जनमत हुँदाहुँदै चुनाव हारियो ः एमाले जिल्ला अध्यक्ष

0
312

दार्चुला, पुष ७ गते ।
नेकपा एमालेका दार्चुला जिल्ला अध्यक्ष प्रेम सिंह धामीले दार्चुलामा जनमत हुँदाहुँदै प्राविधिक कारणले आफ्नो पार्टीले चुनाव हारेको बताएका छन् । एक वर्षअघि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रसंग निकालेर उहाँले देशभित्र र देशबाहिरका प्रतिगामी शक्तिका कारण दार्चुलामा एमालेको पराजय भएको बताउनुभयो ।
पुष १८ र १९ गते आयोजना गरिएको नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष प्रेम सिंह धामीले चुनावी नतिजाको प्रसंग निकालेका हुन् । ‘एमालेका विरुद्ध घेराबन्दी गरियो, देशभित्रका प्रतिगामी शक्ति त थिए नै देशबाहिरका प्रतिक्रियावादी शक्तिहरु पनि सक्रिय भए’ उहाँले भन्नुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले चुच्चे नक्सासहित राष्ट्रवादी आन्दोलन उठाएकाले त्यसलाई असफल पार्न देशी–विदेशी शक्तिहरुको षडयन्त्र भएको एमाले जिल्ला अध्यक्षको आरोप छ । ‘चुनावमा हामीलाई हराउन विभिन्न नाममा, यो वा त्यो नाममा विदेशी षडयन्त्र गरियो’ एमाले जिल्ला अध्यक्ष धामीको भनाई छ ।
‘विदेशीको दलाल भएकाहरु दार्चुलाबाट निर्वाचित भएको’ गम्भीर आरोप समेत एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीले लगाउनुभएको छ । उहाँले लिपुलेक र टिंकर भञ्ज्याङसम्मको सडक निर्माण गर्न एमाले नै चाहिने बताउनुभयो ।
एमालेको नवौं जिल्ला अधिवेशनबाट एकतावद्ध र एकढिक्का पार्टी निर्माण गरिने उहाँले बताउनुभयो । ‘सर्वसम्मत रुपमा नेतृत्व चयन गछौं, प्रदेश कमिटीको नेतृत्व चयनले पनि हामीलाई हौसला मिलेको छ’ एमाले जिल्ला अध्यक्ष धामीले भन्नुभयो । जिल्ला अधिवेशन आयोजक कमिटीको बैठक राख्न सम्भव नभएकोले पुष ६ गते अधिवेशन मूल व्यवस्थापन समितिको बैठक राखेर अधिवेशनको लोगो निर्धारण गरिएको उहाँले बताउनुभयो ।
एकता र सहमतिको सन्देश दिन्छौं– जिल्ला इन्चार्ज
नेकपा एमालेका दार्चुला जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य सहदेव बोगटीले नवौं जिल्ला अधिवेशनबाट एकता र सहमतिको सन्देश दिइने बताउनुभयो । पार्टी जीवनमा आन्तरिक रुपले एकता र सहमतिको सन्देश दिइने र बाह्यरुपमा जिल्लावासीलाई जागृत गरिने उहाँले बताउनुभयो ।
सहमतिमा नेतृत्व चयन गरेर दार्चुलामा पार्टीलाई एकढिक्का र सर्वसम्मत रुपमा अगाडि बढाइने इन्चार्ज बोगटीको भनाई छ । जिल्ला अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भूमिकाबारे पनि छलफल र समीक्षा गरिने उहाँले बताउनुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका लागि पार्टी अध्यक्ष ओली, महासचिव, सचिव लगायतका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको एमाले दार्चुलाले जनाएको छ ।
अधिवेशन १८ गते, उम्मेदवारी घोषणा १६ गते
एमालेको नवौं जिल्ला अधिवेशन पुष १८ गते उद्घाटन हुनेछ । अधिवेशनबाट चयन गरिने जिल्ला नेतृत्वको छलफल भने अधिवेशन उद्घाटन हुनुभन्दा दुई दिनअघि पुष १६ गतेदेखि नै सुरु हुनेछ । पुष १६ गते आफ्नो उम्मेदवारीबारे जानकारी दिइसक्नुपर्ने मापदण्ड जिल्ला अधिवेशनका लागि बनाइएको छ ।
नेतृत्व चयनमा बढी समय खर्च नहुनेगरी समयतालिका निर्माण गरिएको जिल्ला इन्चार्ज सहदेव बोगटीले बताउनुभयो । ‘जिल्ला कमिटीमा पदाधिकारी हुन चाहने साथीहरुले १६ गते नै जानकारी दिइसक्नुपर्ने’ उहाँले बताउनुभयो ।
‘आफ्नो उम्मेदवारीबारे जानकारी गराएका साथीहरुबीच छलफल गराएर सहमतिमा नेतृत्व चयन गरिनेछ’ एमाले दार्चुला इन्चार्ज सहदेव बोगटीले पत्रकार सम्मेलनमा भन्नुभयो । १६ गते उम्मेदवारीको जानकारी नगराउने व्यक्तिले अधिवेशनको वन्दसत्रमा उम्मेदवारी दर्ता गर्न नपाउने उहाँको भनाई छ ।
दार्चुलाका नौंवटै स्थानीय तहका ६१ वटा वडामा पुष १४ गते एकै दिन जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गरिनेछन् । प्रतिनिधि छनौटका लागि हरेक वडामा सहजकर्ताहरु खटाइएको जिल्ला इन्चार्ज बोगटीले बताउनुभयो । खटाइएका सहजकर्ताहरुको नामावली भने अहिले सार्वजनिक गर्न नसकिने उहाँको भनाई छ । हरेक वडाबाट २० जना संगठित सदस्य बराबर एकजना प्रतिनिधि छनौट गरिने मापदण्ड बनाइएको छ ।
दलित र जनजाति क्षेत्रका प्रतिनिधिहरु पालिकास्तरबाट छनौट गरिनेछन् । दलित र जनजाती क्षेत्रबाट १५ जना संगठित सदस्य बराबर एकजना प्रतिनिधि छनौट गरिने मापदण्ड निर्धारण गरिएको छ । एमालेका जनवर्गिय संगठनहरुबाट जिल्लास्तरको क्षेत्र बनाएर २५ जना प्रतिनिधि छनौट गरिनेछन् ।
जिल्ला अधिवेशनमा लागि वडा र पालिकाहरुको भूगोलबाट २ सय ७१ जना, आयोजक कमिटीका १ सय २२ जना र जनवर्गिय संगठनहरुबाट २५ जना प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइएको छ ।
‘हाम्रो भिडियो हेरेपछि टिंकर सडकमा मन्त्रीको भ्रमण भयो’
नेकपा एमालेका दार्चुला जिल्ला इन्चार्ज सहदेव बोगटीले आफ्नो भिडियो हेरेपछि टिंकर सडकमा मन्त्रीस्तरको निरीक्षण भ्रमण भएको बताएका छन् । पार्टी कामको सिलसिलामा व्यास गाउँपालिकाको वडा नम्बर २ मालबाट वडा नम्बर ३ को सिना फर्किने क्रममा टिंकर सडक निर्माणको अवस्था र त्यसक्षेत्रको जोखिमबारे आफुले भिडियो बनाएर सार्वजनिक गरेको उहाँले बताउनुभयो ।
‘हामीले बनाएको भिडियो सेनामार्फत सरकारका निकायहरुसंग पुगेपछि भोलिपल्टै मन्त्रीसहितको टोली निरीक्षण भ्रमण आएको हो’ पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज बोगटीले भन्नुभयो । ‘सडक निर्माण भइरहेको क्षेत्रको जोखिम र अवस्थाबारे आफुले ध्यानाकर्षण गराएपछि यसक्षेत्रको अनुगमन गर्न सरकारमाथि दबाव परेको’ उहाँको दावी छ ।
राष्ट्रिय स्तम्भको उद्घाटन साढे तीन वर्षपछि गरिने
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा बनाइएको राष्ट्रिय स्तम्भको उद्घाटन साढे ३ वर्षपछि गरिने एमाले जिल्ला अध्यक्ष प्रेम सिंह धामीको भनाई छ । व्यास गाउँपालिकाले निर्माण गरेको राष्ट्रिय स्तम्भको उद्घाटनमा ‘केही काग्रेस कार्यकर्ताले अवरोध खडा गरेकोले समयमै उद्घाटन गर्न नसकिएको’ उहाँको भनाई छ ।
गत आर्थिक वर्षमै निर्माण सम्पन्न भएको राष्ट्रिय स्तम्भ तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी थियो । तर राष्ट्रिय स्तम्भ निर्माण गरिएको ठाउँ व्यक्तिगत जमिन भएको भन्दै छाङरुका केही व्यक्तिले विरोध गरेपछि उद्घाटन कार्यक्रम स्थगित भएको थियो ।
एमालेको नवांैं जिल्ला अधिवेशनको लोगोमा राष्ट्रिय स्तम्भको फोटो राखिएको छ । उद्घाटन नै हुननसकेको राष्ट्रिय स्तम्भलाई अधिवेशनको लोगोमा समेटिएको छ । व्यास गाउँपालिकामा आफ्नो पार्टीको सरकार भएकाले महत्वका साथ राष्ट्रिय स्तम्भ निर्माण गरेकोले जिल्ला अधिवेशनको लोगोमा समेटिएको एमाले जिल्ला इन्चार्ज सहदेव बोगटीले बताउनुभयो ।
व्यासको छाङरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भलाई गठबन्धन सरकारले महत्व नदिने भएकाले यसको उद्घाटन गर्न एमाले र केपी ओली नेतृत्वको सरकार नै चाहिने एमाले जिल्ला अध्यक्ष प्रेम सिंह धामीको भनाई छ । ‘धेरै समय कुर्नुपर्ने छैन, अबको साढे तीन वर्षपछि एमाले नेतृत्वमा सरकार बन्छ र केपी ओलीबाट यसको उद्घाटन गरिनेछ’ उहाँले भन्नुभयो ।