कालापानीको कुरा भारतको बिरोध होइन

769

सम्पादकिय
नेपालको जनगणना गर्दा २०१८ सालमा कालापानी क्षेत्रमा पर्ने नाबी, कुटी, गुन्जीगाउँको पनि जनगणना गरिएको थियो । त्यो बेला भौतिक रुपमै गणकहरु सो क्षेत्रमा गएर जनगणना गरिएको थियो ।

उक्त जनगणना कार्यमा खटिएका कर्मचारी अझै जिउँदै छन् । त्यसपछिका शासकहरुले सो क्षेत्रलाई आफ्नो भन्न खुट्टा कमाए वा भारतलाई बेचे ? यसै भन्न सकिने अवस्था छैन । साठी वर्षपछि एक पटक फेरी यो क्षेत्रको जनगणनाको कुरा उठेको छ । यो साठी वर्षमा त्यो क्षेत्र पुरै भारतीय भूमिमा परिणत भएको छ । नेपाली शासकहरुले त्यसका बिरुद्ध एक शब्द निकाल्न सकेनन् । पञ्चायत कालमा राजालाई दोष लगाउनेहरुले बहुदलीय व्यवस्था आउँदा पनि यो भूमिका बारेमा भारतसँग वार्ता गर्न सकेनन् । हुतिहारा भएर चुपचाप सो क्षेत्रलाई सैनिकीकरण गर्न सहयोग गरे । कसैले सत्ताका नाममा, कसैले शक्तिका नाममा, कसैले सन्तान पढाउने नाममा वा कसैले अर्थोपार्जन गर्ने नाउँमा? कुन नाममा आफैले जनगणना गरेको, आफ्नो क्षेत्र भारतलाई सुम्पे, किन त्यो बारेमा अझै बोल्न सक्दैनन् ? नेताका दास कार्यकर्ताहरुले प्रश्न गर्न सकेका छैनन् । बहादुर ऐतवालपछि एकै पटक प्रेम सिह धामीलाई मात्रै देशको भुगोल दुख्नुको कारण के थियो ? यो बिचका हाम्रा जनप्रतिनिधिहरुले कालापानीको वास्तविकता भारतीय पक्षसँग राख्ने साहष किन गर्न सकेनन् ? अहिले पनि एक मतले सो क्षेत्रलाई समेटेको नक्साजारी गर्ने सहयोग गरेका नेताहरुले सो क्षेत्रलाई समस्याका रुपमा किन चित्रण गरे ? सम्बन्धित दलको नेतृत्वलाई सम्बन्धित दलका कार्यकर्ताहरुले प्रश्न नगरेसम्म यो विषय आन्तरिक रुपमा प्रस्ट हुँदैन र भारतसँग हाकाहाकी यो विषयमा कुरा राख्ने हैसियत नेताहरुको बन्दैन ।

कालापानीको कुरा गर्ने बितिकै भारतसँग लडाई नै गर्नु पर्ने, भारतको बिरोध गरेको मात्रै बुझ्नु पर्नेर कालापानीको कुरा गर्नेलाई त्यसै तरिकाले बुझ्ने बुझाउने काम तत्काल बन्दगरिनु पर्दछ । आफ्नो भूमिमा दाबिगर्नु, जनगणना गर भन्नु भारतको बिरोध होइन । यो प्रत्येक नेपालीको कर्तव्य हो र यो कर्तव्यको पालना प्रत्येक देशभक्त नेपालीले गर्दछ । अब कालापानीको कुरा गर्नेहरुलाई भारत बिरोधि भन्ने नेपालीहरुलाई नै निस्तेज पार्ने काम गर्नु पर्ने हुन्छ । यस्तो भ्रम फिजाउनेहरुलाई बहिष्कार गर्न सकिएन भने हामी अन्तर्राष्ट्रिय समुदायलाई हाम्रो मुद्दामा सहमत गराउन सक्दैनौँ । घरका कसिङगर हरुलाई बढारेर मात्रै पाहुनाहरुलाई स्वागत गर्ने हाम्रो परम्परालाई यो क्षेत्रमा पनि प्रयोग गर्नु पर्दछ । हरेक देशभक्त युवाले कालापानी क्षेत्रमा जनगणना गरिएको, यो क्षेत्रका मालपोत कर तिरिएको र पुराना नक्साहरुमा कालापानी क्षेत्र नेपालमा रहेको कुरालाई बिर्सिनु हुँदैन र अर्को नबिर्सिनु पर्ने कुरा के हो भने हाम्रा कुन–कुन शासक प्रशासकहरुले यो विषयलाई उठाएनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !