नगर शिक्षक भर्नाको परीक्षा सञ्चालन गर्न बाटो खुल्ला

0
262

दार्चुला,भाद्र ६ गते ।
महाकाली नगरपालिकाले नगर शिक्षक भर्ना परीक्षा रोक्न सम्बन्धमा उच्च अदालत दिपायल महेन्द्रनगरमा परेको रिटको सुनुवाई भएको छ । मंगलबार न्यायाधीश कृष्णलाल भट्टराई र अर्जुन प्रसाद कोइरालाको संयुक्त इजलासले निवेदकको तर्फबाट माग भए बेमाजिम सुनुवाई भएको हो । शिक्षक भर्नाको परीक्षा प्रकृया नै रोक्न माग गरेकोमा अदालतले परीक्षा कार्यक्रम रोक्नुपर्ने अन्तरिम आदेश दिएको छैन । योसँगै महाकाली नगरपालिकाले नगर शिक्षकको परीक्षा सञ्चालन गर्ने बाटो खुला भएको महाकाली नगरपालिकाको तर्फबाट बहसमा सहभागी अधिवक्ता कृष्णसिंह महराले जानकारी दिनु भयो ।
यसअघि जिल्ला अदालत दार्चुलाले असार ३१ गते नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । नगरपालिकाले नगरभित्रका करार शिक्षकहरुलाई परीक्षाको माध्यमबाट भर्ना गर्न खोजेको भन्दै अदालतमा मुद्धा दायर भएको थियो । महाकाली नगरपालिकाको तर्फबाट अधिवक्ता उमेश प्रसाद विष्ट र कृष्णसिह महराले बहस गरेका छन् । महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह कक्षा (६–८)र माध्यमिक तह कक्षा (९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।
आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको नगर पालिकाले जनाएको छ । उच्च अदालत दिपायल महेन्द्रनगरमा परेको रिटमा विज्ञापन सम्बन्धमा अन्तरिम आदेश माग गरेको थियो । रिट निवेदकहरु स्वयं करार शिक्षक पदमा कार्यरत रहेको र निजहरुले प्रस्तुत रिट निवेदनमा उठाइएका विषय समेतका सन्दर्भमा प्रस्तुत रिट निवेदन पूर्ण सुनुवाई हुँदाका बेला विवेचना हुँदा थप केहि बोलिरहन परेन उत्प्रेषण परमादेश समेतमा भनिएको छ ।