स्वतन्त्रः अपवाद कि प्रवृत्ति ?

0
537

सम्पादकीय ।

स्थानीय तहको निर्वाचनले ‘स्वतन्त्र’लाई स्थापित गराउने काम ग¥यो । कुनै दल वा उमेदवारलाई हराउन प्रयोग हुने ‘स्वतन्त्र उम्मेदवारी’ जितका लागि स्थापित हुने मनोविज्ञान बढ्दो छ ।

स्थानीय तहको निर्वाचनमा तीन सय त्रिहत्तर जना स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेपछि स्वतन्त्र उम्मेदवारी जितका लागि दिने परम्परा सुरु भएको वा स्वतन्त्रतलाई मतदान गर्ने मतदाताको संख्या बढेको, जसरी बुझ्दा पनि हुने देखिन्छ । तीन सय त्रिहत्तरमध्ये काठमाण्डौँ, धरान, जनकपुर र धनगडीको जितले युवाहरुलाई निक्कै हौस्याएको देखिन्छ । छिमेकि जिल्ला बैतडीमा भएको स्वतन्त्रको जितले स्वतन्त्रको हावाबाट दार्चुला पनि सहजै प्रभावित हुन सक्ने सङ्केत गरेको छ । स्वतन्त्र उम्मेदवारको जितका पछाडि दलहरुको छनोट र आम जनताको चाहानाबीचको रिक्तताले काम गर्ने भएकाले उक्त रिक्तता कम हुने बितिकै स्वतन्त्र उम्मेदवारी जितका लागि नभएर कुनै दल र उम्मेदवारको मत कटौति गर्न सीमित हुने छ ।
धरान, जनकपुर, काठमाण्डाँै र धनगडीमा स्वतन्त्र उम्मेदवारले दिलाएको जितले युवाहरु जसरी उत्साहित भएर वहषमा आउँदै छन्, त्यसको सत्यता र प्रभाव निर्वाचनको परिणामले देखाउने छ । दलहरुलाई मौजुदा कार्यसम्पादन बदल्न दिएको स्वतन्त्र उम्मेदवारहरुको जितको सन्देश दलहरुले कति कार्यान्वयन गर्छन् भन्ने विषयमा स्वतन्त्र उम्मेदवारहरुको जितको आँकडा निर्भर रहने छ । उपर्युक्त स्थानबाट स्वतन्त्र उम्मेदवारी दिएर जित हाँसिल गरेका व्यक्तिहरुको व्यक्तित्व, सामाजिक योगदान, निर्वाचनमा जानु पूर्व उनीहरुले गरेको तयारी, लिएको रणनीति र कार्यान्वयन गरेको योजनाको अध्ययन गरेर स्वतन्त्रको चर्चा भएको हो वा उनीहरुको जितलाई मात्रै हेरेर यस्तो चर्चा भएको हो, अध्ययनको विषय बनेको छ । त्यतिमात्रै नभएर विकासका पूर्वाधारको पर्याप्तता र जितेका स्वतन्त्र उम्मेदवारको अनुपात हेर्दा स्वतन्त्र उम्मेदवारहरुले जित्ने अर्को कारण फेला नपर्ला भन्न सकिन्न । हर्क, बालेन, मनोज र हमालसँगै बैतडीका सन्तोष पनि चर्चाका पात्र हुन् तर कर्णालीमा विजय भएका अठसठ्ठी, सन्तोष र हमालसँगै विजय भएका सुदूरपश्चिमका सतसठ्ठी, हर्कसँगै विजय भएका प्रदेश एकका पैँसठ्ठी, मनोजसँगै विजय भएका मधेसका उन्पचास, बालेनजस्तै विजय भएका बागमतीका पैँतीस र गण्डकीका त्रिपन्न तथा लुम्बिनीका छत्तीस जना स्वतन्त्र उम्मेदवारको विजयले युवाको चाहाना, विद्यमान राजनीतिको दुष्चक्र तथा मतदाताको मनोभावनालाई पृथक ढङ्गबाट हेर्नु पर्ने अवस्था सिर्जना गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एक्ला–एक्लै निर्वाचनमा जान नसक्ने अवस्थामा पुगेका राजनीतिक दलहरुलाई स्वतन्त्र उम्मेदवारको चर्को अबरोध खेप्नु पर्ने छ । सङ्ख्यात्मक हिसाबले स्वतन्त्र उम्मेदवारको विजय कम होला तर बिगतका निर्वाचनको अनुपातमा यो पटक स्वतन्त्र उम्मेदवारको दबाव निक्कै बढी हुने छ । राजनीतिमा स्वतन्त्र अपवाद हो, प्रवृत्ति होइन तर मतदातालाई अपवाद छान्नबाट रोक्न सकिदैन ।