एमाले दार्चुलाको प्रतिवेदन: काग्रेस मुख्य प्रतिस्पर्धी, माओवादी निर्णायक भूमिका खाेज्दै

0
235

दार्चुला, पुस १९ गते ।
नेकपा एमालेले दार्चुलामा नेपाली काग्रेस आफ्नो मुख्य प्रतिस्पर्धी रहेकाे र माओवादी केन्द्र निर्णायक भूमिका बनाउन प्रयासरत रहेकाे निस्कर्ष निकालेको छ ।
बुधबारदेखि सुरू भएको नवाैं जिल्ला अधिवेशनमा विहिवार विहान राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । जिल्ला अध्यक्ष प्रेम सिंह धामीले दार्चुलामा एमालेकाे मुख्य प्रतिस्पर्धा काग्रेससंग रहेकाे बताएका छन् ।
नेकपा माओवादी केन्द्र दार्चुलामा तेस्राे शक्ति रहे पनि चुनावी प्रतिस्पर्धामा आफ्नो भूमिका निर्णायक बनाउन प्रयासरत रहेकाे एमालेकाे निस्कर्ष छ ।
राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिए पनि २०७४ र २०७९ सालकाे संसदीय निर्वाचनमा माओवादी केन्द्रकाे भूमिका निर्णायक देखिएकाे एमालेकाे बुझाइ छ । दुबै निर्वाचनमा माओवादी केन्द्र जुन पक्षमा उभियाे उसकै जीत भएको पृष्ठभूमिमा एमालेकाे यस्तो निस्कर्ष आएको हाे । दार्चुलामा माओवादी केन्द्रले आफ्नो निर्णायक भूमिका जाेगाउन र बढाउन खाेजेकाे एमालेकाे बुझाइ छ ।
`काग्रेस र माओवादीप्रति जनताको आकर्षण छैन, तर सत्तामा भएका कारण सबै जनताको कित्ताकाटकाे अवस्था छैन´ नवाैं जिल्ला अधिवेशनकाे बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेकपा समाजवादीकाे संख्या कम भए पनि नाैवटै स्थानीय तहमा आफ्नो उपस्थिति देखाउन प्रयासरत रहेकाे दार्चुला एमालेकाे समीक्षा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी युवाहरू समेटेर संगठन विस्तारमा लागेकाे तथा राप्रपा र राष्ट्रिय जनमाेर्चा जिल्ला कमिटीमा सिमित रहेकाे जिल्ला अधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।