टिंकर सडकलाई छुट्टै याेजना बनाउन माग

0
133

दार्चुला, माघ २३ गते ।
नेकपा (एकीकृत समाजवादी)ले दार्चुला-टिंकर सडक खण्डलाई छुट्टै याेजना बनाउन माग गरेकाे छ । पार्टीका दार्चुला सह-इन्चार्ज गणेश कुमार जाेशीले मंगलवार भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालासंग विशेष ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
महाकाली काेरिडाेरबाट टिंकर सडकलाई छुट्याएर अलग्गै याेजना बनाउन माग गरिएको नेता जाेशीले बताउनुभयो । महाकाली काेरिडाेरकाे नाममा बजेट कटाैती र ढिलासुस्ती गर्ने कार्य भइरहेकोले छुट्टै याेजना बनाउन ज्ञापनपत्रमा माग गरिएको छ ।
राष्ट्रिय गाैरवकाे याेजनाअन्तर्गत खलंगा-टिंकर सडक नामांकरण गर्न नेकपा (एस)ले माग गरेकाे छ । काठमाडौंस्थित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाइएको हाे ।
टिंकर सडक द्रुतगतिमा निर्माण गर्न पर्याप्त बजेट व्यवस्था गर्न र समयमै सडक निर्माण सम्पन्न गराउन विशेष पहल गर्न मन्त्री ज्वालासंग लिखित माग गरिएको छ ।
त्रिदेशीय सिमाक्षेत्र जाेड्ने र पवित्र कैलाश-मानसरोवरकाे ढाेका खाेल्ने सडक भएकोले यसलाई विशेष महत्त्व दिन समग्र सिमाक्षेत्रका तर्फबाट माग गरिएको नेता जाेशीकाे भनाइ छ ।
नेकपा (एस) कै उपमहासचिव समेत रहनुभएका मन्त्री ज्वालाले टिंकर सडककाे माग सम्बाेधन गर्ने प्रतिक्रिया दिनुभएको उहाँले बताउनुभयाे । `आउदाे बजेटबाट छुट्टै याेजना बनाएर प्राथमिकताका साथ बजेट छुट्याइने जानकारी मन्त्रीज्युले दिनुभएको छ´ नेकपा (एस) का जिल्ला सह-इन्चार्ज जाेशीले भन्नुभयाे ।
भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाले दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडु, मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र सेनाका जर्नेलसहित गत पुस ५ गते टिंकर सडककाे निरीक्षण भ्रमण समेत गरेका छन् ।
मन्त्री नेतृत्वको टाेलीकाे भ्रमणका समयमा पनि टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापन र द्रुतगतिमा सडक निर्माण गर्नुपर्ने विषय प्रमुखताका साथ उठेकाे थियाे ।