टिंकर सडक र नाकाबारे पहिलो भेटमै प्रधानमन्त्रीसंग कुरा गर्छु ः पूर्व सभामुख सापकोटा

0
209

दार्चुला, पुष ९ गते ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले काठमाण्डौं फर्किएपछि पहिलो भेटमै टिंकर सडक र नाकाबारे प्रधानमन्त्रीसंग कुरा गर्ने बताएका छन् । पार्टीको विशेष रुपान्तरण अभियानअन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि दार्चुला पुगेका सापकोटाले सिमाक्षेत्रको आवश्यकता सम्बोधन र विकास निर्माणबारे सक्दो पहल गर्ने बताएका हुन् ।
प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सापकोटाले दार्चुलाका राजनीतिक, प्रशासनिक, सामाजिक, नागरिक सबैक्षेत्रबाट टिंकर सडक र टिंकर नाका सञ्चालनको माग प्रमुख रुपमा उठेकोले सम्बोधनका लागि यसबारे प्रधानमन्त्रीसंग कुराकानी गर्ने बताएका छन् । ‘मसंगको भेटघाट र छलफलमा सबैले यी विषयलाई महत्वका साथ उठाएका छन्, काठमाण्डौं फर्किपछि पहिलो भेटमै प्रधानमन्त्री ज्यूसंग यसबारे कुराकानी गर्छु’ उहाँले भन्नुभयो ।
टिंकर नाका सञ्चालनका लागि कुटनीतिक स्तरका साथै उच्च राजनीतिक तहमा पनि पहल गर्ने प्रतिवद्धता समेत पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले व्यक्त गर्नुभएको छ ।
दार्चुला–टिंकर सडक निर्माणमा सुस्तता र बजेट अभाव रहेको तथा टिंकर नाका तत्काल सञ्चालनमा ल्याउन दार्चुलाका सरोकारवालाहरुले माओवादी नेता एवं पूर्व सभामुख सापकोटासंग माग गरेका छन् ।
एक अर्को प्रश्नमा नेता सापकोटाले विशेष रुपान्तरण अभियानले जनतासंग पार्टीलाई जोड्न भूमिका खेलेको बताउनुभयो । जनताको सुझाव, गुनासो र आलोचना सुन्न पार्टी तयार भएको भन्दै उहाँले गल्ती सच्याएर पार्टीलाई सशक्त बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।
‘कुटनीतिक सन्तुलन सरकारको प्रमुख उपलब्धि’
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख सापकोटाले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारको प्रमुख उपलब्धि कुटनीतिक सन्तुलन कायम गर्नु रहेको बताएका छन् । प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिमा कुटनीतिक सन्तुलन बनाएर प्रचण्ड नेतृत्वको सरकारले महत्वपूर्ण कार्य गरेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सहभागिता, छिमेकी मुलुकहरु भारत र चीनको भ्रमण तथा इटली भ्रमण अन्तर्राष्ट्रियस्तरमा कुटनीतिक सन्तुलन कायम गर्न सफल भएको नेता सापकोटाको भनाई छ ।
नेपालको पक्षधरता कसैप्रति नभएको बताउँदै माओवादी नेता सापकोटाले भन्नुभयो– ‘नेपालको सबै देशसंग सुमधुर सम्बन्ध छ तर संलग्नता कसैसंग छैन ।’
वर्तमान गठबन्धन सरकार अर्को चुनावसम्म कायम रहने समेत उहाँले बताउनुभयो । ‘गठबन्धनमा अहिले कुनै समस्या छैन, अर्को चुनावसंग यो गठबन्धन रहन्छ’ उहाँले भन्नुभयो । अर्को निर्वाचनमा भने स्वतन्त्र प्रतिस्पर्धा गर्ने ढंगले पार्टी संगठन निर्माणमा संकल्पका साथ जुटेको सापकोटाको भनाई छ ।
‘विकास निर्माणको नयाँ मोडल आउछ’
माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्ड नेतृत्वको सरकारले विकास निर्माणमा नयाँ मोडल ल्याउन लागेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीको सर्वाधिक जोड आर्थिक विकासमा रहेको बताउनुभयो ।
‘१६औं पञ्चवर्षिय योजना निर्माण भइरहेको छ र नयाँ आर्थिक वर्षको योजना निर्माण सुरु हुँदैछ, अब विकास निर्माणमा नयाँ मोडल अपनाइदैछ’ माओवादी नेता सापकोटाले भन्नुभयो, ‘१६औं योजना र वार्षिक बजेटमा धेरै नीतिगत सुधार हुँदैछ ।’
सरकारले गरेको कतिपय राम्रा र सकारात्मक उपलब्धिहरुको व्यवस्थित प्रचारप्रसार हुन नसकेको पनि उहाँले बताउनुभयो । सरकारले एक वर्षका उपलब्धिहरुबारे पुस्तक प्रकाशन गर्न लागेको समेत नेता सापकोटाले बताउनुभयो । कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिनेगरी सरकारले काम गरिरहेको उहाँको भनाई छ ।