चार पालिकामा ९० प्रतिशत विद्युतिकरण

0
393
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला ।
दार्चुलाका चार स्थानीय तहमा ९० प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र दुहुँ गाउँपालिकामा ९० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युतिकरण भइसकेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाभरीका ६० प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको दार्चुला वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाभरी २८ हजा ३ सय ८१ घरधुरी रहेका छन् ।
महाकाली नगरपालिकाको वडा नम्बर ६ का केही घरधुरीबाहेक सबै क्षेत्रमा विद्युत सेवा पुगेको छ । महाकाली नगरपालिकाका ९८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको वितरण केन्द्रले जनाएको छ ।
शैल्यशिखर नगरपालिकामा ९३ प्रतिशत तथा मालिकार्जुन र दुहुँ गाउँपालिकामा ९० प्रतिशत घरधुरीहरुमा विद्युतिकरण सम्पन्न भएको वितरण केन्द्रको तथ्यांक छ । असारसम्म लेकम गाउँपालिकामा ८० प्रतिशत, व्यास गाउँपालिकामा ६९ प्रतिशत र मार्मा गाउँपालिकामा ४६ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ ।
अपिहिमाल गाउँपालिकामा १४ प्रतिशत र नौगाड गाउँपालिकामा ११ प्रतिशत घरमा विद्युत सेवा पुगेको अभिलेख छ । अपिहिमाल र नौगाड गाउँपालिकाको केन्द्रसम्म विद्युत सेवा पुग्न बाँकी छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ तथा नौगाड गाउँपालिकाको वडा नम्बर २ र ६ मा विद्युत सेवा पुगेको प्राधिकरणको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
दार्चुला जिल्लाभरी गत आर्थिक वर्षसम्म ३ सय ८ किलोमिटर ११ केभी प्रशारण लाइन निर्माण गरिएको छ भने ६ सय २ किलोमिटर वितरण लाइन निर्माण भएको छ । शैल्यशिखर नगरपालिकाको बलाँचदेखि महाकाली नगरपालिकाको थालिगाड सवस्टेशनसम्मको ३७ किलोमिटर लामो ३३ केभी प्रशारण लाइनबाट विद्युत उपलब्ध गराइएको छ ।
दार्चुला जिल्लाभरी हालसम्म विभिन्न क्षमताका २ सय ५ वटा ट्रान्सफार्मरहरु जडान गरिएका छन् । गत आर्थिक वर्षमा मात्रै ४४ वटा नयाँ ट्रान्सफार्मरहरु जडान गरिएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो । हाल दार्चुला जिल्लाभरी ३ मेगावाट विद्युत खपत भइरहेको उहाँले जानकारी दिनुभयो ।