व्यासमा आधा दर्जन स्थानीय सडक खोलिदै

0
294

दार्चुला, फागुन ३ गते ।
व्यास गाउँपालिकाले आधा दर्जन स्थानीय सडकहरु सञ्चालनमा ल्याएको छ । वर्षातले अवरुद्ध भएका कच्ची सडकहरु सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
सुन्सेराको गल्थादेखि वडा नम्बर ३ को सिना तातोपानीसम्मको ३ किलोमिटर सडक सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । सुरुमा दार्चुला–टिंकर सडक योजना र त्यसपछि गाउँपालिकाले निर्माण गरेको सिना सडकमा अहिले गाडीहरु सञ्चालन भइरहेका छन् ।
तीन किलोमिटर लामो सुन्सेरा–मडगाउँ सडक र २ किलोमिटर कोरकट्या–पत्थरकोट सडक पनि सुचारु गरिएको गाउँपालिकाका सव–इन्जिनियर बीरेन्द्र विष्टले बताउनुभयो । वडा नम्बर ६ हुतीको घोरेटोबजारदेखि हिमालय माविसम्मको २ किलोमिटर लामो सडक र वडा नम्बर ५ को दरबादेखि चन्दाकोटसम्मको २.५ किलोमिटर सडक पनि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
सबैजसो सडक सुचारु गर्न मेसिन प्रयोग गरिएको र दरबा–चन्दाकोट सडक स्थानीय कामदारमार्फत खोलिएको सव–इन्जिनियर बिष्टले बताउनुभयो । २ किलोमिटर लामो घोरेटोबजार–बनानी सडक र वडा नम्बर ५ मा पर्ने ३.५ किलोमिटर लामो रिठिगाड–तिगरम सडक खोल्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
वर्षातमा अवरुद्ध भएका सडकहरु सञ्चालनमा ल्याउन गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सडक बोर्डबाट थप १२ लाख रुपैयाँ प्राप्त भएकोले अवरुद्ध सडक सञ्चालनमा खर्च गरिने गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ । तिगरम र बनानी जोड्ने सडक सञ्चालनमा ल्याउन बाँकी रहेको गाउँपालिकाका इन्जिनियर रमेश सिंह धामीले बताउनुभयो । उहाँका अनुसार सडक बोर्डको रकमबाट कोरकट्या–पत्थरकोट सडकमा पर्खाल निर्माण कार्य समेत गरिनेछ ।