर्वविनियोजित बजेट मात्रै खर्च हुने अवस्था छ, थप बजेटको आवश्यकता र उपलब्धता हुनसक्ने अवस्था छैन’ आयोजना स्रोतको भनाइ छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङसम्म चाँडो सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको वडाअध्यक्ष धिरन सिंह बुढाथोकीको माग छ । दुम्लिङबाट सदरमुकाम खलंगा तथा गाउँपालिका र वडाका अन्य वस्तीसम्म आवतजावत गर्न महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता रहेकोले तत्कालै दुम्लिङसम्मको सडक निर्माण गरिनुपर्ने वडाअध्यक्ष बुढाथोकीको भनाई छ ।
स्थानीयवासिन्दाको मागअनुसार नेपाल सरकारले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुंगेपुल निर्माणको प्रस्ताव गरे पनि भारत सरकारले यसमा सहमति दिइसकेको छैन । एक दशकदेखि झोलुंगेपुल निर्माणको माग र आश राखे पनि अहिलेसम्म पूरा हुन नसकेको दुम्लिङका स्थानीय महेन्द्रसिंह बुढाथोकीको गुनासो छ ।
दुम्लिङसम्मको सडक ट्रयाक खुलाउन सकेमा खाद्यान्न ढुवानीका साथै स्थानीयलाई आवतजावतमा पनि सहजता हुनेछ । दुम्लिङबाट ५ किलोमिटरको दूरीमा मालगाउँ रहेको छ । मालगाउँको फेदमा महाकाली नदीमा नेपाल–भारत जोड्ने झोलुंगेपुल सञ्चालनमा छ । दुम्लिङ गाउँ सडक मार्गले जोडिदा गाउँपालिकाको केन्द्र सुन्सेरा तथा गाउँपालिकाका अन्य वडा र वस्तीसम्म पुग्नलाई नेपालकै मोटरबाटो प्रयोग हुनेछ ।