एक वर्षमा विद्युतका २५ प्रतिशत ग्राहक थपिए

0
206
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला, भदौ ५ गते ।
दार्चुलामा एक वर्षको अवधिमा विद्युत ग्राहक संख्या २५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा ग्राहक संख्या १६ हजार ५ सय ४३ पुगेको नेपाल विद्युत प्राधिकरण दार्चुलाले जनाएको छ ।
एक वर्षको अवधिमा जिल्लाभरी ३ हजार ४ सय ३१ ग्राहक थपिएका छन् । विद्युत लाइनको विस्तारसंगै प्राधिकरणको ग्राहक संख्यामा वृद्धि भएको दार्चुला वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म जिल्लाभरीका १३ हजार २ सय २२ घरधुरीमा विद्युत सेवा पुगेको थियो ।
वितरण केन्द्रको अभिलेखअनुसार २०७९ साउन महिनामा ३ सय ४५, भदौमा २ सय २९ र असोजमा ४ सय ५१ ग्राहक थपिएका छन् । गत कार्तिकमा ८५, मंसिरमा ९२, पुषमा २ सय ७६ र माघ महिनामा १ सय ३६ नयाँ ग्राहक थपिएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो ।
फागुन महिनामा ४ सय ३६, चैत्रमा ५ सय १९, वैशाखमा ४ सय २, जेठमा २ सय ३० र असार महिनामा २ सय २० ग्राहक थपिएका छन् । नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा ४ सय ९० नयाँ ग्राहकलाई मिटर उपलब्ध गराइएको छ ।
दार्चुलाका नौवटै स्थानीय तहमा विद्युत प्रशारण लाइन पुगे पनि सबै वडा र वस्तीसम्म पुगिसकेको छैन । नौगाड र अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म विद्युत प्रशारण लाइन पुग्न बाँकी छ ।