`कस्काे स्वार्थमा टिंकर सडकको बजेट घटाइयो ?’ –ईश्वर पोखरेल

0
121

दार्चुला, पुष २० गते ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले रणनीतिक महत्वको दार्चुला–टिंकर सडकमा बजेट घटाइएको भन्दै प्रश्न उठाएका छन् । एमालेको नवौं जिल्ला अधिवेशनका लागि दार्चुला पुगेका पूर्व उपप्रधान तथा रक्षामन्त्री पोखरेलले दार्चुलाबाट फर्किनेक्रममा विहिवार यस्तो प्रश्न उठाएका हुन् ।
‘दार्चुला टिंकर भञ्ज्याङ रणनीतिक महत्व राख्ने सडक निर्माण कार्यका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला छुट्याइएको बजेट कसको स्वार्थमा अहिले स्वाट्टै घटाइयो ?’ सामाजिक सञ्जाल फेसबुकमा नेता पोखरेलले प्रश्न गरेका छन् ।
‘मानसरोवर पुग्न सहज बनाउन टिंकर नाका खोल्नका लागि बनाइएको योजना र बजेटलाई किन प्यारालाइज गरियो’ एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले संगसंगै अर्को प्रश्न उठाएका छन् । ‘दार्चुला, बैतडी र डडेल्धुराका लागि समेत लाइफलाइन बनेको गोकुलेश्वर विमानस्थल निर्माण कार्यलाई किन मृततुल्य बनाइदैछ’ दार्चुलाबाट काठमाण्डौं फर्किदै गर्दा उहाँले फेसबुकमा लेखेका छन् ।
‘कसको नालायकी ? कुन शक्तिको दबाव वा निर्माणमा यी काम गरिदैछ’ उहाँले लेख्नुभएको छ– ‘दार्चुलाबाट निर्वाचित गठबन्धनको आवरणमा निर्वाचित काग्रेसी सांसदले के जवाफ दिन्छन् ?’
एमाले नेता पोखरेल उपप्रधान तथा रक्षामन्त्री हुँदा दार्चुला–टिंकर सडक खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिएको थियो । २०७६ फागुन ४ र ५ गते दार्चुला भ्रमण गरेका तत्कालिन उपप्रधान तथा रक्षामन्त्री पोखरेलले त्यसको तीन महिनाभित्रै मन्त्रिपरिषद्बाट सडक निर्माण सेनाको जिम्मा दिने निर्णय गराएका थिए ।
टिंकर सडक निर्माणका लागि ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ५० लाख र आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । २०७७ वैशाख १४ गते मन्त्रिपरिषद्को निर्णय भएलगत्तै टिंकर सडक निर्माणमा सेना परिचालन गरिएको थियो । पहिलो वर्ष सुन्सेरा र दुम्लिङमा क्याम्प निर्माण गरिनुका साथै मेसिन–उपकरणहरुको व्यवस्थापन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटमध्ये २० करोड ५९ लाख ७१ हजार रुपैयाँ सडक निर्माणमा खर्च भएको नेपाली सेनाले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मै व्यासको छाङरुमा सेनाको क्याम्प स्थापना गरी द्रुतगतिमा सडक निर्माण गर्ने लक्ष्य राखिए पनि २०७९ मंसिरमा सम्पन्न निर्वाचन लगत्तै सडक निर्माणको तयारीमा फेरबदल गरिएको थियो । छाङरुमा राख्ने भनिएको क्याम्प व्यास गाउँपालिकाको वडा नम्बर २ थिईक्षेत्रमा राखिएको छ भने सेनाको पूर्व तयारीअनुसार व्यासको छाङरु क्षेत्रमा सडक निर्माण सुरु भएको छैन ।
आर्थिक वर्ष २०७९/८० मा टिंकर सडक निर्माणका लागि नेपाली सेनाले २५ करोड रुपैयाँ बजेट मागे पनि सरकारले ९ करोड ५० लाख ३० हजार रुपैयाँ मात्रै बजेट दिएको छ । चालु आर्थिक वर्षका लागि सेनाले २६ करोड बजेट मागेकोमा १४ करोड १९ लाख २० हजार मात्रै बजेट दिइएको छ ।
टिंकर सडकमा बजेट कटौती र सडक निर्माण कार्यमा भएको सुस्तताप्रति एमाले नेता पोखरेलले प्रश्न गरेका हुन् । पुष १८ गते खलंगामा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोह पनि नेता पोखरेलले टिंकर सडक निर्माणमा भइरहेको ढिलाइ र बजेट कटौतीको विषय उठाएका थिए ।
पूर्वमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले गठबन्धन सरकार र दार्चुलाबाट निर्वाचित सांसदले टिंकर सडक निर्माँणमा नाटक मञ्चन गरेको आरोप लगाएका छन् । एमाले जिल्ला अधिवेशनमा बोल्दै उहाँले सडक निर्माणका लागि पर्याप्त बजेट दिनुको सट्टा भ्रमण र अनुगमनको `नौटंकी´ भइरहेको बताएका छन् ।