खाद्य कार्यालय खुलेको दुइ दिनमा ३७ कट्टा चामल विक्री

451

दार्चुला, साउन २३ गते ।
दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालय स्थापना गरेको दुइ दिनमा ३७ कट्टा चामल विक्री भएको छ । १७ वर्षपछि दार्चुला सदरमुकाम खलंगामा शनिवार मात्रै खाद्य कम्पनीको कार्यालय उद्घाटन गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शनिवार कम्पनीको शाखा कार्यालय उद्घाटन गर्दै विकट क्षेत्रका नागरिकको खाद्य अधिकार सुनिश्चितताका लागि विक्री केन्द्रहरु थपिएको बताएका थिए । खलंगास्थित शाखा कार्यालयबाट शनिवारदेखि नै चामल विक्रीवितरण सुरु गरिएको थियो । शनिवार र आइतवार गरी ३७ कट्टा चामल विक्री भएको कम्पनीका कर्मचारी नरभान सिंह ठेकरेले बताउनुभयो ।
कम्पनीले प्रसोधन गरी तयार गरेकोमा मोटो चामल ७ कट्टा र जिरा मसिनो चामल ३० कट्टा विक्री भएको अभिलेख छ । खाद्य कम्पनीले मोटो चामल प्रतिकिलोग्राम ४५ रुपैयाँ र जिरा मसिनो चामल प्रतिकिलोग्राम ६६ रुपैयाँमा विक्रीवितरण गरिरहेको छ ।
बजारभाउभन्दा खाद्य कम्पनीको चामल सस्तो भएकोले चामलको विक्री बढ्ने खाद्यका कर्मचारीको बुझाइ छ । खलंगा बजारमा मोटो चामलको मूल्य प्रतिकिलोग्राम ४८ रुपैयाँ र मसिनो चामलको मूल्य प्रतिकिलोग्राम ७० रुपैयाँभन्दा बढी छ ।
खाद्य कम्पनीले मोटो चामलको ३० किलोको कट्टा र जिरा मसिनो चामलको २५ किलोग्रामको कट्टा विक्रीवितरण गरिरहेको छ । उपभोक्ताको मागअनुसार १/२ किलोग्राम फुटकरमा पनि चामल विक्री भइरहेको कम्पनीको शाखा कार्यालयले जनाएको छ ।
तराईबाट खलंगासम्मको खाद्य ढुवानीमा नेपाल सरकारले अनुदान उपलब्ध गराएपछि तराईकै दररेटमा दार्चुलामा चामल विक्रीवितरण भइरहेको जनाइएको छ । सरकारी कार्यालय खुल्ने समयमा कम्पनीको शाखा कार्यालयबाट नियमित रुपमा चामल विक्रीवितरण भइरहने कम्पनीका दार्चुलास्थित कर्मचारी नरभान सिंह ठेकरेले बताउनुभयो ।
हाल खलंगास्थित शाखा कार्यालयमा एक सय क्वीन्टल चामल स्टक छ । उपभोक्ताको माग बढेमा तत्काल चामल थपिने उहाँले बताउनुभयो । कम्पनीले प्रशोधन गरी तयार गरेको ३० किलोग्रामको मोटो चामलको प्रतिकट्टा मूल्य १ हजार ३ सय ५० रुपैयाँ छ । यसैगरी, २५ किलोग्रामको जिरा मसिनो चामलको कट्टा रहेकोमा यसको मूल्य १ हजार ६ सय ५० रुपैयाँ रहेको छ । कम्पनीले दार्चुलास्थित शाखा कार्यालय सञ्चालनका लागि दुइजना कर्मचारीलाई काजमा खटाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !