विद्यालयमा कुनै पनि प्रकारकाे शुल्क लिइने छैन : महाकाली नगर प्रमुख

0
2256

दार्चुला, पुस १३ गते ।
महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले १० कक्षासम्मकाे विद्यालय शिक्षामा कुनै पनि प्रकारकाे शुल्क नलिइने बताएका छन् । खलंगास्थित महेन्द्र नमुना माविकाे सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै नगर प्रमुख चैसिरले १० कक्षासम्मकाे विद्यालय शिक्षा पूर्णरूपमा निशुल्क बनाउन स्थानीय सरकार प्रतिवद्ध रहेकाे बताएका हुन् ।
महाकाली नगरपालिकाले कुनै पनि प्रकारको शुल्क वा सहयाेग रकम संकलन नगर्न नगरपालिकाभरीका विद्यालयहरूलाई मंसिर महिनामा पत्राचार गरिसकेको समेत नगर प्रमुख चैसिरले बताउनुभयो ।
गत मंगलबार आयाेजित नमुना मावि खलंगाकाे आव २०७९/८० काे सामाजिक परीक्षण कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगर प्रमुख चैसिरले मावि खलंगामा नगरपालिकाले १४ जना नगर शिक्षक उपलब्ध गराएको जानकारी दिनुभयाे ।
`अभिभावकहरूबाट सहयाेग रकम संकलन गर्नुपर्ने अवस्थाकाे अन्त्य गर्न हामीले नगर शिक्षक उपलब्ध गराएका छाैं´ नगर प्रमुख चैसिरले भन्नुभयाे, `सबै सामुदायिक विद्यालयहरूमा अपुग शिक्षक व्यवस्थापनकाे जिम्मेवारी हामी लिन्छाैं ।´
नगरपालिकाभरीमा चालू आर्थिक वर्षदेखि ३३ जना नगर शिक्षक भर्ना गरि खटाइएको उहाँले बताउनुभयो । `कक्षा १० सम्म कुनै पनि प्रकारकाे शुल्क वा सहयाेग लिन मिल्दैन, कसैले पनि नलिनुहाेला´ नगर प्रमुख चैसिरले भन्नुभयो ।
विद्यालयमा भाैतिक व्यवस्थापन र थप जनशक्ति व्यवस्थापनका लागि आवश्यक थप बजेट उपलब्ध गराउन समेत नगरपालिका तयार रहेकाे उहाँले बताउनुभयाे । `विद्यालयका आवश्यकता र समस्याबारे थप छलफल गर्नुपर्छ, नगरपालिका थप याेगदान गर्न तयार छ´ नगर प्रमुख चैसिरकाे भनाइ छ ।
वालवालिकाहरूकाे सिकाइ बढाउने कार्य आफ्नाे कार्यकालकाे पहिलाे प्राथमिकता रहेकाे नगर प्रमुखकाे भनाइ छ । अहिले सिकाइ उपलब्धि कमजाेर छ, यसमा सुधार गर्नैपर्छ´ उहाँले भन्नुभयाे । संघीय सरकारले दायित्व बहन नगर्दासम्म स्थानीय सरकारले शिक्षक व्यवस्थापन लगायत सबै जिम्मेवारी बहन गर्ने नगर प्रमुख चैसिरले बताउनुभयाे ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख जयराज पन्तले विद्यार्थीकाे युनिट टेस्ट, निरन्तर मुल्यांकन गरि शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्नुभयाे । विद्यार्थी आचारसंहिता परिमार्जन गरि कडाइका साथ कार्यान्वयन गर्न पनि उहाँले सुझाव दिनुभयाे । अभिभावकले आफ्ना नानीवावुहरूकाे पढाइ र वानीव्यवहारबारे जानकार हुनुपर्ने इकाई कार्यालय प्रमुख पन्तले बताउनुभयो । विद्यार्थी बिग्रिनुमा अभिभावककाे सबैभन्दा ठूलो कमजोरी हुने उहाँको भनाइ छ ।