अब खोज, सोध र परीक्षण

1443

लक डाउनपछिको सयम संक्रमण फैलिन नदिन विशेष कार्ययोजना बनाएर स्थानीय सरकारहरुले जनशक्ति परिचालन गरेको हुनु पर्दछ । बस्तिहरुमा बाहिरबाट आउनेहरु अब सिमित भएका छन् । पहिलो एक हप्ताको तुलनामा पछिल्लो हप्ता निक्कै कम नागरिक बस्ति पसेका छन् । पछिल्लो हप्ता बस्ति पसेकाहरुबाट बस्ति नै सशंकित भएको छ भने त्योभन्दा पहिलेकाहरु अझै पनि आम नागरिक झै टोलमा घुम्दै छन् । अझ बिडम्बना त के भने स्थानीय सरकारले सयौं आग्रह गर्दा पनि क्वारेन्टाइनमा बस्न नमान्नेहरु पनि छन् । यो समय सतर्कता र सावधानि अपनाउनुको बिकल्प हेरिनु हुँदैन । यो समय संक्रमण छैन भन्दै दम्भ गर्ने बेला होइन, आफूलाई स्वस्थ्य राख्ने, परिवार र समुमदायलाई सुरक्षित राख्ने बेला हो । आफैले यस्तो काम गरे अरुले तपाईँको खोज गर्ने, सोधपुछ गरेर कुरा सुनाउने अवसर पाउने छैनन् । तसर्थ पहिलो काम भनेको बस्तिमा बाहिरबाट आउनेहरुले आफूलाई छुट्टै राखेर आफ्नो स्वास्थ्यको ख्याल गर्ने, परिवार र समुदायलाई सुरक्षित राख्न सम्पर्क नगर्ने नै हो । यसो हुन सकेभने अर्को जिम्मेवारी परिवारको त्यसपछि समुदायको जिम्मेवारी हुन्छ–बाहिरबाट आएकाहरुलाई सुरक्षित राख्ने र आफू पनि सुरक्षित रहने । व्यक्ति, परिवार र समुदाय जिम्मेवार हुन सकेनन् भने संक्रमणले फैलिने अवसर पाउने छ, त्यसको कारक आफू रहेको थाहा पाउँदा पक्कै पनि ग्लानी हुनेछ ।
व्यक्ति, परिवार र समुदाय जिम्मेवार हुने सकेन भने स्थानीय सरकारको वडा स्तरीय समिति गम्भीर भएर यसतिर लाग्नु पर्दछ । प्रहरी लगाएर समेत आफ्नो बस्ति र वडालाई सुरक्षित पार्ने योजनाका साथ वडा स्तरीय समितिहरु लाग्नु पर्दछ । जिल्लाका अधिकांश वडा समितिहरुले आफ्नो तथ्याङ्क लिने काम सकेका छन् । अर्थात पहिलो खोजको काम सकिएको छ । आफ्नो बस्ति र वडामा आएकाहरुलाई खोज्ने काम पूरा भएको छ । अब तुरुन्तै सोधको काम सुरु गर्नु पर्ने हुन्छ । बाहिरबाट आएकाहरुलाई खोजि सकेपछि उनीहरुको यात्रा विवरण र स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनु पर्ने हुन्छ । उनको यात्रा विवरण र सपरिवारको स्वास्थ्य जानकारीले संक्रमणको पूर्वानुमान गर्न सजिलो हुनेछ । सोध प्रक्रियाबाट आएको परिणामको विश्लेषण गर्दा लक्षणहरु देखा परे तत्काल स्वास्थ्य परीक्षणका लागि सम्बन्धित निकायमा पठाउनु पर्ने हुन्छ । त्यसमा स्वयम् व्यक्ति, परिवार, समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु र बुद्धिजिवीहरुले सहयोग गर्नु पर्ने हुन्छ । परीक्षणको परिणाम नआउञ्जेल परिवार र समुदायलाई समेत बन्दाबन्दीमा राखेर संक्रमण थप फैलिन नदिने रणनीति अहिल्यैदेखि तयार गरिनु पर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !