एमालेको नवौं जिल्ला अधिवेशन ः नेतृत्व चयनमा सकस

0
217

दार्चुला, पुष १९ गते ।
नेकपा (एमाले) दार्चुलाको नवौं जिल्ला अधिवेशन बुधवार सुरु भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशन नेतृत्व चयनमा बढी केन्द्रीत देखिएको छ ।
नेता पोखरेलले जिल्ला पार्टी संगठनको समीक्षा गर्न, आगामी कार्ययोजना निर्माण गर्न र उक्त कार्ययोजना कार्यान्वयन गर्ने सक्षम नेतृत्व चयनमा केन्द्रीत हुन आग्रह गर्नुभएको छ । तर, जिल्ला अधिवेशनमा पार्टीको जिल्लास्तरीय समीक्षा र नीति निर्माण गर्नेभन्दा पनि नेतृत्व चयनको विषयले महत्व पाएको छ ।
बुधवार दिउसो उद्घाटन गरिएको जिल्ला अधिवेशनको बन्दसत्र अपरान्ह ५ बजे सुरु गरिएको थियो । साँझ ७ बजेसम्म चलेको बन्दसत्रमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्ला अधिवेशन प्रतिनिधिहरुमाझ प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको छ । नेता पोखरेलको टोली विहिवार विहान दार्चुलाबाट फर्किएको छ । ‘योग्यता, क्षमता र आवश्यकताका आधारमा सहमतिमा नेतृत्व चयन गर्न वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिनिधिहरुलाई सुझाव दिनुभएको’ एक जिल्ला नेताले बताउनुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्ने सबै एमाले नेताहरुले पनि सहमतिमै नेतृत्व चयनमाथि जोड दिएका छन् । पार्टीका सुदूरपश्चिम इन्चार्ज एवं केन्द्रीय सचिव छविलाल विश्वकर्माले प्रदेश कमिटीको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेजस्तै दार्चुला जिल्लामा पनि सर्वसम्मतिमा नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा मतदानबाट नेतृत्व चयन हुने संकेत गरेका छन् । सकभर सहमतिमा नेतृत्व चयन हुनेमा दुबै नेताले आशा व्यक्त गरे पनि सहमति हुन नसकेमा मतदानबाट नेतृत्व चयन गरिने सन्दर्भलाई छुटाएनन् ।
जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई एमालेका पाँचजना नेताहरुले मात्रै सम्बोधन गरेका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेल, प्रदेश इन्चार्ज विश्वकर्मा, पोलिटब्युरो सदस्य ठगुन्ना, प्रदेश अध्यक्ष जैसी र जिल्ला इन्चार्ज सहदेव बोगटीले जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य राखेका छन् ।
जिल्ला अधिवेशन उद्घाटन समारोहको अध्यक्षता एमाले जिल्ला अध्यक्ष प्रेम सिंह धामी र सञ्चालन उपसचिव खडक सिंह बडालले गरेका छन् भने जिल्ला उपाध्यक्ष चरन सिंह बुढाथोकीले स्वागत मन्तव्य राखेका छन् । एमाले जिल्ला सचिव शेर सिंह धामी र अर्का उपसचिव चन्द्रा कुवर यसपटकको जिल्ला अधिवेशनमा सहभागी छैनन् ।
छिटो र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै अधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि नै पदाधिकारीका आकांक्षीहरुको नामावली संकलन गरिएको थियो । सहमतिको गृहकार्य गर्न र नेतृत्व चयनमा बढी समय नलगाउने भन्दै जिल्ला अधिवेशन सुरु हुनुपूर्व नै पदाधिकारीको उम्मेदवारी संकलन गरिएको थियो । तर, अधिवेशनको अन्तिम दिन विहिवार विहानसम्म नेतृत्व चयनमा सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन ।
एमालेको जिल्ला नेतृत्वका लागि २७ जनाले पदाधिकारीका पदहरुमा उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा ४ जनाको दाबी छ । आठौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष प्रेम सिंह धामीले नेतृत्व दोहर्याउने चाहना राखेका छन् । अघिल्लो अधिवेशनमा धामीसंग चुनाव लडेका पूर्व जिल्ला सचिव ज्ञानेन्द्र घर्ति बन्दीले पनि यसपटक आफुले नेतृत्व पाउनुपर्ने बताएका छन् । सातौं जिल्ला अधिवेशनमै बन्दी अध्यक्षका दाबेदर थिए तर त्यतिबेला अधिवेशनको बन्दसत्र लम्ब्याएर रामदत्त जोशीको अध्यक्षतामा जिल्ला कमिटी चयन गरिएको थियो । जोशी नेतृत्वको जिल्ला कमिटीमा ज्ञानेन्द्र घर्ति सर्वसम्मत रुपमा सचिव चयन भएका थिए । घर्तिले जिल्ला नेतृत्वको लागि तेस्रो पटक आफ्नो दाबेदारी पेश गरेका छन् ।
दुइपटक जिल्ला उपाध्यक्ष, एक पटक जिल्ला नेतृत्वको दोस्रो वरियताको उपसचिव र नेकपा कालमा जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका उदय सिंह बडालले पनि यसपटक जिल्ला अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ज गराएका छन् । उमेर र अनुभवले पाका नेता परमानन्द जोशीले पहिलोपटक जिल्ला नेतृत्वमा दाबी गरेका छन् । जोशी २०५४ सालमा रिठाचौपाता गाविस उपाध्यक्ष तथा २०७४ सालमा लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित भएका पात्र हुन् । अढाइ दशकदेखि एमालेको जिल्ला कमिटीमा रहे पनि जोशीले अहिलेसम्म पदाधिकारीको जिम्मेवारी पाएका छैनन् ।
जिल्ला अध्यक्षका प्रत्यासी ठानिएका प्रदेश कमिटी सदस्य मोहन सिंह धामी भने जिल्ला अधिवेशनमा प्रतिनिधि नै छनौट भएका छैनन् । गृहवडा मालिकार्जुन–३ मा जिल्ला अधिवेशन प्रतिनिधि छनौट गरिदा उहाँलाई रोक्न खोजिएको चर्चा छ ।
एमालेको जिल्ला अध्यक्ष पदमा मात्रै होइन अन्य पदाधिकारीहरुमा पनि सहमति जुट्न कठिन रहेको प्रतिनिधिहरुको भनाई छ । ‘सबै पदमा आकांक्षी धेरै भएकाले सहमति जुटाउन सम्भव देखिदैन’ एक जिल्ला अधिवेशन प्रतिनिधिको भनाई छ । जिल्ला कमिटी सदस्यका आकांक्षी पनि धेरै भएकाले मतदानबाट मात्रै नेतृत्व चयन हुने अवस्था रहेको ती प्रतिनिधिको भनाइ छ ।
उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी छ । केन्द्रीय नेताहरुले क्षेत्र, भूगोल, जाती, लिंग आदिका आधारमा कसैप्रति पनि भेदभाव नहुने बताएका छन् । तर नेतृत्व चयन गर्दा भूगोल, जाती, लिंग, वरिष्ठता लगायतको सन्तुलन मिलाउनैपर्ने बाध्यता रहेको अर्का जिल्ला अधिवेशन प्रतिनिधिको भनाई छ ।
अध्यक्ष जस्तै उपाध्यक्ष, सचिव र दुबै उपसचिव पदमा सर्वसम्मत नेतृत्व चयन गर्न सकस रहेको धेरैको बुझाइ छ । माथिल्लो तहबाट जनवादी केन्द्रीयता लादिएमा पार्टीभित्र असन्तुष्टि बढ्ने खतरा भएकाले स्वस्थ्य प्रतिस्पर्धा गराएर नेतृत्व चयन गरिने सम्भावना रहेको महाकाली नगरपालिका क्षेत्रबाट छानिएका एक प्रतिनिधिको भनाई छ ।
एमालेको जिल्ला सचिवमा ५ जना, उपसचिवमा ७ जना र महिला उपसचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ । यद्यपि जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्न निर्वाचन मण्डलले औपचारिक रुपमा विहिवार विहान ११ बजेसम्म निर्वाचन तालिका सार्वजनिक गरेको छैन ।
सहमतिको प्रयास भइरहेकोले एक–दुइ दिन जिल्ला अधिवेशन लम्ब्याएर भए पनि सहमतिमा नेतृत्व चयन गरिने सम्भावना रहेको दुहुँ गाउँपालिकाबाट सहभागि एक जिल्ला अधिवेशन प्रतिनिधिले बताउनुभयो ।