चक्कु प्रहार गरी दार्चुलामा एक बृद्धको हत्या

0
1308

दार्चुला,भाद्र ११ गते ।
दार्चुलामा एक जना एकल बृद्ध महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका ७ स्थित टोपाली टोलका ८० वर्षीया भागरथी चन्दको घाटी र छातीमा चक्कु प्रहार गरी हत्या भएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार महिलाको घाटी र छातीमा आठ दश वटा चक्कु प्रहार भएको देखिएको छ । उनको हत्या गरि घरभन्दा करिब एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको हो ।
शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन दिएका थिए । मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि स्थानिय,जनप्रतिनिधि र प्रहरीले ताला तोडेर घर भित्र पसेका थिए । तर घरमा महिला थिएनन्, उनलाई घरभित्र पनि नभेटेपछि खोजीगर्दै गर्दा सोमबार बिहान ६ः३० बजे उनको शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतकको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको छ । पाेष्टमार्टम पछि शवलाई अहिले जिल्ला अस्पतालको लास घरमा राखिएको छ । अहिलेसम्मको घटनास्थल हेर्दा हत्या भएको देखिन्छ । घटना शंकास्पद भएका कारण अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो । पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताउँदै उनले अनुसन्धान गरिरहेको बताएका छन् । शवको पोष्टमार्टम रिपोर्ट आउन केही समय लाग्ने उनले बताउनु भयो ।