टिंकर नाका खुल्ने मिति अनिश्चित,पास जारी भएन

0
608

दार्चुला, भदौ ४ गते ।
दार्चुलाको टिंकर नाका खुल्ने मिति तोकिएको छैन । गृह मन्त्रालयले दुई हप्ताअघि जिल्ला प्रशासनलाई चीनिया पक्षसंग समन्वय गरेर नाका सुचारु गर्न निर्देशन दिए पनि चीनिया प्रशासनसंग सम्पर्क हुन नसक्दा ढिलाइ भएको छ ।
चीनिया प्रशासनसंग सम्पर्क र समन्वन हुन नसकेकाले नाका सञ्चालन गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । ‘काउन्टरपार्टसंग सम्पर्क र समन्वय गरेपछि मात्रै नाका खुल्ने मिति निर्धारण हुन्छ । भौगोलिक दूरी र सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ’ उहाँले भन्नुभयो ।
ताक्लाकोटमा रहेको चीनिया प्रशासनसंग सम्पर्क स्थापना गर्न समस्या भइरहेको छ । भौगोलिक दूरी र विकटता, सञ्चार सम्पर्क तथा भाषा लगायतको समस्याले दुई देशको प्रशासनस्तरमा कुराकानी हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चीनिया प्रशासनसंग जिल्लास्तरमा विगतदेखि नियमित सम्पर्क र समन्वयको अभ्यास छैन । यसअघि २०७५ सालमा सहायक प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुको टोलीले ताक्लाकोट पुगेर समन्वय बैठकमा भाग लिएको थियो । त्यसयता सरकारीस्तरमा कुनै सम्पर्क भएको छैन ।
चीनिया प्रशासनको सम्पर्क ठेगाना, मोबाइल नम्बर वा सम्पर्क माध्यमबारे कुनै जानकारी वा अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन । ताक्लाकोटमा व्यापार व्यवसाय गर्ने व्यासक्षेत्रका स्थानीयमार्फत चीनिया पक्षसंग सम्पर्कको प्रयास भइरहेको प्रजिअ जोशीले बताउनुभयो ।
सदरमुकामबाट दुई–तीन दिनको दूरीमा ताक्लाकोट बजार पुगिन्छ । व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म छ भने तिंकरको छियालेकमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ । व्यासमा रहेका सुरक्षा निकाय र सिमा प्रशासन कार्यालयको टीम परिचालन गरेर चीनिया पक्षसंग सम्पर्क र समन्वय गर्नुपर्ने व्यास गाउँपालिका वडा नम्बर १ का वडा सदस्य हितेश तिंकरीले बताउनुभयो ।
सोमबार व्यासका स्थानीय वासिन्दाले प्रजिअ जोशीलाई भेटेर नाका चाँडो सञ्चालन गर्न र चीन प्रवेश अनुमतिपत्र जारी गर्न माग गरेका छन् । चीनिया पक्षसंग सम्पर्क र समन्वयको पहल भइरहेकोले केही दिनको प्रतिक्षा गर्न प्रजिअ जोशीले आग्रह गर्नुभएको छ । ‘गृह मन्त्रालयसंग हामी सम्पर्क र छलफल गरिरहेका छौं, नाका व्यवस्थित र सहज रुपमा सञ्चालनको गृहकार्य भइरहेको छ’ प्रजिअ किरन जोशीले भन्नुभयो ।
टिंकर नाका सञ्चालनमा ल्याउन ढिलाइ हुँदा स्थानीयको जनजीवन प्रभावित बनिरहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । ‘नाका खुल्ने खबरले खुशी भएका व्यासवासी चाँडो ताक्लाकोट पुग्न चाहन्छन्, नाका खोल्न ढिलाइ हुँदा व्यासवासीलाई थप मार्का पर्छ’ उहाँले भन्नुभयो ।
प्रवेश अनुमतिपत्र जारी भएन
टिंकर नाका सञ्चालनको टुंगो लागिनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल–चीन प्रवेश अनुमतिपत्र जारी गरेको छैन । यसअघि भदौ ३ गतेदेखि अनुमतिपत्र जारी हुने सन्देश फैलाइएकोमा जिल्ला प्रशासनले नाका सञ्चालनको टुंगो लागेपछि मात्रै पास जारी गरिने बताएको छ ।
साउन ३२ गते पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको सचिवालयले सामाजिक सञ्जालमार्फत भदौ ३ गतेदेखि अनुमतिपत्र जारी गरिने बताएको थियो । साउन ३२ गते नै नेपाली काग्रेस दार्चुलाले धन्यवाद ज्ञापनपत्र निकालेर पूर्वमन्त्री एवं सांसद बडूको पहलमा टिंकर नाका खुल्ने निश्चित भएको उल्लेख गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका नेपाली काग्रेस दार्चुलाका उपसभापति महादेव बडू कश्यपले हस्ताक्षर गरेको विज्ञप्तिमा पूर्वमन्त्री बडूको पहलमा कैलाश–मानसरोवर यात्राको ढोका समेत खुलेको प्रचार गरिएको छ ।
गृह मन्त्रालयबाट प्राप्त जानकारी भन्दै पूर्वमन्त्री एवं सांसद बडूको सचिवालयले सामाजिक सञ्जालमा ‘ताक्लाकोट नाका’ र कैलाश मानसरोवर तीर्थस्थलसम्म आवतजावत गर्ने सुविधा प्राप्त हुने जनाएको छ । नेपाली काग्रेस दार्चुलाले साउन ३२ गते जारी गरेको धन्यवाद ज्ञापन पत्रमा पनि व्यापारिक नाकाका साथै कैलाश मानसरोवर तिर्थयात्राको ढोका खुलेको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले दार्चुला जिल्लाका वासिन्दालाई मात्र चीनिया बजार ताक्लाकोटसम्म जाने अनुमतिपत्र जारी गर्छ । विगतका ३ वर्षमा कोभिड महामारीका कारण सिमानाका बन्द हुँदा यस्तो पास जारी भएको थिएन । यो वर्ष नाका सञ्चालनको खवर पाएपछि व्यासका स्थानीय अनुमतिपत्र बनाउन हतारिएका छन् । वडा कार्यालयको सिफारिससहित आइतवार अनुमतिपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा पुगे पनि रित्तै हात फर्किनुपरेको तिंकरका स्थानीय एवं पूर्व जिविस सदस्य दान सिंह तिंकरीले बताउनुभयो । ‘भदौ ३ देखि अनुमतिपत्र जारी हुन्छ भन्ने खवर सुनेर जिल्ला प्रशासन पुगे तर प्रशासन कार्यालयले अनुमति जारी गर्न सुरु नभएको जवाफ दियो’ उहाँले भन्नुभयो ।