कोरोना प्रकोपले कैलाश मानसरोवर यात्रा प्रभावित

0
911

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको प्रकोपले विश्व प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवरको यात्रामा यस बर्ष बाधा आएको छ । भारत हुदै चीनमा रहेको कैलाश मानसरोवरमा प्रत्येक बर्ष हजारौ हिन्दूहरुले भ्रमण गर्ने गरेका छन् ।
कोरोना भाइरसको प्रकोपले यस बर्षको भ्रमण बारे भारत सरकारको विदेश मन्त्रालय र कुमाउ मंडल विकास निगम विच अहिले सम्म कुनै छलफल हुन नसकेकाले कैलास मानसरोवर भ्रमण प्रभावित भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
प्रत्येक बर्ष १८ टोलीमा हुने कैलाश मानसरोवर यात्रामा करिब एक हजार यात्रीहरुले कैलाश मानसरोवरको यात्रा गर्ने गरेका छन् । कुमाउ मण्डल विकास निगम मार्फत भारतको विदेश मन्त्रालयले प्रत्येक हिन्दुहरुलाई कैलाश मानसरोवरको भ्रमण गराउने गरेका छन् ।
भारत सरकारले लिपुलेक हुदै सन् १९८१ बाट कैलास मानसरोवर यात्रा सुरु गरेकोे थियो ।
कैलाश मानसरोवरको यात्रा सुरु गरिए यता ३९ बर्षहरुमा ३ पटक यात्रामा बाधा पुगेको छ । सन् १९९८ मा माल्पा क्षेत्रमा पहिरो खसेपछि १२ औ टोलीका सम्पुर्ण यात्रीहरु सहित २ सय भन्दा बढिको मृत्यु भएको थियो र त्यस बर्ष पनि कैलाश मानसरोवर यात्रा स्थगीत गरिएको थियो ।
त्यस्तै सन् २०१३ मा आएको भिषण बर्षादका कारण यात्रा स्थगीत गरिएको थियो भने यस बर्ष विश्वब्यापी रुपमा फैलीएको कारोना भाइरसको प्रकोपका कारण कैलाश मानसरोवरको यात्रामा बाधा पुगेको छ । कैलाश मानसरोवर जाने नाविढाङ र लिपुलेक नाकामा २ फिट भन्दा बढि हिउ अझै जमेको भारत तिब्बत पुलीस सातौ बाहिनीका सेनानी अनुप्रीत टी बोरकर बताएका छन् ।