पुल र सुरक्षाकर्मीभन्दा ५० मिटरको दूरीमा वेवारिसे सामान बरामद

0
369

दार्चुला ।
प्रहरीले दार्चुला सदरमुकाम खलंगामा नेपाल–भारत जोड्ने झोलुंगे पुल र सुरक्षाकर्मीको उपस्थितिभन्दा ५० मिटरको दूरीमा वेवारिसे सामान बरामद गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाटबजारको रिङनेताल क्षेत्रमा माघ १० गते बेलुकी प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो ।
दुई देश जोड्ने झोलुंगेपुलमा २४ घण्टा असइको कमाण्डमा प्रहरीको टोली रहन्छ भने विहान ६ बजेदेखि राती १० बजेसम्म सशस्त्र प्रहरीको सुरक्षाटोली पनि पुलघाटमा खटिरहन्छ । खलंगाको झोलुंगेपुल भएर भारतबाट ल्याइएको १७ हजार ७ सय ६० रुपैयाँ बराबरको खाद्य सामग्री बरामद गरिएको हो । झोलुंगेपुलभन्दा ५० मिटरको दूरीमा पर्ने घाटबजारको रिङनेताल क्षेत्रबाट माघ १० गते बेलुकी साढे ७ बजे सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले १ सय ७६ किलोग्राम चिनी, ६० किलोग्राम प्याज र १५ लिटर खानेतेल बरामद गरे पनि सामान ओसारपोसार गर्ने व्यक्ति भन्ने चिन्न सकेको छैन । बेवारिसे सामान बरामद भएको मुचुल्का उठाएर आवश्यक कारवाहीका लागि दुई दिनपछि माघ १२ गते भन्सारलाई सामान बुझाएको छ ।
सामान बरामद भएको दुइ दिनपछि दार्चुला भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि पत्रसहित जिल्ला प्रहरी कार्यालयले सामान बुझाएको छ । प्रतिकिलो ६० का दरले १० हजार ५ सय ६० रुपैयाँको चिनी, प्रतिकिलो ६० रुपैयाँकै दरले ३ हजार ६ सय रुपैयाँको प्याज र प्रतिलिटर २ सय ४० रुपैयाँका दरले ३ हजार ६ सय रुपैयाँको खानेतेल बरामद गरिएको विवरण प्रहरीले दार्चुला भन्सार कार्यालयलाई दिएको छ ।
सुरक्षाकर्मीको आखा छलेर भारतबाट ल्याइएको खाद्य सामग्री बरामद गरिएको हो । सामान बरामद गरिए पनि सामान ओसारपोसार गर्ने मान्छेलाई समातिएको छैन । भारतबाट ल्याइएको सामान रिङनेताल क्षेत्रमा गाडीमा भरेर दार्चुलाका ग्रामिण वस्तीसम्म ढुवानी हुने गरेको स्थानीय बताउँछन् । प्रहरीले भने सामान बरामद गरे पनि सामान ढुवानी गर्ने व्यक्ति र सवारीसाधन समात्न सकेको छैन ।