टिंकर सडकमा ३ करोड बजेट खर्च

0
220

दार्चुला, माघ २३ गते ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणमा ३ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३ करोड २ लाख ९९ हजार ९ सय २० रुपैयाँ खर्च भएको रक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले टिंकर सडक निर्माणका लागि यो वर्ष १४ करोड १९ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सेनाले छ महिनाको अवधिमा विनियोजित बजेटको २१ दशमलव ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।
चालू वर्षमा पूजीगततर्फ १४ करोड र चालूतर्फ १९ लाख २० हजार रुपैयाँ टिंकर सडकमा विनियोजन गरिएको रक्षा मन्त्रालयका उपसचिव एवं सुचना अधिकारी कोमल पराजुलीले बताउनुभयो । साउनदेखि पुष मसान्तसम्मको अवधिमा ३ करोड मात्रै खर्च गरेको सेनाले माघदेखि असारसम्मको छ महिनामा ११ करोड रुपैयाँको सडक निर्माण गर्न बाँकी देखिन्छ ।
नेपाली सेनाको हेडक्वाटरले एक हप्ताअघि सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि पुष मसान्तसम्मको अवधिमा टिंकर सडकमा ७ सय २० मिटर नयाँ ट्रयाक खोलिएको छ । छ महिनाको अवधिमा ४ सय ८० मिटर लामो सडकको स्तरोन्नती पनि गरिएको छ ।
चालू आर्थिक वर्षमा टिंकर सडकमा ३ किलोमिटर नयाँ ट्रयाक खोल्ने र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने सेनाको कार्ययोजना छ । छ महिनाको अवधिमा टिंकर सडकको वित्तिय खर्च २१ प्रतिशत हुँदा भौतिक उपलब्धि २४ प्रतिशत रहेको छ ।
टिंकर सडकमा न्युन बजेट भएको आवाज उठिरहेको बेला वार्षिक विनियोजित बजेटको कार्यान्वयन र खर्च नै सुस्त छ । गत पुष ५ गते टिंकर सडकको स्थलगत अनुगमनमा सुन्सेरा पुगेका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वाला र सांसद दिलेन्द्रप्रसाद बडूसहितको टोलीले दु्रतगतिमा सडक निर्माण गर्न निर्देशन दिएका थिए ।
मन्त्री र सांसदसहित अनुगमन टोलीमा सहभागी मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र सेनाको विकास निर्माण निर्देशनालय प्रमुखसहितले टिंकर सडकमा पर्याप्त बजेट उपलब्ध गराउने सार्वजनिक प्रतिवद्धता पनि गरेका थिए । जनशक्ति र निर्माण सामग्री थपेर दु्रतगतिमा सडक निर्माण गर्न पनि अनुगमन टोलीले सेनालाई निर्देशन दिएको थियो ।
टिंकर सडक निर्माणमा सैनिक र कामदारको संख्या थपिएको छैन । व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको फतङगाड, कोठधार, दुम्लिङ, आकतुङति र तम्बाकु क्षेत्रमा ९ वटा कामदार टोलीमार्फत सडक निर्माण भइरहेको छ । ‘सडक निर्माणमा संलग्न कामदार र नाइकेहरुले कामदारको संख्या थप्न पटकपटक सेनालाई आग्रह गरेको छ तर कामदार संख्या थप्ने तयारी देखिदैन’ सडक निर्माणमा संलग्न एक मजदूरको भनाई छ ।
माघ २१ गते काठमाडौंमा आयोजित रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा रक्षामन्त्री पूर्णवहादुर खड्काले सेनाले निर्माण गरिरहेका अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् । तर, सेनाले बनाइरहेका आधा दर्जन सडकमध्ये दार्चुला–टिंकर निर्माणको अवस्था सुस्त छ । यसबारे भने रक्षामन्त्रीले केही बोलेका छैनन् ।