आठपटक भन्सारछलीका सामान बरामद तर सबै ‘बेवारिसे अवस्थामा’

0
228

दार्चुला, माघ १३ गते ।
चालु आर्थिक वर्षमा दार्चुलामा भन्सार छलेर नेपाल भित्रिएका सामान ८ पटक बरामद गरिएका छन् । तर आठैपटक सुरक्षाकर्मीले ‘बेवारिसे अवस्थामा’ सामान फेला परेको अभिलेख खडा गरिएको छ ।
भन्सार छलेर नेपाल ल्याइएका सामान बरामद गर्ने सुरक्षाकर्मीले ती सामान ओसारपोसार गर्ने मान्छे र सवारीसाधनलाई भने चिन्न र पक्राउ गर्न सकेका छैनन् । भन्सार छलेर बरामद गरिएका अधिकांश घटनामा नेपाल प्रहरी संलग्न छ ।
चालु आर्थिक वर्षमा हालसम्म भन्सार छलेर ल्याइएका सामान बरामदका ८ वटा मुद्दाहरु दार्चुला भन्सार कार्यालयमा दर्ता भएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । चारवटा मुद्दाहरुमा जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको टोलीले ‘बेवारिसे सामान बरामद गरेको’ अभिलेख छ । गत साउन २१ गते शंकरपुर प्रहरी चौकीले ४७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको घोडाविडी बरामद गरेकोमा मुचुल्का खडा गरी नष्ट गरिएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
भदौ ५ गते मालिकार्जुन प्रहरी चौकीले पनि घोडाविडी बरामद गरेकोमा नष्ट गरिएको भन्सार कार्यालयमा अभिलेख छ । असोज २३ गते दत्तु प्रहरी चौकी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रुपमा ८० हजार ५ सय रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । दत्तुस्थित सशस्त्र प्रहरीको विओपीले मंसिर १९ गते २० हजार १ सय ८२ रुपैयाँ बराबरको सामान बरामद गरेको अभिलेख छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले भदौ १८ गते ८ हजार १ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ भने असोज २६ गते ६० हजार ९ सय रुपैयाँ बराबरको डिजेल र २ हजार ८ सय रुपैयाँ बराबरको घोडाविडी बरामद गरेको अभिलेख छ । कार्तिक ६ गते जिप्रका दार्चुलाको टोलीले ७८ हजार ५० रुपैयाँ बराबरको चीनि, मिठाइ, मिस्री लगायतका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।
पछिल्लोपटक माघ १० गते खलंगाको घाटबजारस्थित रिङनेताल क्षेत्रबाट प्रहरीले १७ हजार ७ सय ६० रुपैयाँ बराबरको चीनि, प्याज र खानेतेल बरामद गरी १२ गते भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी र सशस्त्र प्रहरीले बरामद गरिएका कुनै पनि घटनामा सामान ओसारपोसार गर्ने व्यक्ति वा सवारीसाधनलाई भने पक्राउ गरिएको छैन । सुरक्षाकर्मीले बरामद गरिएका सबै घटनाका सामानहरु ‘बेवारिसे अवस्थामा’ भेट्टिएको व्यहोराको मुचुल्का तयार गरी दार्चुला भन्सार कार्यालयमा बुझाइएको छ ।
माघ १० गतेभन्दा अघिका सबै ७ मुद्दाहरुबाट २ लाख २५ हजार ९ सय ३३ रुपैयाँको लिलाम सकार (असुल) भएको भन्सार कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । पछिल्लो मुद्दाबाट भने सामानहरुको लिलाम सकार हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
माघ १२ गते दार्चुला भन्सार कार्यालयमा आयोजित ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी शिववहादुर सिंहले भन्सार छलीका घटनामा कुनै पात्र विशेषको संलग्न हुनसक्ने भए पनि सिंगो प्रहरी संगठनको संलग्नता नभएको बताउनुभयो । ‘व्यक्तिगत रुपमा कहिकतै बदमासी भएको हुनसक्छ तर नीतिगत रुपमा मसंग पुग्नेगरी कुनै बदमासी भएको छैन’ डिएसपी सिंहले भन्नुभयो । उहाँले चालू वर्षमा दार्चुला प्रहरीले ४ लाख ८७ हजार ५ सय ८२ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको बताउनुभयो ।
बरामद गरिएका सामानमध्ये मिठाइ र घोडाविडी नष्ट गरिएकाले बरामद गरिएका बाँकी सामान लिलाम विक्रीबाट २ लाख २५ हजार ९ सय ३३ रुपैयाँ राजश्व संकलन भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।