कैलाश यात्राको ढोका खोल्ने जिम्मेवारी बडूजीको काँधमा

0
1350

शंकर सिंह धामी
नेपाल–चीन जोड्ने टिंकर नाका सदियौंदेखि परम्परागत रुपमा चल्दैआएको नाका हो । नेपाल–चीनबीच आधा दर्जन नाकाहरु सञ्चालनको सहमति भइसकेको छ । तर अहिलेसम्म टिंकर नाकालाई औपचारिक रुपमा सञ्चालन गर्नेबारे दुइ देशबीच सहमति भइसकेको छैन । सुदूरपश्चिम प्रदेशलाई जोड्ने टिंकरसंगै बझाङ्गको उरै नाका पनि छ तर टिंकर र उरैको अवस्था उस्तै छ । दुबै नाका परम्परागत रुपमा चल्दैआएका छन्, चीनसंग सिमा जोडिएका सम्बन्धित जिल्लाका वासिन्दाले मात्र यी नाका भएर तिब्बती बजार ताक्लाकोटसम्म आवतजावत गर्न पाउँछन् ।
सम्बन्धित जिल्लाका वासिन्दाले पनि कोभिड महामारीका कारण विगत ४ वर्षदेखि ताक्लाकोट बजारसम्मको यात्रा गर्न पाएका छैनन् । ताक्लाकोट बजारमा व्यापार व्यवसाय गर्दैआएका दार्चुलाका व्यापारीले अहिलेसम्म टिंकर नाका भएर प्रवेश पाएका छैनन् । केही महिनाअघि रसुवागढी, तातोपानी र हिल्सा नाका सञ्चालनमा आएपछि टिंकर नाका सञ्चालनको आवाज पनि उठ्यो । दार्चुलाका स्थानीय व्यापारीका साथै व्यास गाउँपालिकाका जनप्रतिनिधिले काठमाण्डौं यात्रा गरे । प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, नेता–सांसदहरु सबैसंग गुहार लगाए । प्रमुख प्रतिपक्षी दलका नेता ओली, पूर्व प्रधानमन्त्री देउवा र सरकारी अधिकारीहरुलाई समेत भेटेर टिंकर नाका सञ्चालनको माग गरे । काठमाण्डौंमा रहेको चीनिया दूतावासमा समेत यसबारे पहल गरियो ।
स्थानीयको माग र आवश्यकताअनुसार सबैले टिंकर नाका सञ्चालनका लागि पहल गरे । टिंकर मात्रै होइन, उत्तरी चीनको सिमानाका जोडिएका सबै जिल्लाका परम्परागत नाकाहरुलाई दुई देशका अधिकारीहरुले आपसी समन्वय गरेर सञ्चालनमा ल्याउन दुइ हप्ताअघि गृह मन्त्रालयबाट पत्राचार पनि भइसकेको छ । नेपालका सबै तहका नेता र प्रशासकहरुले उत्तरी नाका सञ्चालनका लागि आफ्नो ठाउँबाट पहल गरेका थिए । चीन सरकारबाट सहमति प्राप्त गर्न समय लागेकाले पनि केही अनिश्चिता देखिएको थियो ।
पछिल्लो समय गृह मन्त्रालयबाट जिल्लास्तरमा पत्राचार त भएको छ तर नाका सञ्चालनमा आइसकेको छैन । यसका लागि केही प्राविधिक तयारी र गृहकार्य भइरहेको बुझिन्छ । टिंकर नाका सञ्चालनमा आउने विषयलाई साउन ३२ गते पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडूको सचिवालयले सामाजिक सञ्जालबाट सार्वजनिक गर्यो । तर त्यसभन्दा झण्डै एक हप्ताअघि नै टिंकर नाका सञ्चालन आउने जानकारी सार्वजनिक भइसकेको थियो । बडूजीको सचिवालयले टिंकर नाका सञ्चालनको पहल बडूजीले मात्र गरेको सन्देश दिन खोज्यो तर त्यो वास्तविकता होइन । जिल्लाबाट निर्वाचित सांसद, अनुभव र पहुँच भएको नेता भएकोले बडूजीको सक्रियता र योगदान अवश्य छ । तर, उहाँसंगै प्रमुख प्रतिपक्षी एमाले र सरकार नेतृत्वको माओवादी केन्द्रका नेताहरुको सक्रियता र योगदान पनि कम छैन ।
बडूजीको सचिवालयले भूगोलको वास्तविकतालाई हेक्का नराखेर टिंकर नाका भएर पवित्र कैलाश–मानसरोवरको यात्रा पनि खुलेको जानकारी सार्वजनिक गर्यो । सायद बडूजीको सचिवालयले सामाजिक सञ्जालमा दिएको जानकारीकै आधारमा हुनुपर्छ नेपाली काग्रेस दार्चुलाको तर्फबाट पनि धन्यवाद ज्ञापनसहित तिंकरको व्यापारिक नाका र कैलाश मानसरोवरको यात्रा खुलेको जानकारी दिइयो । यसका लागि पहल गर्नुभएकोमा बडूजीलाई धन्यवाद ज्ञापन पनि गरिएको छ ।
वास्तविकता भने फरक छ । टिंकर नाका खुल्दैमा कैलाश मानसरोवर यात्रा गर्न सकिदैन । टिंकर नाका भएर तिब्बत छिर्ने नेपालीलाई ३० किलोमिटर सिमाक्षेत्रभित्रको ताक्लाकोट बजारसम्म मात्र जान दिइन्छ, केही समय बस्न पनि सकिन्छ । तर, ताक्लाकोटबाट करिब ७० किलोमिटरको सडक दूरीमा रहेको मानसरोवर र कैलाश पर्वतसम्म जान दिइदैन । एक दशकअघिसम्म ताक्लाकोटमा रहेका चीनिया अधिकारीहरुले निश्चित शुल्क लिएर कैलाश–मानसरोवर यात्रा गर्न नेपालीलाई अनुमति दिने गर्थे । तर एक दशक भइसक्यो चीन सरकारले ताक्लाकोटबाट अगाडि जान नेपालीलाई रोक लगाएको ।
टिंकरको जस्तै बझाङ्गको उरै नाकाबाट ताक्लाकोट पुग्ने नेपालीको पनि उस्तै अवस्था हो । हुम्लाको हिल्सा नाकाबाट जिल्ला प्रशासनको अनुमतिपत्र लिएर ताक्लाकोट पुग्ने नेपालीले पनि दार्चुला र बझाङ्गवासीको जस्तै परिस्थिति भोग्नुपर्छ । चीन सरकारबाट भिसा स्वीकृत भएका यात्रुले मात्रै कैलाश मानसरोवरको यात्रा गर्न पाउँछन् । थप कुरा यति मात्र हो कि हिल्सामा अध्यागमन कार्यालय छ । अध्यागमन कार्यालय भएकोले कैलाश मानसरोवर यात्राको भिसा स्वीकृत भएकाहरुले हिल्साबाट तिब्बत प्रवेश गर्न सक्छन् ।
अहिले व्यक्तिगत रुपमा कैलाश यात्रा गर्न सकिने अवस्था छैन । ट्राभल एजेन्सीहरुमार्फत मात्रै अहिले कैलाश यात्रा गर्न सकिन्छ । परम्परागत नाकाबाट ताक्लाकोट पुगेका कुनै पनि नागरिकले कैलाश यात्रा गर्नसक्ने अवस्था छैन ।
लोकहितका लागि गरिएका सत्प्रयासहरुको प्रचारप्रसार गर्नुपर्छ । यसको श्रेय पनि सम्बन्धित नेतृत्व वा पात्रलाई दिनुपर्छ । तर, हुँदैनभएको कैलाश मानसरोवर यात्राको ढोका खोलिएको प्रचारले भ्रम मात्रै छर्छ, अन्यौलता मात्रै सिर्जना गर्छ । सायद यस्ता जानकारी सार्वजनिक गर्ने कार्य बडूजीको पूर्वजानकारीमा थिएनन् । तर, सचिवालयले गम्भीर र जिम्मेवार हुनैपर्छ । नेपाली काग्रेस जस्तो देशको ठूलो र लोकतान्त्रिक पार्टीको जिल्ला संरचनाले विना तथ्य र आधार यस्ताखाले धन्यवाद ज्ञापनमा हतारिनु हुँदैन ।
तत्कालै टिंकर नाका भएर कैलाश मानसरोवरको यात्रा नखुले पनि खुल्नसक्ने सम्भावना भने छ । हिल्साको जस्तै अध्यागमन कार्यालय मात्रै टिंकर नाकामा राखिने हो भने कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न सकिन्छ । जसरी ट्रावल एजेन्सीहरुले हिल्सा भएर कैलाश यात्राको प्याकेज निकालिरहेका छन् त्यसैगरी टिंकर नाका भएर यात्राको प्याकेज पनि आउँछ । अझ टिंकर नाका भएर कैलाश यात्रा गर्दा धेरै कम खर्च लाग्छ । किनकी टिंकर नाका भएर पैदल यात्र गर्नुपर्छ भने हिल्सा पुग्न हवाइजहाज र हेलिकोप्टरको यात्रा गर्नुपर्छ ।
अहिले हिल्सा भएर कैलाश यात्रा गर्दा २ लाख रुपैयाँको प्याकेज छ भने भविष्यमा टिंकर नाका भएर ५० हजार रुपैयाँमै कैलाश यात्रा गराउन सकिन्छ । किनकी दार्चुला सदरमुकाम हुदै व्यास गाउँपालिका केन्द्रसम्म सडकको सुविधा छ । सुन्सेरादेखि टिंकर नाकासम्म पैदल यात्रा हुन्छ, यसका लागि स्थानीय सरकार र संघीय सरकारको स्थानीय पूर्वाधार विभागले घोरेटो बाटो पनि सञ्चालनमा ल्याउदैछन् ।
टिंकर नाकाबाट कैलाश मानसरोवर यात्रा सञ्चालन गराउन केही प्राविधिक तयारी र पूर्वाधार निर्माण आवश्यक पर्छ । व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म छ र तिंकरको छियालेकमा विओपीको पूर्वाधार दुई वर्षअघि तयार भइसकेको छ । साथै, छियालेकमा इलाका प्रहरी कार्यालय र छाङ्गरुमा प्रहरी चौकी समेत छ । तिंकर गाउँबाट टिंकर भञ्ज्याङ हुँदै ६ घण्टामै ताक्लाकोट बजार पुग्नसक्ने भौगोलिक अवस्थिति पनि अर्को अवसर र सकारात्मक पाटो हो ।
व्यास जोड्ने पैदल बाटो सञ्चालन अर्को आधारभूत आवश्यकता छ । व्यासको नाममा सञ्चालित सिमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गर्ने सजिलो विकल्प पनि हामीसंग छ । गृह मन्त्रालयअन्तर्गतको सिमा प्रशासन कार्यालय व्यासलाई गृह मन्त्रालय मातहतकै अध्यागमन विभागअन्तर्गतको कार्यालय बनाउनु छ । सिमा प्रशासन कार्यालयमा हाल रहेको अधिकृतस्तरको कार्यालय प्रमुखसहित ७ जना कर्मचारीको दरबन्दीले नै अध्यागमन कार्यालय सञ्चालन गर्न सकिन्छ । अधिकृतस्तरको कर्मचारी भए पनि अध्यागमन कार्यालयबाट नेपाल प्रवेश र नेपालबाट विदेश प्रस्थान अनुमति जारी सकिन्छ ।
सिमा प्रशासन कार्यालयबाट अध्यागमन कार्यालयमा रुपान्तरण गर्दा सरकारलाई थप आर्थिक दायित्व सिर्जना हुँदैन । थप आर्थिक दायित्व सिर्जना नहुने भएकाले गृह मन्त्रालयभित्रकै पहल र निर्णयले यो सम्भव हुनसक्छ, अर्थ र अन्य मन्त्रालयको सहमति पनि आवश्यक नपर्न सक्छ ।
यस्तो सहज र सम्भावनायुक्त अवसरलाई हामीले चिन्न सक्नुपर्छ । दार्चुलाबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले यो कार्यको पहल र नेतृत्व पूर्वमन्त्री एवं सांसद बडूजीले गर्नुपर्छ । सिंगो जिल्ला र सबै पक्षले यस कार्यमा सहयोग गर्छन् । प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीलगायत केन्द्रीय तहको राजनीतिक नेतृत्वसंग राम्रो पहुँच भएका नेता हुन् बडूजी । पहुँच, अनुभव र सिनियर्टी (वरिष्ठता)का साथै जननिर्वाचित दार्चुलाको नेता भएकोले टिंकर नाकाबाट कैलाश मानसरोवर यात्राको ढोका खोल्ने अभिभारा बडूजीको काँधमा छ ।
सत्ता साझेदार दलको केन्द्रीय नेता भएको, पटक–पटक मन्त्रीको जिम्मेवारी बहन गरेको, कर्मचारीवृतमा पनि राम्रो पहुँच र परिचय भएको, भद्र र सालिन व्यक्तित्व आदिका कारणले पनि बडूजीको पहलमा कैलाश यात्राको ढोका खुल्नसक्ने आश छ । यसका लागि तत्काल एउटा मात्र काम गराउनुछ, सिमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण । व्यासको पैदल बाटो सञ्चालन र तिंकरमा सशस्त्र प्रहरीको विओपी सञ्चालनको विषय चाँडै पूरा हुने अवस्था छ । मात्र अध्यागमन कार्यालय सञ्चालन गराउन सक्दा कैलाश मानसरोसर यात्रा दार्चुलाको टिंकर नाकाबाट सम्भव हुनेछ ।
कैलाश मानसरोवरको यात्राको ढोका खोल्नु भनेको सबैभन्दा ठूलो पुण्य हो । सनातन धर्म, संस्कृतिमा कैलाश मानसरोवरको तिर्थयात्रा गर्न पाउनु सबैभन्दा ठूलो सौभाग्य हो । यो सौभाग्यको अवसर टिंकर नाकाबाट उपलब्ध गराउन सकिन्छ भने योभन्दा ठूलो परोपकार केही हुँदैन ।
दार्चुलामा सञ्चालन हुने अध्यागमन कार्यालयले चीनसंगको नाकाका साथै भारतीय नाकामा पनि काम गर्नेछ । भारत भएर नेपाल छिर्ने तेस्रो देशका नागरिकहरुलाई पनि भारतीय नाकाबाट दार्चुला भित्रिनका लागि अध्यागमन कार्यालय आवश्यक पर्छ । तसर्थ, चीन र भारत दुबै देशसंग औपचारिक आवागमनका लागि दार्चुलामा अध्यागमन कार्यालय सञ्चालन गरिनुपर्छ । जय नेपाल ।