दार्चुलामा चार विओपी थप्न प्रस्ताव

312

दार्चुला, फागुन ३ गते ।
दार्चुलामा भारतसंगको अन्तर्राष्ट्रिय सीमानामा चारवटा विओपी थप्न प्रस्ताव गरिएको छ । भौगोलिक अवस्थिति र सुरक्षा चुनौतीको आकलन गर्दै महाकाली नदी किनार क्षेत्रमा विओपी थप्न प्रस्ताव गरिएका हुन् ।
व्यास गाउँपालिका केन्द्र सुन्सेरा, वडा नम्बर ६ हुतीको बडुगाउँ, वडा नम्बर १ कौवा र लेकम गाउँपालिकाको वडा नम्बर ३ रतौडामा नयाँ विओपी राख्न प्रस्ताव गरिएको दार्चुलास्थित सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति एसपी डम्बरवहादुर विष्टले बताउनुभयो । जिल्लास्तरबाट विओपी स्थापनाको सर्भेक्षण गरी स्वीकृतिका लागि हेडक्वाटरमा पठाइएको उहाँले बताउनुभयो ।
सुन्सेरामा छिट्टै विओपी स्थापनाको गृहकार्य भइरहेको ४४ नम्बर गण हेडक्वाटरले जनाएको छ । विओपी स्थापनाका लागि सुन्सेरामा जग्गा व्यवस्थापन समेत भइसकेको गणपति विष्टले बताउनुभयो । सुन्सेरामा विओपी स्थापना गरेपछि भारतसंग जोडिएका सीमानाकाहरु मलघट्टे र तिगरम पुलमा सशस्त्र प्रहरीको फरवार्ड वेश राख्ने तयारी छ ।
व्यास गाउँपालिका वडा नम्बर ६ हुतीको बडूगाउँ नाकामा भने नयाँ विओपी स्थापनाको प्रस्ताव गरिएको छ । विओपी स्वीकृति नहुदासम्म बडूगाउँ र वडा नम्बर २ को मालघाटमा तत्काल फरवार्ड वेश राख्ने तयारी भएको गणपति विष्टले जानकारी दिनुभयो ।
महाकाली नदीको मुहान नजिकको क्षेत्र व्यास गाउँपालिका वडा नम्बर १ को कौवा र दार्चुला जिल्लामा पर्ने महाकाली नदी किनारको अन्तिम गाउँ लेकम गाउँपालिकाको वडा नम्बर ३ रतौडामा सशस्त्र प्रहरीको विओपी राख्न प्रस्ताव गरिएको छ । अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको नजिक कौवामा विओपी राख्न दुई वर्षअघि नै जिल्ला सुरक्षा समितिले निर्णय गरिसकेको छ । तर, छाङरुमा सशस्त्र प्रहरीको गुल्म भवनको संरचना निर्माण सम्पन्न भइनसकेकोले विओपी थप्ने गृहकार्यले गति लिन सकेको छैन ।
दार्चुलाको पश्चिमोत्तरमा रहेको अन्तिम गाउँ तिंकरमा डेढ वर्षअघि नै सशस्त्र प्रहरीको विओपी भवन निर्माण गरिएको छ । तर, तिंकर नाका बन्द रहेको र हिमपातका कारण तिंकरमा सुरक्षाकर्मी नखटाइएको सशस्त्र प्रहरीका ४४ नम्बर गणपति डम्बरवहादुर विष्टले बताउनुभयो ।
प्रस्तावित विओपीहरु सशस्त्र प्रहरीको हेडक्वाटरबाट स्वीकृत भएपछि स्थापना गरिने भएका छन् । नयाँ विओपी स्थापनाका लागि भवनसहितको पूर्वाधार निर्माण र बन्दोवस्तीको तयारीका लागि केही समय लाग्नसक्ने सशस्त्र प्रहरीको भनाई छ ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाकुपुल र चमेलिया जलविद्युत आयोजनाको बाँधस्थल बिटुलेमा पनि फरवार्ड वेश राख्न गृहकार्य भइरहेको ४४ नम्बर गण हेडक्वाटरले जनाएको छ । सबै स्थानमा फरवार्ड वेश र विओपी स्थापना गर्न थप जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गर्नुपर्ने गणपति विष्टले बताउनुभयो । ‘प्रस्तावित सबै स्थानको विवरण हेडक्वाटरमा पठाएका छौ, स्वीकृत भएपछि स्थापना गर्छौ’ उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय सीमानाकाहरुको नियमन र सुरक्षा निगरानीका लागि प्रस्तावित नयाँ इकाइहरु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । सुन्सेरा र कौवाक्षेत्रमा विओपी स्थापना कार्य उच्च प्राथमिकतामा रहेको उहाँको भनाई छ ।
आउदो चैत्र–वैशाखमा तिंकर गाउँमा स्थानीयको कुञ्चा सरेसंगै सशस्त्र प्रहरीको विओपीमा पनि सुरक्षाकर्मी पठाउने तयारी भएको गणपति विष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !