भारतीय प्रधानमन्त्री मोदीले गरे आदि कैलाश पर्वतको दर्शन

0
364

दार्चुला,असोज २५ गते
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अदि कैलाश पर्वतको दर्शन गरेका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदीले कैलाश पर्वत र पार्वती सरोवरको दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ गुञ्जी, नाभि, कुटी, रोङकाङ, नपलच्यु गर्ब्याङ र बुदीको भ्रमण गरेको जनाइएको छ ।
त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल समेत गरेका छन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ । मोदीले त्यहाँ भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् ।
दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् । नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन । सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्ता समेत यो बारे बेखवर जस्तै छन् । नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपाली प्रशासनलाई कुनै आधिकारिक जानकारी नगराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो ।
हामीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ तर आधिकारिक कुनै जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन ।’भारतीय प्रधानमन्त्री आउने भन्ने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाएका हौँ’ उनले भनिन्, ‘त्यसबाहेक अन्य धेरै जानकारी नभएको उहाँले बताउनु भयो ।