एमाले जिल्ला नेतृत्वमा सहमतिको कसरत, मतदान नहुने सम्भावना

0
269

दार्चुला, पुष १९ गते ।
नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको कसरत भइरहेको छ । चार दिनअघि पदाधिकारीमा उम्मेदवारी सार्वजनिक भए पनि विहिवार साँझसम्म सहमति जुट्न सकेको छैन ।
विहिवार विहानदेखि अधिवेशनको बन्दसत्र सञ्चालन गरिएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएका छन् । तीनवटै प्रतिवेदनमाथि छलफल सकेर नेतृत्व चयनको प्रयासमा अधिवेशनका सबै नेता–कार्यकर्ता सक्रिय बनेका छन् ।
पार्टी पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा अध्यक्षमण्डल बनाइएको छ । अध्यक्षमण्डलमा प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य सहदेव बोगटी र प्रदेश कमिटीमा दार्चुलास्थित सम्पूर्ण सदस्यहरु रहेका छन् ।
अध्यक्षमण्डलले छुट्टाछुट्टै र सामूहिक रुपमा विहिवार साँझसम्म पदाधिकारीका आकांक्षीहरुसंग छलफल गरेको छ । व्यक्ति–व्यक्ति, व्यक्ति–समूह र समूह–समूहबीच पटक–पटक छलफल गरिए पनि साँझसम्म नेतृत्व चयनमा सहमति जुटाउन सकिएको छैन । अध्यक्षमण्डलका संयोजक रहेका पोलिटब्युरो सदस्य ठगुन्ना आफैले अधिवेशन बन्दसत्रको कमाण्ड सम्हालेर छलफल गरिरहेका छन् ।
अध्यक्षमण्डलसंगको छलफलपछि निर्वाचन कमिटीले विहिवार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम तालिका बनाइए पनि जिल्ला अधिवेशनका प्रतिनिधिहरुलाई भोलि (शुक्रवार) विहान १० बजे अधिवेशनस्थलमा आउन भनिएको छ । निर्वाचन तालिकाअनुसार मतदाता नामावलीदेखि उम्मेदवारी दर्तासम्मका कार्यक्रम शुक्रवार विहान ९ बजेसम्म गरिसक्ने भनिएको छ ।
अध्यक्षमण्डलले सहमतिमा नेतृत्व चयनको घोषणा गर्ने गृहकार्य भइरहेको अध्यक्षमण्डलका एक सदस्यले बताउनुभयो । ‘निर्वाचन तालिकामा मतदान शुक्रवार दिउसो १ देखि ५ बजेसम्म हुने भनिएको छ, तर त्यसअघि नै अध्यक्षमण्डलले सर्वसम्मतिमा नेतृत्व चयनको घोषणा गरिसक्ने गरी तयारी गरिरहेको छ’ ती सदस्यले भन्नुभयो ।
मतदानमा जादा नराम्रो सन्देश जाने र नेता–कार्यकर्ताबीच मनमुटाव हुने भन्दै सर्वसम्मतिमै नेतृत्व चयन गर्न अध्यक्षमण्डलमा छलफल र सहमति भएको स्रोतले बतायो । विहिवारको बन्दसत्रमा अध्यक्षमण्डलका तर्फबाट यसबारे सबै उम्मेदवार र जिल्ला अधिवेशन प्रतिनिधिहरुलाई जानकारी समेत दिइएको छ । ‘मतदानमा जादैनजाने मनस्थितिमा अध्यक्षमण्डल पुगेको छ, तोकिएको जिम्मेवारी सबैले स्वीकार गर्नुपर्ने भनिएको छ’ पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका एक नेताले भन्नुभयो ।
पार्टीको आवश्यकता र उम्मेदवारको क्षमताका आधारमा नेतृत्व बाँडफाँड गर्ने गृहकार्य थालिएको स्रोतले बतायो । ‘अध्यक्षमण्डलले एकसरो खाका नै बनाइसकेको छ, तर अन्तिम रुप दिन बाँकी छ’ अध्यक्षमण्डलका एक सदस्यले भन्नुभयो, ‘विहिवार राती र शुक्रवार विहानसम्म थप छलफल गरेर अन्तिम टुंगो लगाउने तयारी छ ।’
अध्यक्षमा घर्तीको सम्भावना
एमालेको नयाँ जिल्ला अध्यक्षमा ज्ञानेन्द्र घर्ती बन्दी चयन हुने सम्भावना बढी रहेको स्रोतले बतायो । अध्यक्षमण्डलले विहिवार तयार पारेको खाकाअनुसार घर्तीलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी दिने निश्चितप्रायः छ ।
एमालेको पूर्व जिल्ला सचिव र प्रदेश कमिटी सदस्य रहिसकेका घर्तीले सातौं जिल्ला अधिवेशनमा पनि अध्यक्षमा दाबी गरेका थिए । दुई वर्षअघि भएको आठौं जिल्ला अधिवेशनमा चुनावी प्रतिस्पर्धा नै गरेका थिए भने यसपटकको नवौं अधिवेशनमा आफ्नो सशक्त दावी प्रस्तुत गरेका छन् ।
यसअघि पार्टी पदाधिकारीको अनुभव भएको र पार्टी सञ्चालन प्रभावकारी बनाउन सक्ने भन्दै घर्तीलाई जिल्ला नेतृत्व दिन अध्यक्षमण्डल तयार भएको स्रोतको भनाई छ । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी नीतिअनुसार परिचालन गर्न पनि घर्तीको नेतृत्व सक्षम हुने अगुवा नेता–कार्यकर्ताहरुको बुझाइ छ ।
अध्यक्षमण्डलले उपाध्यक्षमा परमानन्द जोशी र सचिवमा उदय सिंह बडाललाई जिम्मेवारी दिन खोजेको छ । तर दुबैजना प्रस्तावित जिम्मेवारीमा सहमति भइसकेका छैनन् । अध्यक्षबाहेकका पदाधिकारीहरुमा जोशी र बडालका साथै कृष्ण सिंह धामी हिमाल, उमेशराज जोशी, कर्णवहादुर खडायत, कमला पन्त, माधवी जोशीमध्ये छनौट हुने सम्भावना बढी रहेको स्रोतले बतायो ।