नयाँ आर्थिक वर्षदेखि प्रदेशका कार्यालय जिल्लास्तरमै खोलिने

0
224

दार्चुला, पुष १९ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारका सबै कार्यालयहरु जिल्लास्तरमा सञ्चालन गरिने बताएका छन् । तेस्रो पटक दार्चुला भ्रमणमा पुगेका मुख्यमन्त्री शाहले बुधवार पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
प्रदेश सरकारका सबै विषयगत कार्यालय नौवटै जिल्लामा सञ्चालन गरिने मुख्यमन्त्री शाहको भनाई छ । बैतडीमा रहेका प्रदेश सरकारका कार्यालयहरुले दार्चुलाको भूगोलमा प्रभावकारी सेवाप्रवाह र विकास निर्माण गर्न नसकेको भन्दै पत्रकारहरुबाट मुख्यमन्त्रीलाई प्रश्न गरिएको थियो ।
‘हालसम्म जनशक्ति अभावले प्रदेश सरकारका सबै कार्यालयहरु जिल्लास्तरमा सञ्चालन गर्न नसकिएको’ मुख्यमन्त्री शाहको भनाई छ । संघीय सरकारले निजामति कर्मचारी ऐन संसदबाट पारित गराएर कार्यान्वयन ल्याएलगत्तै जनशक्ति व्यवस्थापनको आवश्यकता सम्बोधन हुने उहाँले बताउनुभयो ।
‘जनशक्ति अभावले जिल्लास्तरमा सबै कार्यालय खोल्न सकिएको छैन, यही वर्षभित्र नभए पनि नयाँ आर्थिक वर्षदेखि जिल्लास्तरमा सबै कार्यालय खोलिन्छन्’ मुख्यमन्त्री शाहले भन्नुभयो । बैतडीमा रहेका पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले दार्चुलाको भूगोल पनि हेर्दैआएका छन् ।
विषयगत कार्यालयहरु जिल्लास्तरमा नहुँदा सडक, भवन निर्माण, खानेपानी लगायतका पूर्वाधार निर्माणको कार्य प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको गुनासो छ । जिल्लास्तरमै कार्यालय हुँदा योजना तथा कार्यक्रमहरुको कार्यान्वयन र अनुगमन प्रभावकारी हुने भन्दै कार्यालय स्थापनाको माग उठेको छ ।
आफुले प्रदेश सरकारको नेतृत्व गरेपछि प्रदेशको नीति, कार्यक्रम र योजना तर्जुमा व्यवस्थित बनाउने प्रयास गरेको मुख्यमन्त्री शाहको भनाई छ । नेपाली भूमिको बाटो हिडेर व्यास क्षेत्र भ्रमण गर्ने आफ्नो चाहना भएको मुख्यमन्त्री शाहले बताउनुभयो । दार्चुला जिल्लाको विकास निर्माणमा तिनवटै तहको सरकारबीच समन्वय गर्न र समन्वय बढाउन आफु सक्रिय रहेको उहाँको भनाई छ ।
विकास निर्माणको प्राथमिकता निर्धारण हुन नसक्दा अहिलेको विकास निर्माणको प्रयासबाट जनतामा सन्तुष्टि हुन नसकेको मुख्यमन्त्री कमलवहादुर शाहले बताउनुभयो । कृषि र पर्यटनको सम्भावनालाई उच्च महत्व दिएर प्रदेश सरकारले आगामी वर्षको बजेट तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई छ ।
प्रदेश शासन तथा सामुदायिक विकास कार्यक्रम (पिएलजिएसपी)को आयोजनामा दार्चुलामा आयोजना गरिएको प्रदेश तथा स्थानीय तहबीच कानून निर्माण समीक्षा तथा विधायकी प्रक्रिया सम्बन्धि संयुक्त कार्यशालाको उद्घाटन गर्न मुख्यमन्त्री शाह दार्चुला आएका हुन् । मंगलवार बेलुकी खलंगा पुगेको मुख्यमन्त्रीको टोली बुधवार कार्यशालाको उद्घाटन गरी बैतडी प्रस्थान गरेको छ । मुख्यमन्त्री शाहले दार्चुलामा काग्रेस नेता–कार्यकर्ताहरुसंग पनि भेटघाट गरेका छन् । मुख्यमन्त्रीसंग दार्चुला निर्वाचन क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य विक्रम सिंह धामी पनि सहभागी छन् ।