भारतकाे गणतन्त्र दिवसमा सिमाक्षेत्रका जनप्रतिनिधिलाई निम्ता

0
243

दार्चुला ।
भारतकाे ७५अौं गणतन्त्र दिवसकाे अवसरमा काठमाडौंस्थित भारतिय दूतावासले सिमाक्षेत्रका जनप्रतिनिधिहरूलाई निम्ता दिएको छ । दार्चुलाको सिमाक्षेत्रबाट व्यास, दुहुँ र नाैगाड गाउँपालिकाका अध्यक्षहरू शुक्रबार काठमाडौंमा आयाेजित गणतन्त्र दिवस कार्यक्रममा सहभागी भएका छन् ।
छिमेकी भारतले गणतन्त्र दिवसकाे अवसरमा पहिलोपटक दार्चुलाको सिमाक्षेत्रका स्थानीय सरकारलाई निम्ता गरेकाे हाे । दूतावासकाे निम्तामा शुक्रवार दिउसाे दुहुँ र नाैगाड गाउपालिका अध्यक्षसंगै दिवस कार्यक्रममा सहभागी भएको व्यास गाउपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयाे ।
गत कार्तिक १४ गते भारतिय मार्ग भएर व्यासकाे तिंकर जानेक्रममा व्यास गाउपालिका अध्यक्ष धामीलाई एसएसवीले राेकेकाे थियाे । भारतिय प्रशासनकाे लिखित अनुमति भए पनि विनाकारण महाकाली नगर प्रमुख नर सिंह चैसिर, विद्यार्थी नेता दिपक खाती र व्यास गाउपालिका अध्यक्ष धामीलाई राेकिएकाे थियाे ।
सिमाक्षेत्रमा आवतजावतमा एसएसवीले अवराेध गरेका गाउपालिका अध्यक्ष मंगल सिंह धामीलाई भारतीय दूतावासले भने निम्ताे दिएकाे छ । यसअघि गत मंसिर २० मा दार्चुलाका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको अनुगमन टाेलीमा भने गाउपालिका अध्यक्ष धामीलाई व्यासक्षेत्र जान दिइएको थियाे । भारतिय पक्षले सम्बन्ध सुधारकाे अभ्यास गरिरहेको देखिन्छ । `भारत सरकारले मित्रता र सहकार्य बढाउन खाेजेकाे देखिन्छ´ व्यास गाउपालिका अध्यक्ष धामीले भन्नुभयाे । भारतबाट अतिक्रमित नेपाली भूमि दार्चुलाको व्यास गाउपालिका क्षेत्रमा पर्दछ ।
`भारतिय दूतावासले विकास कार्यक्रममा साझेदारी गरिरहेका सबै स्थानीय सरकारलाई निम्ता गरेकाे देखियाे´ दुहुँ गाउपालिका अध्यक्ष नरेन्द्र बडालले भन्नुभयो । दार्चुलामा भारतिय दूतावासकाे अनुदान सहायताकाे साझेदारीमा चारवटा याेजनाहरू सञ्चालनमा छन् । व्यास गाउपालिकाकाे हिमालय मावि हुती भवन, दुहुँ गाउपालिकाकाे जनविकास मावि बारबाज भवन, नाैगाड गाउपालिकाकाे स्वास्थ्य चाैकी नागु भवन र शैल्यशिखर नगरपालिकाकाे गलैनाथ मावि झरकरडाकाे भवन निर्माणाधीन छन् ।
भारतीय दूतावासकाे निम्ता आए पनि शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी भने कार्यव्यस्तताले काठमाडौं पुग्न सकेनन् । माघ ११ गते धनगढीमा राष्ट्रियसभा निर्वाचनमा भने स्थानीय तहका सबैजसाे जनप्रतिनिधि सहभागी भएका छन् ।
भारतकाे गणतन्त्र दिवस समाराेहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेका थिए । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषदका अधिकांश सदस्यहरू काठमाडौंकाे गणतन्त्र दिवस समारोहमा सहभागी थिए । पुर्वप्रधानमन्त्रीहरू सहित सबैजसाे दलका नेताहरू गणतन्त्र दिवसमा सहभागी हुन दूतावास पुगेका थिए ।
पुस तेस्राे साता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरि स्थानीय तहमा दूतावासले २० कराेड रूपैयाँसम्मका विकास साझेदारी कार्यक्रम गर्नेबारे सम्झौता गरेका थिए । सुरूमा ३ कराेड र त्यसपछि ५ कराेडकाे बजेट सिमाभित्रका याेजना सहयाेग गर्दै आएको भारतले बजेट सिमा बढाएर २० कराेडसम्म पुर्याएकाे छ भने प्रचण्ड सरकारले यसमा लिखित सहमति गरिसकेको छ ।