विद्यालय निर्माणमा भारतको जस्तै चीनिया सहयोग

260

‘मित्रता र सदभाव बढाउने प्रयास हो कि नेपालीलाई प्रभावित बनाउने कसरत ?’
दार्चुला, फागुन २ गते ।
भारत र चीनसंग सीमा जोडिएको दार्चुला जिल्लामा भारतीय सहयोगमा आधा दर्जन विद्यालयका भवनहरु निर्माण गरिएका छन् । सीमाक्षेत्रका वासिन्दाको सद्भाव बटुल्ने र मित्रता बढाउने उद्देश्यले विद्यालय भवन निर्माण गर्दै आएको भारतलाई पछ्याउदै अर्को छिमेकी चीनले पनि विद्यालय संरचनाको निर्माणमा सहयोग गर्ने भएको छ ।
शैल्यशिखर नगरपालिकाको केन्द्रमा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयमा नमुना संरचना निर्माण गर्न चीनिया सहयोग आउने भएको छ । चीनिया सहयोगमा सुदूरपश्चिम प्रदेशकै नमुना विद्यालय संरचना निर्माण गरिने शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले बताउनुभयो ।
गोकुलेश्वर माविको हालको सबै भौतिक संरचना हटाएर नयाँ विद्यालय भवन, छात्रावास, खाजाघर, खेलमैदानलगायतको संरचना निर्माण गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तर सिंह विष्टले बताउनुभयो । विद्यालय संरचना निर्माणका लागि ७ सदस्यीय चीनिया प्राविधिक टोली शनिवार गोकुलेश्वर पुगेको छ । प्राविधिक टोलीले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गर्न फिल्ड सर्भे, माटो परीक्षणलगायतको कार्य गर्ने भावानुवादक विद्यानन्द चौधरीले बताउनुभयो ।
‘विद्यालयका सबै संरचनाको निर्माण चीनिया सहयोगमा गरिदा करोडौंं बजेट खर्च हुने’ विव्यस अध्यक्ष विष्टले बताउनुभयो । ‘निर्माणको सम्पूर्ण कार्य चीनिया सहयोग र चीनिया ठेकेदारबाटै सम्पन्न गरी नेपाली पक्षलाई हस्तान्तरण गरिने’ जानकारी चीनिया प्राविधिक टोलीले बताएको छ ।
विद्यालय संरचनामा चीन सरकारले सहयोग गर्न लागेको दार्चुला जिल्ला र सुदूरपश्चिम प्रदेशमा यो पहिलो कार्यक्रम हो । २०७२ को भूकम्पपछि काठमाण्डौंको दरबार हाइस्कुलको पुनर्निर्माण गरी चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
दार्चुलाको गोकुलेश्वरसंगै गोरखा र दोलखाको जिरीमा पनि चीनिया सहयोगमा विद्यालय भवन निर्माण गरिन लागेको चीनिया प्राविधिक टोलीले बताएको छ । दार्चुलामा सन् २०१३ र २०१६ मा गरी दुइपटक चीनिया प्राविधिक टोलीले यसअघि स्थलगत भ्रमण गरेको थियो ।
सीमावर्ती क्षेत्रमा सहायता गरेर मित्रता र सद्भाव बटुल्ने भारतीय प्रयासलाई चीनले पनि अनुशरण गर्न थालेको देखिन्छ । दार्चुला जिल्लामा हालसम्म भारतीय सहयोगमा आधा दर्जन विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेका छन् । शंकरपुर मावि पस्ती, पशुपति शिक्षा मन्दिर खलंगा, महेन्द्र मावि खलंगा, मोती महिला संघ प्रावि तिंकर (खलंगा) र मालिकार्जुन मावि धापको विद्यालय भवन भारतीय अनुदान सहयोगमा निर्माण भएका छन् ।
हाल दुहुँ गाउँपालिकाको जनविकास मावि बारबाजको भवन भारतीय अनुदानमा निर्माण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडालले बताउनुभयो । व्यास गाउँपालिकाको हिमालय मावि हुतीको भवन निर्माणको प्रस्ताव तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय हुँदै भारतीय दूतावासमा प्रस्ताव पठाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताउनुभयो ।
निर्माणाधिन जनविकास माविको भवन निर्माणमा भारत सरकारले ३ करोड रुपैयाँ अनुदान दिदैछ भने व्यासको मावि हुती भवन निर्माणका लागि भारत सरकारसंग ४ करोड रुपैयाँ अनुदानको प्रस्ताव गरिएको व्यास गाउँपालिकाले जनाएको छ ।
नौगाड गाउँपालिकाको वडा नम्बर १ इयरकोटमा स्वास्थ्य चौकी भवन निर्माणमा पनि भारत सरकारले १ करोड ८७ लाख रुपैयाँ अनुदान उपलब्ध भएको भवन निर्माणमा संलग्न निर्माण व्यवसायी सर्पराज बडूले बताउनुभयो । स्वास्थ्य क्षेत्रको भौतिक संरचनामा भारतीय सहयोग प्राप्त भएको यो पहिलो क्रियाकलाप हो ।
भारतीय सहयोगमा निर्माण भएका संरचनाहरुलाई २—३ करोडका दरले अनुदान दिइएको छ । हालसम्म सबै ठाउँमा गरी करिब १५ करोड रुपैयाँ भारतीय अनुदान भौतिक संरचना निर्माणमा प्राप्त भएको देखिन्छ । गोकुलेश्वरमा निर्माण गरिने विद्यालय भवन निर्माणमा भने करोड होइन अरबसम्मको अनुदान उपलब्ध हुने सरोकारवाला बताउँछन् । ‘प्रस्तावित संरचनाको आकार हेर्दा करोडको होइन, अरबको बजेट खर्च हुने देखिन्छ’ गोकुलेश्वर माविका विव्यस अध्यक्ष उत्तर सिंह विष्टले भन्नुभयो ।
पहिलोपटक एउटा मात्रै विद्यालय संरचना निर्माण गरेर चीन सरकारले आफ्नो मित्रता र सहयोगको नमुना देखाउन खोजेको स्थानीयको बुझाइ छ । ‘संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरेर चावी हस्तान्तरण गर्ने मोडालिटीले छुट्टै सन्देश दिन खोजेको’ विश्लेषण गरिएको छ ।
दक्षिणको छिमेकीले १५ करोडको अनुदान सहायताले आधा दर्जन विद्यालय भवन निर्माणमा योगदान गरेको छ । ‘उत्तरको छिमेकीले एउटै विद्यालय संरचना निर्माणमा ५० करोडदेखि अरबसम्मको अनुदान रकम खर्च गर्ने देखिन्छ’ पत्रकार एवं नागरिक अभियन्ता शंकर सिंह धामीले भन्नुभयो, ‘अनुदान सहायतामार्फत नेपाल र नेपालीको सद्भाव आफुतिर आकर्षित गर्ने प्रयासमा दुबै छिमेकी सक्रिय देखिन्छन् ।’
‘छिमेकीहरुको अनुदान सहायताले मित्रता र सद्भाव बढाउनमा मद्दत पुगे पनि नेपाली पक्षलाई अनावश्यक रुपमा प्रभावित भने गर्न नहुने’ पत्रकार धामीको भनाई छ । ‘छिमेकीहरुका नाजायज स्वार्थहरु पूर्ति गर्न यो अनुदानको चारो प्रयोग नहोस्, नेपालको राष्ट्रिय स्वार्थ र हितलाई अनुदान सहायताले कमजोर नबनाओस्’ उहाँले भन्नुभयो । कालापानीको भूमि अतिक्रमण खेपिएको दार्चुलामा अनुदान सहायताका क्रियाकलाप बढाएर त्यो मुद्दालाई कमजोर बनाउने र प्रभावित गराउने अभ्यास हुनसक्ने आशंका छ । यसैगरी, ‘कम्युनिष्ट जनमत बढिरहेको नेपालमा चीनिया मोडल देखाएर चीनतर्फ नेपालीको सदभाव र लगाव आकर्षिक गर्ने प्रयास पनि हुनसक्ने’ पत्रकार धामीको बुझाइ छ ।
भारतीय सहयोगमा निर्माण गरिएका सबैजसो संरचना निर्माणको प्रचारप्रसार र राजनीतिक लाभ नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लिने गरेका छन् । पछिल्लो समय चीनिया सहयोगमा निर्माण गरिने भनिएको गोकुलेश्वर माविको संरचना निर्माणका लागि भने एमाले नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको पहल रहेको भन्दै समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन् ।
पूर्वमन्त्री ठगुन्ना नेपाल—चीन हिमालयन मैत्री समाज (नेचिप्स नेपाल)का उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँकै पहलमा गोकुलेश्वर माविको नयाँ संरचना बनाउन चीनिया सहयोग प्राप्त हुन लागेको गोकुलेश्वरका स्थानीय एवं नेता ठगुन्नाका समर्थक राजेश सिंह विष्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !